कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याराडोना अनि एकोहोरो प्रेम

नेपाल र अर्जेन्टिनाबीचको एकमात्र खेल फकल्यान्ड युद्ध सकिएको एक वर्षमै भएको थियो । उडिरहेको विमानमै नेपालका मानबहादुर मल्लले अर्जेन्टिनी खेलाडी बसेको विमानको भागतिर गएर खुकुरी हल्का नचाएर गए । खुकुरी लिएर एक–दुईपल्ट ओहोरदोहोर नै गरे । खेलअगाडि खुकुरी देखाएर अर्जेन्टिनी खेलाडीलाई मानसिक रुपमा तर्साउन चाहन्थे उनी ।
हिमेश

काठमाडौँ — त्यसै भनिएको होइन, जति धेरै ठूलो खेल व्यक्तित्व, त्यति धेरै अनौठो कथा । डिएगो म्याराडोनासम्बन्धी यस्तै अनेक उडन्ते कथाहरू पाइन्छ । उनको जन्मथलो ब्युनस आयर्सबाट १० हजार माइलभन्दा बढी टाढाको काठमाडौंमा पनि यस्तै एउटा कथा सुन्न पाइन्छ, जसलाई यस्तै हो भनेर ठोकुवा गर्न सकिन्न । सबैलाई थाहा छ, म्याराडोना भनेपछि सन् १९८६ को विश्वकपको प्रसंग आइहाल्छ ।

म्याराडोना अनि एकोहोरो प्रेम

अनि त्यत्तिकै आउँछ, अर्जेन्टिना र इंग्ल्यान्डबीचको चर्चित न चर्चित क्वाटरफाइनल खेल । त्यो खेल अर्जेन्टिनाको पक्षमा रह्यो २–१ ले । त्यसमै त हो, म्याराडोनाले पहिला हातबाट गोल गरे अनि त्यसपछि ‘शताब्दीकै सबैभन्दा उत्कृष्ट’ गोल पनि गरे । त्यो खेलअगाडि व्यापक तनाव छाएको थियो, खेलको दृष्टिकोण र राजनीतिक दृष्टिकोणले पनि । त्यसको चार वर्षअगाडि मात्र बेलायत र अर्जेन्टिना युद्धमा होमिएका थिए । त्यो थियो, फकल्यान्ड युद्ध ।

सन् १९८२ को यो युद्ध १० साता जतिमात्र चलेको थियो । यसमा विजयी रह्यो बेलायत । युद्धजत्तिकै छोटो समयको रहे पनि त्यसले उत्पन्न गराएका आक्रोश, तनाव र बदलाको मनसाय भने बसेको बस्यै छ । त्यसैले त्यो खेललाई दुवै पक्षका मिडियाले युद्धजत्तिकै जस्तो गरेर व्याख्या गरेका थिए । खेल जितेपछि अर्जेन्टिना र त्यहाँका मिडियाले पनि त्यसपछि युद्ध जितेजत्तिकै महत्त्व दिए । पछि म्याराडोनाले त्यसै खेललाई लिएर भनेका रहेछन्, ‘धन्न इंग्लिस टिममा गोर्खाली थिएनन् ।’ हाम्रो पुरानो पुस्ताका खेलाडीहरू यस्तै मुखामुख कथा सुनाउने गर्छन्, म्याराडोनाबारे । कथामा पक्कै केही न केही दम भने छ, किनभने त्यो युद्ध बेलायतले आफ्ना गोर्खाली सेना प्रयोग गरेर जितेको थियो ।

युद्धमा गोर्खाली सेनाको प्रयोगपछि त्यसले निर्णायक मोड लिएको थियो । यत्ति त म्याराडोनालाई पनि थाहा थियो । त्यसैले अचम्म अचम्मका कुरा गर्न माहिर म्याराडोनाले त्यसो भनेका होलान् पनि । या यो कथा कतै नेपालमै बनेको पनि हुनसक्छ । तर यतिचाहिँ भन्नैपर्छ, जति धेरै ठूलो खेल व्यक्तित्व, त्यति धेरै अनौठो कथा । आखिरमा म्याराडोना विश्व फुटबलले देखेका सर्वकालीन महान् खेलाडी पो हुन् ।

