कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेलकुद इतिहास खोज्ने काम

हिमेश

काठमाडौँ — यो त्यो समयको प्रसंग हो । जतिबेला राष्ट्रिय खेलकुद परिषद्को प्रचारप्रचार शाखाले साप्ताहिक रूपमा बुलेटिन निकाल्ने काम गर्थ्यो । त्यसलाई पत्रिकाका अफिस अफिस गएर वितरण गरिन्थ्यो । त्यतिबेलाका पत्रिका, विशेषतः साप्ताहिकले त्यसलाई कुनै न कुनै रूपमा ठाउँ दिन्थे ।

खेलकुद इतिहास खोज्ने काम

खेल पत्रकारिकताको जग त बसिसकेको थियो, तर त्यसमा त्यही परिषद्को प्रचारप्रसार शाखाकै हाबी हुन्थ्यो । समय पञ्चायत कालकै थियो, ०४६ भन्दा अगाडि नै ।

ठीक त्यही बेला दोस्रो पुस्तातिरका खेल पत्रकार मान्न मिल्ने महेन्द्र चालिसेले पनि प्रचारप्रसार शाखामा जागिर पाए । उनी त्यसअगाडि नै नयाँ करेन्ट र नेपाल पोस्ट जस्ता साप्ताहिक पत्रिकामा लेख्ने भइसकेका थिए । पछि नयाँ करेन्टलाई प्रतिबन्ध लगाइयो, व्यवस्था विरोधी लेख लेखेको आरोपमा ।

पञ्चायतको त्यो समय साताको एक दुई पत्रिकामाथि प्रतिबन्ध लाग्नु कुनै नौलो थिएन । त्यो नयाँ करेन्टसँग निहुँ खोजिनुको कारण रमेश विकलको विद्रोही पाराको लेख थियो ।

महेन्द्र तिनै साहित्यकार विकलका कान्छा छोरा हुन् । उनको पुस्ताले नेपाली खेल पत्रकारिताको इतिहासमा एउटा गुण लगाएको छ । त्यो हो, खेल पत्रकारको पहिलो संगठन स्थापना गर्ने काम । बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि नेपाल खेलकुद पत्रकार संघ गठन गरिएको थियो । त्यसका अध्यक्ष थिए, ईश्वरमान सिंह । त्यसमा सुशील शर्मा, प्रवीण गिरी, गोपाल बस्नेत, राजु सिलवाल, श्याम चित्रकार, योगेश उपाध्यायलगायतको नाम पनि थियो ।

त्यसमध्येका एक चालिसे लामो समय परिषद्मा टिकेनन् । राजनीतिक समीकरण फेरिएसँगै उनको पनि जागिर गयो । उनीसँग जोडिएको खास घटना भने ०४६ सालको आन्दोलन सुरु हुनु अगाडिको हो । त्यतिबेला खेलकुद पनि हेर्ने शिक्षा मन्त्रालयमा सहायक मन्त्री थिए, क्षेत्रप्रताप अधिकारी अनि परिषदका सदस्यसचिव भने इन्दुबहादुर शाही । त्यही बेला एकपल्ट उनीहरूलाई के लाग्यो भने नेपाली खेलकुदको इतिहास त लेखिएकै रहेनछ, अब त लेखिनुपर्छ ।

यसको जिम्मा पाए, तिनै चालिसेले । उनले यसका लागि काम सुरु गरे । पुराना खेलकुदसम्बन्धी किताब खोज्ने काम गरे । केही खेलाडीलाई व्यक्तिगत रूपमा भेटे पनि । यत्तिकैमा आन्दोलन सुरु भयो र अन्ततः पञ्चायती व्यवस्था आफै इतिहास भयो । महेन्द्रले जिम्मा पाएको काम पनि त्यहीं रोकियो । पछि त उनको त्यहीं जागिर गयो । त्यसपछि त उनलाई नेपाली खेलकुदबाट टाढिने बहाना भयो । त्यसको तीन दशकपछि उनले समाचारमा पढेछन्, नेपाली खेलकुदको इतिहास त अझै लेखिएको छैन ।

कोरोना भाइरस संक्रमणको महामारीबीच लकडाउन चलिरहेकै बेला परिषद्का अर्का पुराना सदस्य–सचिव आरबी राजा पनि रहेनन् । उनीबारे लेख्न क्रममै फेरि दोहोर्‍याएर भनियो, साँच्चै नेपाली खेलकुदको इतिहास त लेखिएकै छैन ।

