कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भार्डी जस्ता कोही छैनन्’

‘विपक्षी डिफेन्डरलाई जेमी भार्डीविरुद्ध कसरी खेल्ने हो, त्यसबारे निर्णय गर्न नै गाह्रो छ । त्यसैले त लिड्सविरुद्ध भार्डी साँच्चै उत्कृष्ट देखिए ।’
द गार्डियन

लन्डन — जेमी भार्डीले फेरि एकपल्ट लेस्टरका लागि उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । लेस्टरको लिग तालिकामा शीर्ष टोली लिभरपुलसँगको दूरी एक अंकमा छोटिएको छ ।

‘भार्डी जस्ता कोही छैनन्’

यस्तोमा प्रश्न बनेको छ, के लेस्टर यस सिजन उपाधिका लागि भिड्ने छ त ? लेस्टरले लिड्स युनाइटेडलाई ४–१ ले हराएको हो । त्यसमध्ये भार्डी तीन गोलमा संलग्न भए । एक गोल त उनकै नाममा रह्यो । ब्रेन्डन रोजर्सको टिम उत्कृष्ट लयमा देखियो । भार्डी ३३ वर्षका भए, उनी राम्रो गोलकर्ता हुन् । यसमा कुनै शंका छैन ।

अनि उनको गोल गर्ने बानी पनि कमजोर पर्ला, त्यसको कुनै छाँटकाँट छैन । लेस्टरले सोमबारको खेल के जित्यो, कमेन्टेटर रहेका क्रिस सटनले ठोकुवा गरिहाले, सन् २०१६ मा जस्तै लेस्टरले यसपल्ट लिग उपाधि जित्न बेर छैन । सन् १९९५ मा ब्ल्याकबर्नले यस्तै अविश्वसनीय ढंगले लिग जित्दा उनी टिमका प्रमुख खेलाडीमध्ये एक थिए । सटनले भनेका छन्, ‘के लेस्टरले यसपल्ट पनि सक्ने छ त ? सक्ने छ ।’ लेस्टर वास्तवमै लयमा छ ।

लेस्टरले यसक्रममा सबैलाई भनिरहेको छ, ‘हाम्रो पनि खेल त हेर ।’ रोजर्स आफैं कूटनीतिक भाषा बोल्ने व्यवस्थापक हुन् । त्यसैले भन्छन्, ‘हाम्रो लिग उपाधिबारे चर्चा गर्ने यो समय धेरै चाँडै भयो, होइन र ?’ तर लेस्टरले फेरि एकपल्ट लिगमा उत्कृष्ट सुरुआत लिएको छ । भार्डी आफैंले पनि उत्कृष्ट खेलिरहेका छन् । त्यसैले लेस्टरलाई उपाधिको प्रत्याशी किन नमान्ने ? लेस्टरले गरेका पछिल्ला १३ गोलमध्ये भार्डी कुनै न कुनै रूपमा जोडिएका छन् ।

लिड्सविरुद्ध उनको प्रदर्शन हेरेपछि म्यानचेस्टर सिटीका पूर्वखेलाडी मिचह रिचर्डसले पनि भने, ‘भार्डी जस्ता कोही छैनन् । उनी विपक्षी डिफेन्डरहरूका लागि सात्तो लिने खेलाडी हुन् । मैले आफू एस्टन भिल्लामा छँदा उनीविरुद्ध खेलेको अनुभव छ । म त उनको खेलबाट छक्कै परें । म शारीरिक रूपमा उनीभन्दा बलियो थिएँ, त्यसैले कडा टक्कर दिइरहेको थिएँ, तर उनी पनि कम्तीका थिएनन् । पछि म थाकें । उनको खेल अझ राम्रो हुन थाल्यो ।’

रिचर्डस के मान्छन् भने विपक्षी डिफेन्डरलाई उनीविरुद्ध कसरी खेल्ने हो, त्यसबारे निर्णय गर्न नै गाह्रो छ । त्यसैले त लिड्सविरुद्ध भार्डी साँच्चै उत्कृष्ट देखिए । रिचर्डस थप्छन्, ‘पूरा खेल भार्डीको गतिमा टिकेको थियो । उनले खेल कसरी लिइरहेका थिए, त्यो हेर्नलायक थियो । उनलाई निगरानीमा राख्न सजिलो थिएन । उनको खेल एउटा सेन्ट्रल फरवार्डले कसरी खेल्नुपर्छ, त्यो देखाउँछ । फेरि भार्डी खेलको अवस्था बुझ्न माहिर छन् ।’

