कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि गोल खडेरीको समस्या

बंगलादेश ०–० नेपाल
हिमेश

काठमाडौँ — के यो गोल खडेरीको समस्याको अर्को अशुभ संकेत हो त ? यो यस्तो प्रश्न हो, जसको उत्तर नखोजेर नेपाली फुटबलले सुख पाउने छैन । नेपाल दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि बंगलादेश भ्रमणमा निस्कँदा टिमले यो प्रश्नको अपेक्षा राखेको थिएन होला ।

फेरि गोल खडेरीको समस्या

नेपाली फुटबलका लागि फेरि मैदानमा फर्कनु नै ठूलो थियो । तर जति बेला दुवै खेल सकिए, गोल नै आत्मसात् गर्न नसक्नुको समस्या फेरि बल्झिएको छ र यो पुरानै रोग रहेको छ ।

यसपल्टको दुई खेलमा नेपालले कुनै पनि गोल निकाल्न सकेन, मंगलबारको दोस्रो खेल गोलरहित बराबरीमै टुंगियो । पहिलो खेलको तुलनामा नेपालले केही आक्रामक हुने प्रयास त गरेको थियो, तर प्रशिक्षक बालगोपाल महर्जनको रणनीतिलाई मैदानमा लागू गर्ने कोही भएन, यसमा उनलाई पक्कै गुनासो रहनेछ । काठमाडौं छाड्न अगाडि नै उनी भन्थे, अग्रपंक्तिमा केही समस्या छ । आखिरमा समस्या त रहेछ नै, नेपालले आक्रमण धारिलो र तिखारिएको देखिएन ।

दोस्रो खेलमा पनि कुनै गोल निकाल्न नसकेपछि नेपाली राष्ट्रिय टिमले लगातार पाँच खेलमा कुनै गोल गरेको छैन । नेपालका लागि अञ्जन विष्टले अन्तिम पटक विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए । नेपालले प्राप्त गरेको २–० को त्यस जितमा दुवै गोल उनकै नाममा थियो । उनको दोस्रो गोल ६२ औं मिनेटमा भएको थियो र त्यसयताका ४ सय ७८ मिनेटको खेलमा नेपालले कुनै गोल गर्न सकेको छैन । प्रशिक्षक बालगोपालकै नेतृत्वमा यो लगातार तेस्रो गोलरहित बराबरी हो ।

सन् २०१८ को साफ च्याम्पियनसिप सेमिफाइलमा नेपाल माल्दिभ्समा पराजित भएको उनी नेतृत्वको खेलमा पनि गोल भएको थिएन । त्यसता नेपालले खेलेका पछिल्ला ११ खेलमध्ये नौ खेलमा टिमले कुनै गोल गर्न सकेको छैन । सम्भवतः नेपालले विश्वकप छनोट खेल्न अगाडि थप केही अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि आधिकारिक खेल सुरु हुनेछन्, त्यति बेलासम्म नेपालसामु यो गोलको खडेरीमा पूर्णविराम लगाउने ठूलो चुनौती हुनेछ ।

बंगलादेशलाई शृंखला

बंगलादेशले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई शृंखलाको नाम दिएको थियो र यसमा विजेताले ट्रफी जित्ने पनि व्यवस्था गरेको थियो । पहिलो खेल २–० ले जितेको बंगलादेशले अन्ततः यो शृंखला जित्यो र त्यही प्राप्त गर्न सफल रह्यो, जसको उसले अपेक्षा गरेको थियो । कोरोना भाइरस संक्रमणको महामारीबीच बंगलादेशी खेलकुद पनि पहिलोपल्ट औपचारिक र ठूलो रूपमा मैदानमा फर्केको थियो र त्यसमै सफलता उसको नाममा रह्यो ।

नेपालले पनि महामारीबीच फेरि खेलकुदमा पुर्नरागमन त रच्यो, तर त्यो एक अर्थमा सुखद भने रहेन । तर एउटा सुखद पक्ष के रहनेछ भने पहिलो खेलको तुलनामा बंगबन्धु रंगशालामा भएको दोस्रो खेलमा नेपालको प्रदर्शन सुधारिएको भने रह्यो । छोटो–छोटो पास खेल्नेक्रममा नेपालले बलमाथि बढी नियन्त्रण लिने प्रयास गरे पनि त्यसलाई सुहाउँदो निर्णायक आक्रमण भने बुन्न सकेन । नेपालको पहिलो गतिलो आक्रमण तेस्रो मिनेटमै सम्भव भएको थियो ।

