कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विशाल र विधानको जोडी च्याम्पियन

मनोज पौडेल

कपिलवस्तु — कास्कीका विशाल खड्का र विधान अधिकारीको जोडीले जितपुरमा आयोजित दुईदिने खुला राष्ट्रिय डबल्स पुरुष ब्याडमिन्टनको उपाधि जितेका छन् । उनीहरूको जोडीले कपिलवस्तु वाणगंगाका विनोद पौडेल र राजु थापाको जोडीलाई २१–१६, २१–७ को सोझो सेटमा हराएर उपाधि जितेको हो ।

विशाल र विधानको जोडी च्याम्पियन

बुटवलका विश्वास नेपाल र गणेश रायमाझी तथा मकवानपुरका अभिषेक बोस र विधान गुरुङको जोडी संयुक्त तेस्रो भएका छन् । विजेता जोडीले ६६ हजार रुपैयाँ पुरस्कार पाए । दोस्रो र तेस्रो हुनेले क्रमशः ३३ हजार र १६ हजार प्राप्त गरेका छन् । उनीहरूलाई प्रदेश सभासद् विष्णु पन्थीले पुरस्कृत गरे ।

लागूऔषधको दुर्व्यसनीमा फसेका र पुनःस्थापित भएका युवालाई खेलप्रति आकर्षित गर्न प्रतियोगिता गरिएको थियो । वाणगंगा नगरपालिका वडा ४ द्वारा आयोजित प्रतियोगितामा स्थानीय र राष्ट्रिय खेलाडी सहभागी थिए ।

जितपुरस्थित बुद्ध रंगशालामा नवनिर्मित कर्भडहलमा खेल भएको थियो । जितपुरका युवाहरूले कभर्डहल बनाएर प्रतियोगिता गरेका हुन् । ‘यस्ता प्रतियोगिताले खेलाडीको क्षमता पनि प्रदर्शन हुन्छ,’ प्रतियोगिता संयोजक तथा वाणगंगा नगरपालिका ४ का अध्यक्ष गणेश क्षेत्रीले भने, ‘लागूऔषधमुक्त समाज निर्माण गर्न सहयोग पनि पुग्छ ।’

प्रकाशित : मंसिर २६, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?