यिनै म्याराडोनाको निधनपछि यसको शोकको छिटा नेपालमा पनि देखिएका छन् । यस्तो नहोस् किन ? आखिरमा नेपाल र अर्जेन्टिनाको साइनो जोड्न मिल्ने बहाना धेरै कम छन् । तर, नेपालमा कुनै एक टिमको सबैभन्दा बढी प्रशंसक छन् भने त्यो अर्जेन्टिनाकै हो । यो एक प्रकारको दाबी नै हो, ठोकुवा गर्न सकिन्न । तर जति–जति बेला विश्वकप हुन्छ नि, यस्तो अनुभव मज्जाले गर्न मिल्छ ।

सबैभन्दा बढी समर्थक अर्जेन्टिनाका

अब प्रश्न यस्तो किन भयो त ? यसको कथा पनि मज्जाको छ । यसलाई नेपाली फुटबल प्रशंसकहरूको पहिलो–पहिलो प्रेमको रूपमा व्याख्या गर्न सकिन्छ । विश्वकपको इतिहास जत्तिकै लामो भए पनि नेपालीले त्यसलाई प्रत्यक्ष टेलिभिजनमार्फत हेर्न थालेको सन् १९८६ बाट मात्र हो । त्यतिबेला नेपालमा लगभग पहिलो पहिलोपल्ट आम मान्छेका घरमा टेलिभिजनले प्रवेश पाएको थियो ।

त्यतिबेला काठमाडौंका केही हुने खानेको घरमा मात्र टीभी हुन्थ्यो । प्रतिष्ठाको विषय हुन्थ्यो, भलै त्यो किन श्यामश्वेत टीभी नै नहोस् । यस्तोमा छिमेकमा गएर टीभी हेर्न जानु पनि सामान्य थियो । ठीक त्यही बेला नेपाल टेलिभिजनले स्थापना भएयता अगाडि बढ्ने प्रयास गरिरहेको थियो । नेपाल टेलिभिजनले सन् १९८६ को विश्वकपको फाइनल र सेमिफाइनल देखाएको थियो । त्यो पनि ‘डिले–रिप्ले’ मात्र थियो । फाइनल भने प्रत्यक्ष केही भाग्यमानीले दूरदर्शनबाट मात्र हेरे । यसअघि नेपाली फुटबल प्रशंसकले पेले र विश्वकपका कथा कि सुनेका थिए, कि त पढेका थिए । हेर्ने भने कमै थिए । त्यो जमानाका नेपाली फुटबल खेलाडीलाई सोध्ने हो भने उनीहरूलाई लाग्थ्यो, श्याम थापा नै सबैभन्दा ठूला खेलाडी हुन् अनि कोलकातामा हुने फुटबल सबैभन्दा माथिल्लो स्तरको हो ।

मोहन बगान र इस्ट बंगालमै खुसी मान्ने जमाना थियो, त्यो । यो सबै सन् १९८६ को विश्वकपले परिवर्तन गरिदियो । त्यो पुस्ताका सबै नेपाली फुटबलप्रेमी म्याराडोना र अर्जेन्टिनाको समर्थक हुने भयो नै । नेपालीले पनि अब्बल दर्जाको फुटबल हेर्न पाए, म्याराडोनाको जादुयी फुटबलको छाप नेपालीमाझ सधैंका लागि पर्‍यो । फेरि फुटबलको चलन नै हो, एकपल्ट कुनै टिमको समर्थक भएपछि त्यो फेरिन्न ।

त्यसको चार वर्षपछि सहरका लगभग अधिकांशको घरमा टीभी पुगिसकेको थियो, इटालीमा भएको सन् १९९० को विश्वकपमा । त्यसको पनि चार वर्षपछि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपसम्म त टीभी सामान्य भइसकेको थियो । यी तीनै विश्वकपमा अर्जेन्टिना थियो र म्याराडोना पनि थिए । नेपालमा अर्जेन्टिनाका समर्थक बढ्दै गए । अझ आफूलाई अर्जेन्टिनाको कट्टर समर्थक भन्ने पनि निस्के ।

