कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोमपालको औधी खुसी

‘अहिले मेरो परिवार निकै खुसी भएको देख्दा मलाई खुसी लागेको छ । मेरो भाइ, श्रीमती र बुबाआमा सबै निकै खुसी हुनुहुन्छ । त्यो खुसीले मलाई झन् खुसी बनाएको छ ।’
विनोद पाण्डे

काठमाडौँ — नेपालमा हुँदै आएका एभरेस्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) गरी तीन फ्रेन्चाइज लिग सबैमा सोमपाल कामी ‘मार्की खेलाडी’ रहेका छन् र टिमको नेतृत्व गर्दै आएका छन् । बुधबार राति ड्राफ्टबाट मरठ्ठा अरेबियन्सले अबुधाबी टी १० लिग क्रिकेटका लागि छनोट भएपछि सोमपालको खुसी बिछट्ट छ ।

सोमपालको औधी खुसी

सोमपालसहित नेपाली खेलाडीहरू कुशल मल्ललाई टिम अबुधाबी र करण केसीलाई पुने डेभिल्सले ड्राफ्टबाट लिएको थियो । उनीहरू सबै इमर्जिङ खेलाडीको कोटामा अबुधाबी टी १० लिगमा फरक टोलीबाट छानिएका हुन् । अबुधाबी टी १० लिग जनवरी २६ देखि फेब्रुअरी ६ देखि अबुधाबीमा हुनेछ, त्यसका लागि बुधबार ड्राफ्टबाट खेलाडी छनोट गरिएको थियो । कुशल र करण पहिलोपल्ट विश्व क्रिकेटको फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । सोमपालले नेपालको फ्रेन्चाइज लिग खेल्दा साढे तीन लाख देखि ५ लाख रुपैयाँ अक्सनबाट भाउ पाएका थिए । टी १० लिगमा इमर्जिङ खेलाडीको पारिश्रमिक ३ हजार डलर रहेको छ । नेपालको फ्रेन्चाइज क्रिकेटमा खेल्दा कम रकम पाए पनि अबुधाबी टी १० लिगमा छानिएपछि अलराउन्डर सोमपाल निकै खुसी र उत्साही छन् ।

‘मैले अहिलेसम्म जति पनि सफलता पाएको छु, त्यो खुसी मेरा लागि दुई मिनेटभन्दा बढी रहेको छैन । म त्यो क्षणमा मात्र रमाउन सक्छु, अरु म सक्दिनँ किन हो मलाई नै थाहा छैन । तर अहिले मेरो परिवार निकै खुसी भएको देख्दा मलाई खुसी लागेको छ । मेरो भाइ, श्रीमती र बुबाआमा सबै निकै खुसी हुनुहुन्छ । त्यो खुसीले मलाई झन् खुसी बनाएको छ,’ सोमपालले बिहीबार कान्तिपुरसँग भने ।

सन्दीप लामिछाने र पारस खड्कापछि ग्लोबल फ्रेन्चाइज खेल्ने नेपाली खेलाडी हुन् सोमपाल । गत वर्ष उनले ग्लोबल टी २० क्यानडा लिग विनिपिग हवक्सबाट खेलेका थिए । ‘पहिला पनि मैले टी १० मा २–३ पटक ड्राफ्टमा भरेको थिएँ, अन्ततः एउटा टोलीमा पर्दा निकै खुसी लागेको छ र एकदमै उत्साहित भएको छु । ग्लोबल टी २० क्यानडा लिग खेलेको एकदमै राम्रो अनुभव भाको थियो । संयोगले अहिले म खेल्न लागेको टिमको प्रशिक्षक पनि त्यही नै रहेछ,’ सोमपालले भने, ‘ग्लोबल टी २० मा म प्लेइङमा नपर्दा पनि उहाँले रूममा बोलाएर म सँग कुरा गर्दै के कस्तो छ टिममा, प्लेइङमा नपरे पनि दुखी त छैनौं भनेर सोध्नुहुन्थ्यो । मैले जहिले पनि टिम पहिलो भएको भनेर जवाफ दिन्थें । हुनसक्छ यसैले पनि उहाँले फेरि मलाई मौका दिनुभएको हो ।’

