कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुपर ओभरको रोमाञ्‍च

एजेन्सी

दुबई — रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार आफ्नो प्रमुख प्रतिद्वन्द्वी मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

सुपर ओभरको रोमाञ्‍च

किंग्स इलेभेन पन्जाबसँग अघिल्लो खेलमा भोगेको ९७ रनको लज्जास्पद हार बिर्सनेक्रममा बेंग्लोरले मुम्बईलाई पन्छाउन पनि ठूलै कसरत गर्नुपरेको थियो ।

जारी आईपीएलमा यसअघिका खेलजस्तै टस जितेर फिल्डिङ गर्ने मुम्बईको निर्णयमा बेंग्लोरले ३ विकेट गुमाई २ सय १ रनको विशाल स्कोर बनाएको थियो । इशान किशनले ९९ रन बनाएपछि मुम्बईले ५ विकेट गुमाई २ सय १ रन नै बनाएपछि सुपर ओभरमा निर्णय भएको थियो ।

किइरन पोलार्डलाई गुमाएको मुम्बईले सुपर ओभरमा ७ रनमात्र बनाउन सक्यो । बेंग्लोरले अन्तिम बलमा चौका प्रहार गर्दै ११ रन जोडेको थियो । तीन खेलमा दोस्रो जित हात पारेपछि बेंग्लोर पुछारको दोस्रो स्थानबाट तेस्रो स्थानमा उक्लेको छ । तीन खेलमा मुम्बईको यो दोस्रो हार हो । अंकतालिकामा टोली पाँचौं स्थानमा छ । दुई खेल खेलेको सनराइजर्स हैदराबादले मात्र कुनै खेल जितेको छैन ।

बेंग्लोरबाट ओपनरद्वय देवदत्त पाडिक्कल र आरोन फिन्च तथा एबी डी भिलयर्सले अर्धशतक बनाए । पहिलो विकेटमा ९ ओभरमा ८१ रन जोडेका पाडिक्कल र फिन्चले क्रमशः ५४ र ५२ रन बनाए । पाडिक्कलले ४० बल खेली ५ चौका र २ छक्का तथा फिन्चले ३५ बल खेली ७ चौका र १ छक्का प्रहार गरे । डी भिलियर्सले २४ बल खेली ४ चौका र ४ छक्का प्रहार गर्दै अविजित ५५ रन बनाए । शिवम दुबे १० बलमा १ चौका र ३ छक्का प्रहार गरी २७ रनमा अविजित रहे । मुम्बईका ट्रेन्ट बोल्टले ४ ओभरमा ३४ रन खर्चेर २ र राहुल चाहरले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । अस्ट्रेलियन बलर जेम्स प्याटिन्सनले ४ ओभरमा ५१ रन खर्चन पुगे ।

मुम्बईले कप्तान रोहित शर्मालाई ८, क्विन्टन डी ककलाई १४, सूर्यकुमार यादवलाई शून्यमा गुमाएको थियो । तर पोलार्ड र किशनले नाटकीय हिसाबमा खेल पल्टाएका थिए । हार्दिक पाण्ड्येलाई १५ रनमा आउट गरेका एडम जाम्पाको आईपीएलमा सुरुआत सुखद हुन सकेन । उनले ४ ओभरमा ५३ रन खर्चन पुगे । उनको अन्तिम तथा टोलीको १७औं ओभरमा उनलाई पोलार्डले ३ छक्कासहित २७ रन प्रहार गरे । यहींबाट मुम्बई खेलमा फर्किन सुरु भएको थियो । पोलार्ड र किशनले १८औं ओभरमा युजभेन्द्र चाहललाई तीन छक्कासहित २२ रन प्रहार गरे ।

नवदीप सैनीले अन्तिम ओभरमा १२ रनमात्र खर्चेपछि बेंग्लोरले खेल पुनः उल्टाएको थियो । अन्तिम ओभरको तेस्रो र चौथो बलमा किशनले इशुरा उडानालाई छक्का प्रहार गरेपछि मुम्बईलाई अन्तिम दुई बलमा ५ रन चाहिन्थ्यो । पाचौं बलमा किशन ९९ रन बनाई बाउन्ड्री लाइनमा क्याच दिन पुगे ।

अन्तिम बलमा पोलार्डले चौका प्रहार गरेपछि स्कोर बराबर भएको थियो । किशनले ५८ बल खेली २ चौका र ९ छक्का प्रहार गरे । पोलार्ड २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरी ६० रनमा अविजित रहे । मंगलबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच खेल हुनेछ ।

प्रकाशित : आश्विन १३, २०७७ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?