मनाङ मर्स्याङ्दीसँगको साइनो

जतिबेला विश्व फुटबलमा अर्जेन्टिना र म्याराडोनाको उदय भइरहेको थियो, ठीक त्यही बेला नेपाली घरेलु फुटबलमा मनाङ मर्स्याङ्दी जन्मेर हुर्कनेक्रममा थियो । सन् ८० को दशकमै स्थापना भएको यो क्लब नेपाली घरेलु फुटबलको सर्वाधिक सफल र लोकप्रिय हो । मज्जाले दाबी गर्न मिल्छ, नेपाली घरेलु फुटबललाई धेरै हदसम्म व्यावसायिक बनाउने श्रेय यही क्लबलाई जान्छ ।

अनि यसकै नाम लिएर बयान गर्न मिल्छ, नेपालमा अर्जेन्टिना र म्याराडोनाको प्रभाव कस्तो थियो भनेर । सहिद स्मारक लिगको ‘डी’ डिभिजनदेखि ‘ए’ डिभिजन लहरै जित्दा मनाङका कप्तान थिए, अञ्जित बस्नेत । मनाङले सबैभन्दा पहिले ०४३ सालमा ‘ए’ डिभिजन लिग जितेको थियो । त्यसपछाडि मनाङले फर्केर हेर्नुपरेन । क्लबले मैदानमा ओर्लिंदा कस्तो जर्सी लगाउने त, एक दिन छलफल चलेछ । सबैले भर्खर त्यही सन् १९८६ को विश्वकप हेरेका थिए । अर्जेन्टिना र म्याराडोनाका प्रशंसक थिए ।

त्यसैले सजिलै निर्णय भयो, अर्जेन्टिनाले जस्तो आकाशे र सेतो रंगको धर्के जर्सी लगाउने गर्छ, मनाङले पनि त्यस्तै जर्सी लगाउने छ । त्यो छलफलका एक साक्षी तिनै कप्तान रहेका बस्नेत थिए । अहिलेसम्म पनि मनाङले त्यो परम्परा कायम राखेको छ । यो आकाशे–सेतो धर्के जर्सी क्लबको सबैभन्दा ठूलो परिचय भएको छ । अब यसका लागि अर्जेन्टिना र म्याराडोनालाई धन्यवाद नदिएर कहाँ सुख पाइन्छ ?

अनि यहाँनिर मनाङले मात्र होइन, नेपाली फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी मणि शाहको चर्चा पनि छुटाउनुहुन्न । उनी आफै म्याराडोनाका भक्त जस्तै थिए । कुरा यत्तिकैमा सकिन्न, उनको शरीर, उचाइ, हाउभाउ, खेल्ने शैली पनि धेरै हदसम्म म्याराडोनाकै जस्तो थियो । पछि त्यसमा बानी पनि थपियो । जेहोस्, म्याराडोनाजत्तिकै उचाइका शाह यस्तै पाराले कपाल पाल्थे, हल्का लामो र घुम्रिएको ।

शाहका केही खास पुराना तस्बिर हेर्नुपर्छ, म्याराडोना र उनको साँच्चै उस्तै–उस्तै जस्तो देखिन्छ । यो वास्वतमै मीठो संयोग हो । शाहलाई नेपाली म्याराडोना भन्ने निस्किए, उनको खेलले पनि यो तुलनालाई न्याय गरेको थियो । नेपाली फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा राम्रा खेलाडी को हुन् त भन्दा यसको उत्तर अधिकांशबाट तिनै शाह भन्ने आउन सक्छ । उनको खेल हेर्नुको मज्जा नै बेग्लै थियो ।

नेपाल र अर्जेन्टिनाबीचको खेल

एउटा प्रश्न, के नेपाल र अर्जेन्टिनाबीच कहिल्यै खेल भएको छ त ? म्याराडोना बितेका बेला यो प्रश्नको आफ्नै महत्त्व छ । नेपालले युरोप र दक्षिण अमेरिकी टिमसँग बिरलै मात्र खेल्न पाएको छ । तर, भाग्य भनौं कि के, अर्जेन्टिना नै त्यस्तो एकमात्र देश हो, जससँग नेपाली राष्ट्रिय टिमले खेल्ने अवसर पाएको छ । त्यसैले अर्जेन्टिना नै विश्व फुटबलको एकमात्र त्यस्तो महाशक्ति देश हो, जससँग नेपालले खेलेको छ ।

