कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सट्टेबाज समूह’ खोजी गर्दै प्रहरी

कान्तिपुर संवाददाता

विराटनगर — इन्डियन प्रिमियर लिग (आईपीएल) को अनलाइन सट्टेबाजीमा पक्राउ विराटनगरका तीन जनाको सम्बन्ध पर्साको वीरगन्जलाई केन्द्र बनाएको एक भारतीय नेटवर्कसँग रहेको खुलेको छ । पहिलेदेखि नै सट्टेबाजीमा संलग्न तीनजना र हालसम्म पक्राउ नपरेका स्थानीय अन्य दुई समूहले वीरगन्जमा आएर बसिरहेका यो नेटवर्कको मुख्य नाइके एक भारतीय नागरिकसँग मिलेर काम गरिरहेको मोरङका प्रहरी प्रमुख उपरीक्षक सन्तोष खड्काले बताए ।

‘सट्टेबाज समूह’ खोजी गर्दै प्रहरी

‘पक्राउ परेकालाई केरकार गर्दा ती व्यक्ति आईपीएल र विश्वकपलगायत क्रिकेटको अन्य प्रतिस्पर्धा अवधिभर वीरगन्जमा बसेर नेपालभर सट्टेबाजी गरिरहेको खुल्यो,’ उनले कान्तिपुरसँग भने, ‘पर्सा प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढेको छ ।’ प्रहरीले मंगलबार विराटगर–१५ का मुन्ना भनिने ३८ वर्षीय सत्यजित साह, ३८ वर्षीय बैजनाथ साह र विराटनगर–१७ का ४२ वर्षीय जगदीश साहलाई पक्राउ गरेको थियो । जगदीश र बैजनाथ विराटनगर सीमावर्ती रानीका र सत्यजित मुख्य सहरी क्षेत्र भट्टिमोडका बासिन्दा हुन् । उनीहरूको दिल्ली, मुम्बई, दुबई र कराँचीका सट्टेबाजसँग सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।

यो नेटवर्कसँग सम्बद्ध सीमावर्ती विराटनगरका अन्य दुई समूहको खोजी भइरहेको एसपी खड्काले बताए । माकुराको जालोझै सट्टेबाजीको दह्रो नेटवर्क भएको हुनाले अनुसन्धान लामो समयसम्म जारी रहने उनले प्रस्ट्याए । ‘पहिले सट्टेबाजीमा जित–हार हुँदा नगद रकमको आदानप्रदान हुन्थ्यो,’ उनले भने, ‘अहिले मोबाइलबाटै सारा चलखेल हुने भएकाले अनुसन्धान चूनौतीपूर्ण बनेको छ ।’

उनका अनुसार नेपाली समूहले संकलन गरेको रकम सोझै भारतका गिरोहसम्म पुग्ने गर्छ । ‘सट्टेबाजीमा हुने जित र हारको बीचमा नेपाली सट्टेबाजहरूले निश्चित कमिशन पाउँछन्,’ एसपी खड्काले भने । पक्राउ परेकाहरूले प्रहरीमा दिएको बयानअनुसार जितेमा एक टका (रुपैयाँ) को दस गुणासम्म दिने गरी सट्टाबाजी हुन्छ । जितेमा लगानी गर्नेले पाउने र हारेमा भारतीय नेटवर्कको खातामा जम्मा हुने पक्राउ परेकाले बताएका छन् । दुईमध्ये कुन टिमले जित्ने, कुन टिम वा खेलाडीले कति रन बनाउने, कुन खेलाडी कति रन बनाए वा कति ओभर वा कति बलमा आउट हुनेमा बाजी लगाइने गरिएको प्रहरीले जनायो । विराटनगरमा सक्रिय यी सट्टेबाजमार्फत कति जनाले कति रकम लगानी गरे त्यसबारेमा अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

प्रकाशित : आश्विन १६, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?