कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्टार्कको समर्थनमा फिन्च

रोयटर्स

मेलबर्न — अस्ट्रेलियाली कप्तान आरोन फिन्चले खराब समयबाट गुज्रिइरहेका मिचेल स्टार्कको समर्थनमा उत्रँदै चाँडै उनी लयमा आउने दाबी गरेका छन् ।

स्टार्कको समर्थनमा फिन्च

भारतविरुद्धको सुरुआती दुई एकदिवसीयमा उनको बलिङमा सजिलै रन बनेको थियो । अस्ट्रेलियाले दोस्रो एकदिवसीय ५१ रनले जितेर तीन खेलको शृंखला २–० ले जितिसकेको छ ।

तर चार टेस्टको शृंखला सुरु हुनु अगाडि टिमका प्रमुख बलर रहेका स्टार्कको प्रदर्शन फितलो रहनु अस्ट्रेलियाका लागि चिन्ताको विषय बनेको छ । सिड्नीमा भएको दोस्रो एकदिवसीयमा उनले ८२ रन दिएर कुनै विकेट लिन सकेनन् । यस्तै पहिलो एकदिवसीयमा पनि उनले ६५ रन दिएर एक मात्र विकेट लिएका थिए । त्यो खेलको आफ्नो पहिलो ओभरमै उनले २० रन खर्चेका थिए ।

क्यानबेरामा बुधबार तेस्रो तथा अन्तिम एकदिवसीय हुँदै छ । त्यसमा अस्ट्रेलियाली टिमको लक्ष्य ३० वर्षीय स्टार्कको आत्मविश्वास फर्काउनु हुनेछ । ‘मलाई पूरा विश्वास छ, स्टार्कको प्रदर्शन चाँडै ठीक हुनेछ,’ सीमित ओभरका क्रिकेट कप्तान फिन्चले मंगलबार भने, ‘पक्कै पनि स्टार्कले राम्रो गरिरहेका छैनन्, तर उनको खेलस्तरमा खासमा कस्तो छ, सबैलाई थाहा छ ।’

उनले मिडियासँगको कुराकानीमा थपेका छन्, ‘स्टार्कको बलिङ धारिलो बनाउने के गर्नु पर्छ भनेर हामीले टिम बैठकमा सामान्य छलफल गरेका छौं । हामी उनको बलिङमा सामान्य परिवर्तन चाहन्छौं, यो रणनीतिक हुनसक्छ । म फेरि भन्न चाहन्छु, मेरो दृष्टिकोणमा स्टार्कको बलिङलाई लिएर गम्भीर चिन्ता लिन आवश्यक छैन ।’

बुमराहको संघर्ष

भारतीय टिमका लागि सुरुआती दुई एकदिवसीयमा आफ्ना तीव्र गतिका बलर जसप्रित बुमराह लयमा नदेखिनु चिन्ताको विषय बनेको छ । अर्को महिना सुरु हुने टेस्ट सिरिजका लागि उनी उत्कृष्ट प्रदर्शनमा फर्कनु भारतलाई अत्यावश्यक रहने छ । अस्ट्रेलियाले निर्णायक अग्रता लिइसकेको शृंखलामा बुमराहले राम्रो गर्न सकेका छैनन् ।

पहिलो एकदिवसीयमा एक विकेटमा ७३ दिएका बुमराहले दोस्रो एकदिवसीयमा एकै विकेटका लागि ७९ रन खर्चेका थिए । विश्व एकदिवसीय वरीयताको दोस्रो स्थानमा रहेका बुमराहको बलिङमा अस्ट्रेलियाली ब्याट्सम्यानले बिनादबाब सजिलै रन बनाएका छन् । यस्तोमा उनको समर्थनमा उत्रने काम गरेका छन् भारतीय टिमका उपकप्तान केएल राहुल ।

उनले भनेका छन्, ‘बुमराह भारतीय टिमका लागि महत्त्वपूर्ण खेलाडी हुन् । उनी जत्तिको च्याम्पियन खेलाडी लयमा फर्कन गाह्रो हुने छैन । उनी चाँडै लयमा फर्कने छन् र हामीलाई विकेट दिलाउने छन् ।’ बुमराहसँगै मोहम्मद सामीको प्रारम्भिक बलिङ जोडीविरुद्ध अस्ट्रेलियाले दुवै एकदिवसीयमा आक्रामक सुरुआत लिएको छ ।

त्यसको फाइदा लिएर मध्यक्रममा अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले पनि खुलेर रन बनाएका छन् । तर राहुलले यसमा अस्ट्रेलियामा रहेको पिचले पनि ठोस कारण खेलेको दाबी गरे । उनले भने, ‘न्युजिल्यान्ड र अस्ट्रेलियामा पिचले ब्याट्सम्यानलाई मदत गरिरहेको हुन्छ । त्यसैले हाम्रामात्र होइनन्, अस्ट्रेलियाली बलर पनि संघर्षरत छन् ।’

प्रकाशित : मंसिर १७, २०७७ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?