यो अवसर जुटेको थियो, सन् १९८३ को मर्डेका कपमा । नेपालले मलेसियामा हुने मर्डेका कप दुईपल्ट खेलेको छ । त्यसमध्ये पहिलोपल्ट खेलेको अवसर सबैभन्दा महत्त्वको रह्यो । किनभने नेपालले कुनै एक खास प्रतियोगिता यति धेरै उच्च दर्जाको खेलेको थिएन । नेपाल त्यस प्रतियोगिताको समूह समूह ‘ए’ मा थियो र यसमा रहेका अन्य टिम थिए, अर्जेन्टिनासँगै अल्जेरिया, दक्षिण कोरिया, मलेसिया र बंगलादेश ।

अर्जेन्टिना, अल्जेरिया र दक्षिण कोरियाली टिममा विश्वकप खेलेका खेलाडी थिए । नेपाली टिमका एक प्रमुख सदस्य श्रीराम रञ्जितकार प्रायः कुराकानीमा यस्तै भन्ने गर्छन् । लिग चरणको समाप्तिमा नेपाल अन्तिम स्थानमा रह्यो, ५ खेलमा एकै गोल गर्न सकेन, उल्टै १४ गोल खायो । नेपाल बंगलादेशसँग पराजित रहे । तर यी हार र गोल केबल तथ्यांकमात्रै थिए, किनभने मैदानमा नेपाली राष्ट्रिय टिमले गरेको प्रदर्शन कता हो कता राम्रो थियो ।

रूपकराज शर्मा नेतृत्वको त्यो टिम वास्तवमै राम्रो थियो । त्यसैले यसलाई नेपाली फुटबलको ‘स्वर्णिम पुस्ता’ को टिम भनिन्छ । नेपाल र अर्जेन्टिना–११ बीचको त्यो खेल त्यो वर्षको २६ सेप्टेम्बरमा भएको थियो । नेपाल त्यसमा ३–० ले पराजित भयो । हारमा पनि त्यो राम्रो नतिजा थियो, त्यसको ५ वर्ष अगाडि मात्र अर्जेन्टिनाले पहिलोपल्ट विश्वकप जितेको थियो । अर्जेन्टिनी फुटबलमा म्याराडोनाको उदय भइसकेको थियो ।

नेपाली खेलाडीले केही न केही म्याराडोनाबारे कम्तीमा सुनिसकेका थिए, सन् १९८२ को विश्वकपका कारण । अहिले तिनै रञ्जितकार के भन्छन् भने त्यो अर्जेन्टिनी टिममा म्याराडोना त थिएनन्, तर उनकै रूप र हाउभाउ भएका एक खेलाडी भने थिए । तिनलाई म्याराडोना भनेर नै जिस्क्याउने काम हुन्थ्यो । खेल भने क्वालालम्पुरबाहिर भएको थियो, सम्भवतः जोहरबारु या मलकामा ।

त्यसका लागि दुवै टिम एउटै विमानबाट त्यसतर्फ लागेका थिए । त्यो विमानमा खालि दुई टिममात्र थिए । फेरि यो खेल त्यही फकल्यान्ड युद्ध सकिएको एक वर्षमै भएको थियो । त्यसैले एक प्रकारको तनाव तयार भइसकेको थियो खेललाई लिएर । उडिरहेको विमानमै नेपाली खेलाडी मानबहादुर मल्लले एउटा यस्तो काम गरे, जसलाई ठीक होइन भन्न सकिन्न, ठीक हो पनि भन्न सकिन्न ।

हाम्रा खेलाडीले पनि फकल्यान्ड युद्धबारे राम्रैसँग सुनेका थिए । तिनलाई के भनिएको थियो भने त्यस युद्धमा गोर्खाली फौजले खुकुरी राम्रैसँग नचाएका थिए । यही खुकुरीको डरलाग्दो प्रदर्शनले अर्जेन्टिनी फौजको सात्तो उडेको थियो भनिन्छ । मल्ल पनि के कम, उनले अर्जेन्टिनी खेलाडी बसेको विमानको भागतिर गएर खुकुरी हल्का नचाएर गए, खुकुरी लिएर एक दुईपल्ट ओहोरदोहोर नै गरे ।

