कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एल क्लासिको : बार्सिलोनालाई ३-१ ले हराउँदै रियल म्याड्रिड शीर्ष स्थानमा

एजेन्सी

बार्सिलोना — स्पेनी ला लिगाको यो सिजनको सुरुवातमा खराब लयबाट गुज्रिएको बार्सिलोना शनिबार एल क्लासिको खेलमा रियल म्याड्रिडसँग हार बेहोरेको छ । शनिबार नु क्याम्पमा भएको सिजनको पहिलो एल क्लासिको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-१ ले हराएको हो ।

एल क्लासिको : बार्सिलोनालाई ३-१ ले हराउँदै रियल म्याड्रिड शीर्ष स्थानमा

खेल सुरु भएको पाँचौँ मिनेटमै रियल म्याड्रिडका लागि फेडेरिको भालभर्डेले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमै बार्सिलोनाका लागि अन्सु फाटीले बराबरी गोल फर्काएका थिए । खेलको ६२औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टी पाएको थियो । रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले पेनाल्टीलाई गोलमा परिणत गर्दै बार्सिलोनासँगको खेलमा टिमलाई महत्वपूर्ण तीन अंक दिलाउन सफल भए ।

बार्सिलोनाको डिबक्स एरियामा क्लेमा ल्याङ्ग्लेले सर्जियो रामोसको जर्सी तानेका थिए । सुरुमा रेफ्रीले खेल जारी राखे पनि भिडियो असिस्टेन्ट रेफ्री(भार) ले भने उक्त निर्णय उल्टाउँदै रियललाई पेनाल्टीको अवसर दिएको थियो । खेलको ९०औं मिनेटमा रियल म्याड्रिडका लागि लुका मोड्रिचले अतिरिक्त एक गोल थपेका थिए ।

जितसँगै रियल म्याड्रिड ला लिगाको अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियल ६ खेलमा ४ जित, एक ड्र र एक हारसहित १३ अंकसहित शीर्ष स्थानमा छ । ५ खेल खेलेको बार्सिलोना ७ अंकसहित १०औं स्थानमा रहेको छ । बार्सिलोनाले ५ खेलमा २ जित, एक बराबरी र २ खेलमा हार बेहोरेको छ ।

प्रकाशित : कार्तिक ८, २०७७ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?