नेपाली राष्ट्रिय फुटबल टिमको पहिलो कप्तान रहेका आरबी राजा पनि एकप्रकारले इतिहासमै बिलाए । चालिसेले ठीक त्यही बेला मनमनै भनेछन्, ‘होइन, मसँग नेपाली खेलकुदको केही न केही इतिहास त छ है ।’

भएछ के भन्दा उनले त्यो जमानामा परिषद्मा जागिर छँदा संग्रह गरेका टिपोट, तथ्यांक आदि उनले साँचेर नै राखेका थिए । अनि लकडाउन चल्दाचल्दै त्यसलाई पुस्तकको आकार दिए । नाम जुरेको थियो, ‘नेपालमा खेलकुदको इतिहास ।’ यसरी चालिसेले नेपाली खेलकुदप्रति दोस्रो पटक ठूलो गुण लगाएका छन्, इतिहास लेखेर । यसमा एक दर्जनभन्दा बढी खेल नेपालमा कसरी सुरु भयो भनेर लेखिएको छ । ०४६ अगाडिका केही तथ्यांक छन् यसमा ।


लेखक महेन्द्र चालिसे

नेपाली खेलकुदमा केन्द्रित भएर लेखिएका पुस्तक नै छैन भन्नुपर्ने स्थितिमा यो पुस्तक निस्कनु आफैंमा ठूलो उपलब्धि हो । तर समस्या के छ भने यो पुस्तकमा टिकेर ठ्याक्कै यस्तै हो भनेर दाबी गर्नसक्ने स्थिति भने छैन । त्यसै भनिएको होइन, इतिहास विधामा लेख्न सजिलो छैन । लेखकले पुस्तक तयार पार्नेक्रममा त्यसको आधार, स्रोत उल्लेख गर्न नै कन्जुस्याँइ गरे । पुस्तक तयार पार्ने क्रममा उनले यसअघि प्रकाशित के कस्तो पुस्तकबाट सहयोग लिइएको हो, त्यो पनि भनेका छैनन् ।

इतिहासको किताब इतिहासकै किताब जस्तो हुनुपर्छ, नत्र यो खाली टिपोटमै सीमित हुन्छ । ‘नेपालमा खेलकुदको इतिहास’ यस्तै यस्तै रह्यो । ‘फुट नोट’ हुन्न अनि सन्दर्भ ग्रन्थबारे कहींकतै उल्लेख हुन्न भने त्यसलाई इतिहासमा विश्वास गर्न सकिने पुस्तक मानिन्न । लेखकीय इमान्दारितामा शंका गर्ने ठाउँ हुन्छ । कुराकानीका क्रममा लेखक चालिसे के भन्छन् भने अब नयाँ पुस्ताले हो, नेपाली खेलकुदबारेको इतिहास लेख्ने । हो, अबको पुस्ताले इतिहास लेख्दा यो पुस्तकमा टिकेर लेख्न भने सकिने छ ।

अब मूल प्रश्न, के नेपाली खेलकुदबारे इतिहास अहिलेसम्म नलेखिएकै हो त ? होइन, धेरै लेखिएको छ । यसअघि पनि लेखिएका छन्, अहिले त लेख्ने क्रम झन् बढेको छ । खास–खास खेल नेपालमा कसरी सुरु भयो भनेर राम्रोसँग बुझ्न एउटा स्रोत गज्जब छ । त्यो हो, ०३८ सालमा भएको पहिलो राष्ट्रिय खेलकुदको समाप्तिमा निकालिएको पुस्तक । त्यो बेलाको चलनचल्तीको भाषामा लेखिएको त्यो किताबबाट धेरै जानकारी प्राप्त हुन्छ । अझ भन्ने हो भने यो पुस्तक अब्बल दर्जाको छ भन्दा हुन्छ ।

फेरि त्यो बेला हरेक वर्ष त्यस समय अवधिमा भएका सम्पूर्ण खेल गतिविधि समेटिएर पुस्तक निकाल्ने चलन थियो । राजा वीरेन्द्रको राज्याभिषेक पारेर पनि एउटा नेपाली खेलकुदबारे पुस्तक निस्केको थियो । खुबै मिहिनेत गरेर तयार पारिएको त्यस पुस्तकमा त्यो समयमै नेपालले सहभागिता जनाएका अन्तर्राष्ट्रिय प्रतियोगिताबारे उल्लेख गरिएको छ । अहिले यो पुस्तक उपलब्ध छैन । भनिन्छ, यसकै आधारमा ०३८ सालको राष्ट्रिय खेलकुदपछि सबै नतिजा समेटेर पुस्तक निस्केको हो । अनि त्यसकै आधारमा ‘नेपालमा खेलकुदको इतिहास’ तयार भएको हो ।

प्रकाशित : आश्विन १०, २०७७ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?