गत वर्ष टिम अबुधाबीबाट टी १० लिग खेलेका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस अहिले सोही टोलीका ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’ हुन् । टिम अबुधाबीले नै कुशललाई छनोट गरेको थियो । सोमपाल अबुधाबी टी १० लिगसँग जोडिनुको श्रेय पारसलगायतलाई दिन्छन् । ‘आफूले मिहिनेत गर्ने एउटा पाटो हो, त्योबाहेक सिनियर दाइहरू विशेषतः पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र सन्दीप लामिछानेको यसमा ठूलो हात छ,’ सोमपाल नेपालका पूर्व प्रशिक्षकलाई पनि सम्झन्छन्, ‘उमेश पटवाल अहिले नेपालको प्रशिक्षक त हुनुहुन्न । तर उहाँले एक वर्ष पहिला सोमपाल र करण केसीलाई म यो स्तरमा हेर्न चाहन्छु भन्नुभएको थियो । उहाँको पनि एउटा उद्देश्य थियो र हामीलाई चुनौती दिनुभएको थियो, त्यसमा हामीले मिहिनेत गरेका थियौं । आफूभन्दा पनि करण जो यो स्तरमा खेल्न योग्य थियो र युवा प्रतिभा कुशल टिममा छनोट हुँदा मलाई अझ खुसी लागेको छ ।’

सोमपाल समावेश मरठ्ठा अरेबियन्समा सोएब मलिक, मोहम्मद हफिज, प्रवीण ताम्बे, कुशल समावेश टिम अबुधाबीमा क्रिस गेल, क्रिस मोरिस, लुक राइट, रोहन मुस्ताफा तथा करण समावेश पुने डेभिल्समा थिसारा परेरा, मोहम्मद अमिर, हार्डुस विज्लोन, साम बिलिङ्स, चामारा कापुगेदेरा, अजन्था मेन्डिस र डेभोन थोमसलगायतका स्टार खेलाडी छन् ।

अबुधाबी टी १० लिग ड्राफ्टमा सन्दीप लामिछाने, आरिफ शेख, सुसन भारी, सोमपाल, करण, सुवास खकुरेल, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, कुशल मल्ल, रोहित पौडेल र आशिफ शेख गरी १२ खेलाडीले नाम दर्ता गराएकामा सोमपाल, करण र कुशलको मात्र नाम छनोट भएको हो । २०१८ मा केरला र गत वर्ष कर्नाटक टस्कर्सबाट प्रमुख खेलाडीका रूपमा खेलेका सन्दीप बिग बास लिगमा होबर्ट हरिकन्सबाट खेलिरहने हुँदा यसपटक टी १० लिगमा नहुन पनि सक्छन् र भएमा प्लेअफमा मात्र खेल्नेछन् ।

सन् २०१४ मा प्रतिघण्टा १४०.८ को गतिमा बलिङ गरी नेपालको सबैभन्दा तीव्र गतिका बलर बनेका सोमपालले एक वर्षपछि चोटमुक्त भएर हालै चितवनमा गौतम बुद्ध कपमा खेलेका थिए । ‘चोट लागेर बाहिर बस्दा सजिलो केही हुँदैन । त्यसमा म त एक वर्ष नै बाहिर थिएँ । त्यसका लागि मैले धेरै गृहकार्य गरें, जसका कारण अहिले म पूरा फिट छु । भर्खरै गौतम बुद्ध कप खेलें, त्यसमा मैले शतप्रतिशत दिन सफल भएँ । कीर्तिपुरमा म्याचहरू खेल्दाखेरि एक दिनमा १८ देखि २० ओभर बलिङ गर्दा आफूलाई एकदमै फिट भएको अनुभव गरें,’ चोटले गाह्रो हुँदा फिजियोद्वय विक्रम न्यौपाने र पूरन तिरुवाले गरेको सहयोगका कारण आफू पुनरागमन गर्न सफल भएको उनी मान्छन् ।

प्रकाशित : पुस १०, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?