तेज तामाङले लगभग ३० यार्डबाट गरेको शक्तिशाली प्रहारलाई बंगलादेशी गोलरक्षक असरफुल राणाले जोगाए । एक नियमित कप्तानको दुविधामा रहेको नेपालले सुरुमै भरत खवासलाई नेतृत्व दिएर मैदानमा उतारेको थियो र उनी १९ औं मिनेटमै सब्स्टिच्युट भए । उनको स्थानमा नवयुग श्रेष्ठ आए । खेलले ३३ मिनेट छुँदा एरिक विष्टले निकालेको बलमा अनन्त तामाङले हेड त गरे, तर त्यसले पोस्टको दिशा लिन सकेन ।

नेपालले ५६ औं मिनेटमा सबैभन्दा आशलाग्दो अवसर तयार पारेको थियो । पुजन छिरिङ गुरुङको क्रसमा नवयुग र सुजल श्रेष्ठ दुवै बललाई छुन असफल रहे । सम्भवतः नेपालको नाममा गोल लेखिएकै थिएन, त्यसैले खेलको इन्ज्युरी समयमा रजिन धिमालको क्रसमा नवयुग श्रेष्ठको हेड पोस्टमा लागेर फर्केको थियो । पूरा खेल अवधिमा बंगलादेशले पनि आफ्ना आठ हजार दर्शक अगाडि केही अवसर सिर्जना गरे पनि त्यसमा निर्णायक देखिएन ।

तीन खेलाडीको डेब्यु

नेपालका तीन खेलाडीका लागि भने यो खेल अविस्मरणीय रहनेछ । पहिलो खेलमा जहाँ तीन खेलाडीले नेपालका लागि पहिलो खेल खेल्ने अवसर पाएका थिए, त्यहीं दोस्रो खेलमा तीन खेलाडीले डेब्युको अवसर पाए र ती भाग्यमानी खेलाडी रहे, पुजन, छिरिङ र सेसेहाङ आङदम्बे । नेपालले दोस्रो खेलका लागि पाँच परिवर्तन गरेमा बंगलादेशले पनि दुई खेलाडीलाई सुरुदेखि खेल्ने अवसर दिएको थियो । बंगलादेशी मुख्य प्रशिक्षक जेमी डे आफैं भने मैदानम उपस्थित रहन सकेनन् ।

खेल अगाडि गरिएको परीक्षणमा उनी कोभिड–१९ बाट संक्रमित पाइएको थियो । नेपाल आफैंले पनि सात संक्रमित खेलाडीलाई बंगलादेश लान सकेको थिएन र यसमध्ये केही खेलाडी पहिलो रोजाइकै रहेको थिए । यसै कारणले पनि नेपालको आक्रमण केही हदसम्म कमजोर रहेको थियो । तर यो दुई खेलका क्रममा नेपालले आफ्ना केही नयाँ खेलाडीलाई मैदानमा उतारेर परीक्षण भने गर्न पाएको छ र यसमै राष्ट्रिय टिमलाई केही हदसम्म सन्तोष भने रहनेछ ।

मंगलबारको खेलसँगै नेपालले खेलेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको संख्याले ठ्याक्कै दुई दर्जन छोएको छ । सन् २००८ देखि मात्र नेपालले औपचारिक रूपमा यस्तो मैत्रीपूर्ण खेल खेल्न थालेको हो, यससँगैका २४ खेलमा भने नेपालको प्रदर्शन कमजोर रहेको छ । नेपालले यी खेलमा खालि चार जितमै सीमित छ भने बराबरीमा टुंगेको खेल संख्या पाँच पुगेको छ । बाँकी १४ खेलमा भने नेपाल पराजित रहेको छ । सबैभन्दा चिन्ताको विषय हो, यी २४ खेलमध्ये नेपालले १७ खेलमा कुनै गोल गर्न सकेको छैन ।

नेपाली टिम : अनन्त तामाङ, एरिक विष्ट, तेज तामाङ (पुजन उपरकोटी ४६), अञ्जन विष्ट (रविशंकर पासवान–७३), सुजल श्रेष्ठ (जर्ज प्रिन्स कार्की–८९), किरण लिम्बू, भरत खवास (नवयुग श्रेष्ठ–१९), रजिन धिमाल, छिरिङ गुरुङ, दर्शन गुरुङ (सेसेहाङ आङदम्बे–७३), विकास खवास ।

प्रकाशित : मंसिर ३, २०७७ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?