कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालिन अध्याय सकिँदै, बालगोपाल फेरि संकटमोचक

बंगलादेशविरूद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि तयारी गर्न एन्फाले स्विडेनमा रहेका कालिनलाई लगातार ताकेता गरे पनि उनी कोभिड–१९ का कारण काठमाडौं फर्कन सक्ने स्थितिमा छैनन् ।
हिमेश

काठमाडौँ — कुनै ठूलो नाटकीय फेरबदल भएन् भने नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकका रूपमा योहान कालिनको अध्याय सकिँदैछ । कोरोना भाइरस संक्रमणको महामारीबीच उत्पन्न विषम परिस्थितिमा नेपाली फुटबलमा उनको कार्यकाल सकिन लागेको हो ।

कालिन अध्याय सकिँदै, बालगोपाल फेरि संकटमोचक

अहिलेसम्म अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे औपचारिक रूपमा केही भनेको छैन, तर सम्भवतः उनी दोहरिएर फेरि नेपाली टिम सम्हाल्न आउने छैनन् ।

बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि तयारी गर्न एन्फाले स्विडेनमा रहेका कालिनलाई लगातार ताकेता गरे पनि उनी काठमाडौं फर्कन सक्ने स्थिति नरहेपछि उनी विना नै टिम ढाका जान लागेको छ । कालिनसँग सम्पर्कमा रहेको एन्फाको सूत्रका अनुसार उनले आफू कम्तीमा डिसेम्बरसम्म काठमाडौं आउन नसक्ने र नेपाली फुटबलका लागि चाहिएमा अर्को कोहीलाई प्रशिक्षकलाई अनुबन्ध गरे पनि हुने समेत बताएका छन् ।

स्विडेनले आफ्ना नागरिकलाई कोभिड–१९ प्रभावित क्षेत्रमा जान अनुमति दिएको छैन् । संक्रमणको प्रभाव बढेपछि उनी काठमाडौं छाडेर स्विडेन लागेका थिए र त्यसयता उनी फर्कन सक्ने वातावरण तयार भएको छैन् । अहिले तत्कालका लागि एन्फाले संकटमोचकका रूपमा नेपालका पूर्व कप्तान तथा प्रशिक्षक बालगोपाल महर्जनलाई नेपाली राष्ट्रिय टिमको जिम्मेवारी दिएको छ र उनकै नेतृत्वमा नेपालले ढाकामा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।

बंगलादेशले नोभेम्बर १३ र १७ नेपालको आतिथ्य गर्नेछ । सहिद स्मारक लिग ‘ए’ डिभिजनमा मछिन्द्रको जिम्मेवारीसँगै नेपाली फुटबलमा प्रवेश पाएका कालिनको नेतृत्वमा नेपालले सन् २०१९ को मार्चमा कुवेतविरुद्ध पहिलो खेल खेलेको थियो । उनी प्रशिक्षक भएयता नेपालले नौ खेलेकोमा त्यसमध्ये एकै खेलमा मात्र विजयी रहेको छ भने दुई खेल बराबरीमा टुंगेको छ । यस्तै नेपाल त्यस अवधिमा छ खेलमा पराजित रहेको छ र यसमध्ये पछिल्ला तीन खेलमा नेपाल लगातार हारेको छ ।

बालगोपाललाई तेस्रोपल्ट अवसर

सम्भवतः विश्वकप छनोटका बाँकी खेलका लागि पनि कालिन उपलब्ध नहुने स्थितिमा त्यसको जिम्मेवारी समेत बालगोपाललाई नै दिने तयारी चलिरहेको छ । कालिनको तुलनामा नेपाली टिमको प्रशिक्षकका रूपमा बालगोपालको प्रदर्शन राम्रो रहेको छ र उनको नेतृत्वमा नेपालले सन् २०१६ मा बंगबन्धु गोल्डकप जितेको थियो । यस्तै उनकै नेतृत्वमा नेपालले सन् २०१८ मा साफ च्याम्पियनसिप पनि खेलेको थियो । संयोगले यी दुवै प्रतियोगितामा ढाकामै भएका थिए ।

अबको उनको गन्तब्य पनि ढाका नै रहेको छ । नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहिसकेका बालगोपालले नेपालका लागि ५२ ‘क्याप’ जितेका छन् । नेपालले उनी प्रशिक्षक भएयता सात खेल खेलेकोमा त्यसमध्ये चारमा विजयी रहेको छ । यस्तै एक खेल बराबरी र दुई हारमा टुंगेको छ । तेस्रोपल्ट नेपाली टिम सम्हाल्ने अवसर पाएपछि खुसी रहेका बालगोपालले आफ्नो पहिलो लक्ष्य खेलाडीको फिटनेस सुधार्नु परेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘अहिलेको परिस्थितिका कारण हाम्रा खेलाडीले लामो समयदेखि तयारी गर्न पाएका छैनन्, त्यसैले फिटनेसको समस्या हुन सक्छ । तर यो समस्या हाम्रो मात्र होइन, सबैको हो, बंगलादेशको पनि हो । त्यसैले आत्तिनु पर्ने केही पनि छैन् ।’ उनले बिहीबारदेखि टिमको प्रशिक्षण सुरु गर्दैछन् र यसक्रममा टिमको रणनीति पनि तयार पार्नेछन् । ‘हाम्रो लागि बंगलादेश नयाँ प्रतिद्वन्द्वी पनि होइन, त्यसैले हामी आत्मविश्वासले खेल्न सक्षम हुनेछौं ।’

नेपाली टिमले काठमाडौंमा एक साताको तयारीको मात्र अवसर पाउने छ र त्यसपछि नोभेम्बर ५ मै बंगलादेश जानेछ । त्यहाँ नेपालले पूरा सुरक्षा घेराबीच अभ्यास गर्नेछ । काठमाडौं छाड्न अगाडि नेपाली खेलाडीको पहिलो अवसरमा कोरोना भाइरसको परीक्षण गरिनेछ । ढाका पुगेयता पनि नेपाली खेलाडी दुई अवसरमा यो परीक्षणबाट गुज्रिनेछन् र त्यसपछि मात्र खेलका लागि मैदानमा उत्रनेछन् । एन्फाले भने यसअघि घोषित टिमलाई निरन्तरता दिएको छ ।

त्यस अनुसार अभ्यासका लागि बोलाइएका खेलाडीमा अभिषेक रिजाल, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, विशाल राई, रन्जित धिमाल, विकेश कुथु, सुमन अर्याल, नवयुग श्रेष्ठ, सेसेहाङ आङडेङ्बे, जर्ज प्रिन्स कार्की, विकास खवास, सरोज दाहाल, अमित तामाङ, सुवास गुरुङ, तेज तामाङ, अजित भण्डारी, रवि पासवान, सुनील बल, छिरिङ गुरुङ, आशिष लामा, अनन्त तामाङ, विक्रम लामा, मिक्चेन तामाङ, दिलेन लोक्तान, अञ्जन विष्ट, पुजन उपरकोटी, विमल राना, दीप कार्की, एरिक विष्ट, दर्शन गुरुङ, रोहित चन्द र किरण लिम्बू छन् ।

प्रकाशित : कार्तिक १३, २०७७ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?