त्यो सानो खेलौना खुकुरी नै थियो, तर त्यसले दिन खोजेको सन्देश ठूलो थियो । कम्तीमा मल्लको सोच थियो, खेलअगाडि खुकुरी देखाएर अर्जेन्टिनी खेलाडीलाई मानसिक रूपमा तर्साउने । भनिन्छ, नेपाली खेलाडीले खुबै जोसले त्यो खेल खेलेको थियो । कुनै न कुनै मोडमा अर्जेन्टिनालाई दबाबमा पनि राख्यो । तर अन्त्यमा अर्जेन्टिनाको स्तर अगाडि केही लागेन । सन् १९८६ को विश्वकपमा यही नेपाली टिमका खेलाडीले अर्जेन्टिनाले विश्वकप जितेको हेरे र मख्ख परे । अनि यही अर्जेन्टिनी टिमको पारखी भए । लामै समय नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका गणेश थापा त म्याराडोनाका जबरजस्त समर्थक हुन् । उनी प्रायः भन्ने गर्छन्, म्याराडोना मलाई मनपर्ने एकमात्र खेलाडी हुन् ।

गोर्खालीलाई मन पराउँदैनन् अर्जेन्टिनी

फकल्यान्ड युद्ध सकिएको कति वर्षपछि पनि अर्जेन्टिना र बेलायतबीचको सम्बन्ध राम्रो भएन । अर्जेन्टिना र इंग्ल्यान्डबीच जति–जति बेला खेल भए, प्रतिस्पर्धा खेलमै मात्र सीमित रहेन । अर्जेन्टिनीमाझ इंग्लिस फुटबल र खेलाडीप्रति घृणा थियो भनिन्छ । अनि यी अर्जेन्टिनीहरू गोर्खाली फौजलाई पनि मन पराउँदैन थिए । आखिरमा तिनकै कारणले त हो, अर्जेन्टिना त्यस युद्धमा पराजित भएको हो ।

साँच्चै अर्को महत्त्वपूर्ण प्रश्न, के अर्जेन्टिनी फुटबल र म्याराडोनाका समर्थक नेपालमा धेरै छन् भनेर उनीहरूले कहिल्यै चाल पाए त ? यो प्रश्न म्याराडोनाकै साथी खेलाडीसँग सोध्ने अवसर प्राप्त भएको थियो । उनको नाम थियो ग्याब्रियल काल्डरन । उनी सन् १९८२ र १९९० मा विश्वकप खेलेको अर्जेन्टिनी टिमका सदस्य थिए । उनले धेरै अवसरमा म्याराडोनासँग खेले ।

उनी सन् २००७ मा नेपाल आएका थिए, ओमानी राष्ट्रिय टिमको प्रशिक्षकका रूपमा । उनले दुई वर्ष ओमानी टिम हेरे । सन् २०१० को एसियाली विश्वकप छनोट पहिलो चरणको दोस्रो लेगका लागि काठमाडौं आएका थिए । खेलअगाडि होटल अन्नपूर्णमा आयोजना भएको पोस्टम्याच कन्फरेन्समा उनलाई त्यही प्रश्न सोध्ने अवसर जुरेको थियो । नेपालमा अर्जेन्टिनाका धेरैभन्दा धेरै समर्थक रहेको सुनेर उनी पहिले त छक्क परे अनि भने, ‘ओ हो, यो त मेरा लागि आश्चर्यको विषय हो । तर म यो सुनेर खुसी छु र धन्यवाद दिन चाहन्छु । म्याराडोनाको कारण विश्वका धेरै देशमा अर्जेन्टिनाका समर्थक छन् । तर मलाई लाग्दैन, यो तथ्य म्याराडोना स्वयंलाई थाहा थियो वा अरू कोही हाम्रा खेलाडीलाई ।’

उनले के पनि माने भने गोर्खाली फौज भनेपछि आम अर्जेन्टिनी मुख बिगार्ने गर्छन् । अझ उनीहरू शत्रु सैनिक नै मान्छन् गोर्खाली फौजलाई । यस्तोमा भन्न करै लाग्छ नै, नेपालको पहिलो–पहिलो फुटबल माया म्याराडोना र अर्जेन्टिनामै बसेको थियो । कालान्तारमा यो अझ गाढा भएको छ । तर यो एक प्रकारले एकोहोरो माया थियो, किनभने अर्जेन्टिनीहरू गोर्खालीलाई मन पराउँदैनन् ।

प्रकाशित : मंसिर १३, २०७७ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?