कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

एजेन्सी

जेनेभा — अफ्रिकी फुटबल महासंघका अध्यक्ष अहमद अहमदलाई फिफाले सोमबार आर्थिक हिनामिनाको आरोपमा ५ वर्षको प्रतिबन्ध लगाएको छ । अफ्रिकी फुटबल प्रमुखका रूपमा फेरि चार वर्षका लागि निर्वाचित हुने प्रयासमा रहेका अहमदमाथि यो सजाय सुनाइएको हो ।

अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

अफ्रिकी फुटबल महासंघका अध्यक्षका रूपमा उनी फिफाका उपाध्यक्षसमेत हुन् । फिफाको आचारसंहिता कमिटीले अहमदबाट इमान्दारिता नदेखाएको, अरूलाई उपहार र अन्य फाइदाको प्रलोभन देखाएको, वित्तको दुरुपयोग गरेको र आफ्नो पदीय दुरुपयोग गरेको जनाएको छ ।

मादागास्करका पूर्व सरकारी पदाधिकारीसमेत रहेका अहमदलाई २ लाख २० हजार डलर जरिवाना पनि गरिएको छ । आफ्नो सुरुआती चारवर्षे कार्यकालमा उनीमाथि आर्थिक हिनामिना र आचारसंहिता उल्लंघनको आरोप लाग्दै आएको थियो । अफ्रिकी फुटबल महासंघको मुख्यालय इजिप्टको कायरोमा छ ।

अहमदमाथि फुटबलसँग कुनै सरोकार नभएको कम्पनीसँग महासंघको सामग्री खरिद गरेको आरोप पनि लागेको थियो । यो सामग्री महिला विश्वकपका लागि किनिएको थियो र यसै विषयमा उनलाई फ्रान्सेली पदाधिकारीले सोधपुछसमेत गरेका थिए । फिफाका अनुसार सन् २०१७–२०१९ बीच अहमदले आफ्नो जिम्मेवारीको दुरुपयोग गरेका हुन् र यसका लागि फिफाले ५ महिना छानबिन गरेको थियो ।

फिफाको लेखा परीक्षणमा अहमदले गरेका आर्थिक अनियमिताबारे उल्लेख गरिएको छ । सन् २०१७ मा भएको अफ्रिकी फुटबल महासंघको चुनावमा फिफाले उनलाई नै समर्थन गरेको थियो । उनको जितसँगै महासंघमा फिफाका अर्का उपाध्यक्ष इसा हायोटोउको २९ वर्षको नेतृत्वमा पूर्णविराम लागेको थियो ।

प्रकाशित : मंसिर ९, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?