कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसियाली खेलकुद आयोजना अधिकार : कतारले जित्यो, साउदीले पनि हारेन

शेख अहमदको दाबी थियो, ओसीए जहिले पनि एकता र हातेमालोमा विश्वास राख्छ, त्यसैले यो दोहाको जित हो अनि रियादको पनि । 
हिमेश

काठमाडौँ — केही नाटकीय मोड, अन्योलता र अविश्वासको माहौलबीच सन् २०३० को एसियाली खेलकुद कतारको दोहामा हुने निर्णय भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को ओमानको राजधानी मस्कटमा बुधबार सम्पन्न ३९औं साधारणसभामा भएको मतदानमा दोहाले बाजी मारेको हो ।

एसियाली खेलकुद आयोजना अधिकार : कतारले जित्यो, साउदीले पनि हारेन

कतार र साउदी अरेबियाबीच चलिरहेको राजनीतिक र कूटनीतिक तनावबीच दोहाले सफलता प्राप्त गरेको छ । तर, यो साउदीको हार पनि रहेन । किनभने सन् २०३४ को एसियाली खेलकुद भने साउदीको राजधानी रियादमा हुनेछ । ओसीएका अध्यक्ष शेख अहमद अल फायद अल सवाले मध्यपूर्वका दुई देशबीचको चर्को प्रतिस्पर्धासामु ‘बीच’ को बाटो निकालेका थिए, दुवै विजयी हुने, कोही पनि पराजित नहुने । उनले मतदानको अघिल्लो दिन नै यसलाई लिएर प्रयास हुने बताएका थिए । नभन्दै त्यस्तै भयो ।

मतदानमा नेपालका तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भाग लिएका थिए । अध्यक्ष श्रेष्ठले कान्तिपुरसँगको कुराकानीमा मतदानमा जसले सबैभन्दा बढी मत ल्याउँछ, उसले सन् २०३० को एसियाली खेलकुद आयोजना गर्ने र दोस्रो हुनेले त्यसको चार वर्षपछिको प्रतियोगिता गर्ने निर्णय भएको बताए । त्यही सूत्रका आधारमा भएको मतदानमा आखिर जित दोहाकै रह्यो ।

सन् २००६ मा दोहाले पहिलोपल्ट एसियाली खेलकुद आयोजना गरेको थियो । त्यसयता उनले पूरा देशलाई विश्व खेलकुदको केन्द्र बनाएको छ । दोहोलाई तकतारले ‘स्पोर्टस सिटी’ बनाएको छ । त्यहाँ विश्वस्तरीय एकसेएक खेल सुविधा उपलब्ध छन् । यो नै दोहाको जितको खास कारण रह्यो । साउदीले भने अहिलेसम्म ओसीएअन्तर्गतको धेरै खेल समावेश हुने ठूलो महोत्सवको आयोजना गरेको छैन ।

कतारको विश्व खेलकुदमा प्रगति देखेर साउदीले पनि त्यस्तै बाटो अपनाएको थियो । अब साउदीसामु १४ वर्षपछि एसियाली खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव आयोजना गर्ने अवसर हुनेछ । यसको अर्थ एसियाली खेलकुदका दुई संस्करण मध्यपूर्वमा हुने पक्का भएको छ । यस्तोमा अब सन् २०२२ को संस्करण चीनको होङछोउ तथा सन् २०२६ को संस्करण जापानको आइची–नोगायामा भएयता प्रतियोगिता मध्यपूर्वतर्फ मोडिने छ ।

कुवेती राजपरिवारको कतार र साउदी दुवै राजपरिवारको पारिवारिक सम्बन्ध रहेको छ । त्यसैले त्यही देशका शेख अहमदले दुवै खुसी हुने, दुवै निराश पनि हुनु नपर्ने सूत्र निकालेको मानिन्छ । तर मतदान आफैं भने उत्तिकै नाटकीय रह्यो । यसक्रममा अन्योलता र अविश्वासको वातावरण पनि बन्यो । अघिल्लो दिन नै साउदीले ओसीएसामु चुनाव रोक्न अनुरोध गरेको थियो ।

साउदीको तर्क थियो, कतारले यसमा धाँधली गर्नेछ । ओसीएले यो अनुरोधलाई त मानेन नै, तर अन्त्यमा विद्युतीय मतदान हुने कार्यक्रम पनि पूर्णतः लागू भएन । मस्कटको जेडब्लू म्यारोट होटलमा भएको साधारणसभामा भौतिक रूपमा २६ देशका प्रतिनिधि उपस्थित थिए, तिनले भौतिक रूपमै मतदान गरे । बाँकी १९ देशले पनि विद्युतीय मतदान गरे । यस विद्युतीय मतदानमा पनि ‘ह्याकिङ’ भएको भनेर विवाद भएको थियो ।

एक अवसरमा मिडियालाई मतदान स्थलमा प्रवेशको अवसर दिइयो भने अर्को अवसरमा मिडियालाई बाहिर पनि राखिएको थियो । जतिबेला शेख अहमदले दुवै प्रत्याशी सहरमध्ये एकले सन् २०३० र अर्कोले २०३४ को संस्करण आयोजना गर्ने घोषणा गरे, त्यसको सबैले ताली बजाएर स्वागत गरे । शेख अहमदको दाबी थियो, ओसीए जहिले पनि एकता र हातेमालोमा विश्वास राख्छ, त्यसैले यो दोहाको जित हो अनि रियादको पनि ।

प्रकाशित : पुस २, २०७७ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?