चेन्नईमाथि मुम्बईको १० विकेटको जित- खेलकुद - कान्तिपुर समाचार

चेन्नईमाथि मुम्बईको १० विकेटको जित

एजेन्सी

सारजहा — डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले शुक्रबार इन्डियन प्रिमियर लिगमा गत वर्षको उपविजेता चेन्नई सुपर किंग्समाथि १० विकेटको जित निकालेको छ । जितपछि मुम्बई १४ अंकले शीर्ष स्थानमा रह्यो ।

मुम्बईसँगै दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरको पनि समान १४ अंक छ । रन रेटका आधारमा मुम्बई अगाडि रहेको हो । चेन्नई भने ६ अंकसहित अन्तिम स्थानमा छ । यो नतिजासँगै उस चेन्नईको प्ले–अफको सम्भावना लगभग समाप्त भएको छ ।

मुम्बईले टस जितेर चेन्नईलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । महेन्द्रसिंह धोनीको टिमले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो । टिमले एक समय तीन रन बनाउँदा चार विकेट गुमाइसकेको थियो ।

चेन्नईका लागि साम कुरानले अन्त्यमा ५२ रन बनाए । मुम्बईका लागि ट्रेन्ट बोल्टले १८ रन खर्चेर चार विकेट लिए । प्रत्युत्तरमा मुम्बईले विनाविकेटको क्षति १२.२ ओभरमा १ सय १६ रन बनायो । क्विन्टेन डे ककले ४६ र ईशान किसनले ६८ रन बनाए ।


प्रकाशित : कार्तिक ८, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्

दुर्गालाई शक्तिशाली बनाउने महाष्टमी

रासस

काठमाडौँ — आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज बडादसैंका रुपमा दुर्गाभवानीको विशेष पूजा–आराधना गरी मनाइँदै छ । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा–आराधना गरिन्छ ।

महाष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व छ । आजको दिन शास्त्रसम्मत रुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा‍डा रामचन्द्र गौतम बताउँछन् । ‘सात्त्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्त्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्त्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएको छ,’ उनले भने । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्त्व रहेको धर्मशास्त्रविद्को भनाइ छ । चण्डीको आठौं अध्यायमा पनि यससम्बन्धी चर्चा रहेको गौतम बताउँछन् ।

आजैको राति कालरात्रि पशुबलिको विधि र पूजा–आराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । आजका दिन काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण नगण्यमात्रामा बलिसहितको पूजा हुनेछ । यसै गरी उपत्यकाबाहिरका नुवाकोटका जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्छ ।

आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजाकोठामा आआफ्नो कुल परम्परानुसार काँक्रो, घिरौंला, कुभिन्डो, मुला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् । महाष्टमीका राति हनुमानढोकाको दसैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिएकामा यस वर्ष कोरोनाका कारण स्थगन गरिएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

महागौरीको पूजा गरिँदै

महाष्टमीमा आज दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष दुर्गापक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

नवरात्रको पहिलो दिन कात्तिक १ गते दसैंघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा–आराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टाको निष्ठाका साथ पूजा–आराधना गरियो । चौथो दिन कुष्माण्डाको पूजा–आराधना गरिएको थियो भने पाँचौँ दिन स्कन्दमाताको पूजा गरियो । छैटौँ दिन कात्यायनी तथा सातौँ दिन कालरात्रि देवीको आराधना गरियो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

महागौरीको रङ पहिले केही कालो भएकाले भगवान् शिवले देवीलाई ख्यालठट्टामा ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । तिनले अत्यन्त कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले उनलाई महागौरी भनिएको हो भन्ने विभिन्न पुराणमा वर्णन गरिएको छ । सेतो वृषभमाथि चढ्ने गोरो वर्णकी श्वेतवस्त्र धारण गरेको स्वरुपमा महागौरी हुन्छिन् भन्ने ती पुराणमा लेखिएको छ । दुर्गाका यिनै नौ रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ जहाँ भक्तजन पुग्ने गरेका छन् । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान तथा खानपिन गरी दसैं, तिहारजस्ता चाड पर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् । दसैंको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट सङ्क्रमित हुने पनि बढिरहेका छन् ।

प्रकाशित : कार्तिक ८, २०७७ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×