कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हैदराबाद फाइनल नजिक, बेंग्लोरको चुनौती समाप्त

एजेन्सी

अबुधाबी — केन विलियम्सनको अर्धशतक र जेसन होल्डरको अलराउन्ड प्रदर्शनमा सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायर्स २ मा पुगेको छ । हैदराबादले शुक्रबार इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गर्यो ।

हैदराबाद फाइनल नजिक, बेंग्लोरको चुनौती समाप्त

होल्डरले कसिलो बलिङ गर्दै ३ विकेट लिएपछि हैदराबादले पहिला ब्याटिङ गरेको बेंग्लोरलाई १३१–७ को स्कोरमा रोकेको थियो । विलियम्सन र होल्डरले ४७ बलमा अविजित ६५ रनको साझेदारी गरेपछि हैदराबादले २ बल अगाडि लक्ष्य पूरा गर्यो । बेंग्लोरको हकमा यो लगातार पाँचौं पराजय हो ।

हैदराबादले आइतबार दिल्ली क्यापिटल्ससँग फाइनलमा प्रवेश पाउन क्वालिफायर्स २ मा खेल्ने छ । डिफेन्डिङ च्याम्पियन्स मुम्बई इन्डियन्सले बिहीबार क्वालिफायर्स १ मा दिल्लीलाई ५७ रनले पराजित गरी फाइनलमा पुगिसकेको छ ।

विलियम्सन ५० र होल्डर २४ रन बनाई अविजित रहे । म्यान अफ द म्याच विलियम्सनले ४४ बल खेली २ चौका र २ छक्का तथा होल्डरले २० सामना गरी ३ चौका प्रहार गरे । हैदराबादलाई अन्तिम ओभरमा विजयका लागि १० रन चाहिन्थ्यो । नवदीप सैनीको पहिलो बलमा विलियम्सनले १ रन लिए । दोस्रो बलमा बिट भएका होल्डरले तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै हैदराबादलाई विजय दिलाए । ओपनर श्रीवात्स गोस्वामीलाई शून्यमै गुमाएको हैदराबादबाट कप्तान डेविड वार्नरले १७ र मनिष पाण्डेले २४ रन जोडे ।

कप्तान विराट कोहलीको ब्याट पुन: सेलाउँदा बेंग्लोरले राम्रो सुरुआत गर्न सकेन् । ओपनरको रुपमा आएका कोहली ६ बलमै आउट भए । अर्का ओपनर देवदत्त पाडिक्कलले पनि १ रनमात्र बनाउन सके । आरोन फिन्चले ३२ र एबी डी भिलियर्सले ४३ बल खेली ५६ रन बनाए । फिन्चले ३० बल खेली ३ चौका र १ छक्का तथा डी भिलियर्सले ५ चौका प्रहार गरे । होल्डरले ४ ओभरमा २५ रन खर्चेर उत्कृष्ट बलिङ गरेका थिए । टी नटराननले २ र शाहबाज नदीमले १ विकेट लिए ।

प्रकाशित : कार्तिक २२, २०७७ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?