कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवि मैदानका कर्मचारीलाई सन्दीपको सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) मा व्यस्त नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पूर्वघोषणाअनुसार त्रिवि क्रिकेट मैदानका ‘ग्राउन्ड स्टाफ’लाई दिने १ लाख रुपैयाँ आइतबार हस्तान्तरण गरिएको छ । 

त्रिवि मैदानका कर्मचारीलाई सन्दीपको सहयोग

राष्ट्रिय क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटीले सन्दीपको तर्फबाट आइतबार त्रिवि क्रिकेट मैदानमा पुगेर रकम हस्तान्तरण गरेका हुन् । सन्दीपले दुई महिनाअघि क्यारेबियन प्रिमियर लिग खेल्न जानुअघि त्रिविका ग्राउन्ड स्टाफलाई १ लाख सहयोग गर्ने घोषणा गरेका थिए । क्यारेबियन प्रिमियर लिग अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म चलेको थियो । प्रतियोगितामा उनले जमैका तलाबाजबाट खेलेकामा १२ विकेट लिएका थिए । यो उनको ट्वान्टी–२० फ्रेन्चाइजको एकै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन हो ।

‘कोरोना महामारीका कारण निम्न आय भएका कर्मचारीहरू बढी मारमा परेका छन् । ठूला चाडपर्व दसैं–तिहार नजिक आइरहेको र उनीहरूले नियमित पारिश्रमिक पनि नपाइरहेको अवस्थामा सानो सहयोगले ठूलो प्रभाव परोस् भनेर सन्दीपको सुझावअनुसार सहयोग हस्तान्तरण गरिएको हो,’ सिवाकोटीले कान्तिपुरसँग भने ।

सन्दीप अहिले आईपीएलका लागि यूएईमा छन् र उनी फर्कन अझै एक महिनाभन्दा बढी लाग्नेछ । आईपीएलमा दिल्ली क्यापिटल्सका लागि तेस्रो सिजन खेलिरहेका सन्दीपले जारी सिजन अहिलेसम्म खेल्न पाएका छैनन् । दिल्लीले ६ मध्ये ५ खेलमा जित हासिल गरी शीर्षस्थानमा छ । चार विदेशी खेलाडी टिममा राख्न पाउने नियमको सिकार भएका सन्दीप यस सिजन पहिलो खेलको प्रतीक्षामा छन् ।

प्रकाशित : आश्विन २६, २०७७ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?