प्रिमियर लिगमा लिड्स युनाइटेडविरुद्ध गोल गरेपछि जेमी भार्डी (बायाँ) र अर्को तस्बिरमा सहकर्मी सेन्गिज अन्डरसँग खुसी साट्दै । तस्बिर : एपी

लेस्टर अहिले लयमा छ भनेर भन्न सजिलो छ, किनभने सन् २०००–०१ मा बराबर हुनेगरी उत्कृष्ट सुरुआत लिएको छ । त्यो भनेको ७ खेलबाट १५ अंक । सन् २०१५–१६ मा लिग जित्दा लेस्टरले तीन जित, तीन बराबरी र एक हार खेलेको थियो । यसपल्ट उसको प्रदर्शन छ, पाँच जित, बराबर शून्य र दुई हार । अझ क्लब इतिहासमै पहिलोपल्ट लेस्टरले घरबाहिरका सबै सुरुआती चार खेल जितेको छ । यो नै विपक्षीलाई सबैभन्दा ठूलो सन्देश हो ।

‘घरबाहिर लेस्टरको खेल हेर्नुपर्छ, टिमको प्रशंसा नगरेर सुखै छैन,’ सटन भन्छन् । खासमा लेस्टरका लागि भार्डी मात्र लयमा छैनन्, अरू पनि छन् । लिड्सविरुद्ध योरी टिलेमन्सले पनि राम्रै खेले र दुई गोल गरे । लिगको घरबाहिरका तीन खेलमा उनले तीन गोल गरिसकेका छन् । यसअघि उनले लेस्टरका लागि २५ घरबाहिरका खेलमा गोल गरेका थिएनन् । टिमकै रूपमा पनि लेस्टरले वास्तवमै राम्रो खेलिरहेको छ, यसमा दुईमत छैन ।

रोजर्सको आफ्नै तर्क

लिड्समाथि प्राप्त प्रभावशाली जितपछि व्यवस्थापक ब्रेन्डन रोजर्स पनि बोल्नमा लयमा देखिए । भनिहाले, बेलायती प्रशिक्षक रहेको हुनाले उनले आफूले पाउनुपर्ने श्रेय पनि पाइरहेका छैनन्, किनभने सबैलाई विदेशी प्रशिक्षकको प्रशंसा गरेर नै फुर्सद छैन । लिड्सका व्यवस्थापक मार्सेलो बिएल्साको बेलायती मिडियामा धेरै प्रशंसा गरिन्छ, यो तथ्यमा पनि उनी चिढिएको देखिए । इंग्लिस टिमका लगभग सबै ठूला क्लबमा विदेशी व्यवस्थापक रहेका छन् ।

लेस्टरले घरबाहिर प्राप्त जितमध्ये स्लेभिन बिलिचको वेस्ट ब्रुम, पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी र मिखेल आर्टेटाको आर्सलन पनि छन् । चौथो जित बिएल्साको लिड्सविरुद्ध नै रह्यो । रोजर्सले मिडियासँग भने, ‘बेलायती व्यवस्थापक रहेका हुनाले सायद हामी टिमको जितमा भाग्यमानी मानिन्छौं । अचेल सबैले बेलायती फुटबल व्यवस्थापकबारे यस्तै सोच्छन् ।’ तर उनले के माने भने लेस्टरको अहिले पुस्ताका सबै खेलाडी राम्रा भने छन् ।

संकटमा वेस्ट ब्रुम र विलिच

लेस्टरको ठीक विपरीत वेस्ट ब्रुम भने संकटमा छ । गाह्रो परिस्थितिमा रहेका छन् व्यवस्थापक स्लेभन विलिच । वेस्ट ब्रुम आफ्नो पछिल्लो खेलमा फुलहमसँग २–० ले हारेपछि रेलिगेसन क्षेत्रमा झरेको छ । लिगको अहिलेसम्म खेलेका ७ खेलमा वेस्ट ब्रुमले अहिलेसम्म जित निकाल्न सकेको छैन । बिलिच पनि मान्छन्, टिमको प्रदर्शन यस्तै रह्यो भने प्रिमियर लिगमा कायम रहने सपना नदेखे हुन्छ । उनले भनेका छन्, ‘हामीले टिमको प्रदर्शनमा व्यापक सुधार नगरेर अब हुँदै हुन्न ।’

प्रकाशित : कार्तिक १९, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?