डच प्रशिक्षकमा डी बोएर- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डच प्रशिक्षकमा डी बोएर

एजेन्सी

हेग — डच फुटबल संघले नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा बुधबार फ्रान्क डी बोएरलाई नियुक्त गरेको छ ।

उनी डच टिमका लागि सर्वाधिक क्याप जित्ने तेस्रो क्रमका खेलाडी हुन् । उनले रोनाल्ड कोम्यानको स्थान लिनेछन् । कोम्यानले सिजनको सुरुमा बार्सिलोना जान डच टिमको जिम्मेवारी छाडेका थिए ।

सघले भनेको छ, ‘तत्काल लागू हुने गरेर उनले राष्ट्रिय टिम सम्हाल्ने छन् र उनकै नेतृत्वमा नेदरल्यान्ड्सले सन् २०२२ को विश्वकप छनोट खेल्नेछ ।’

सन् १९९० देखि २००४ सम्म डच टिमका प्रमुख खेलाडी रहेको डी बोएरलाई बायाँ खुट्टाका विशेषज्ञ डिफेन्डर मानिन्छ । सन् २००७ बाट उनले प्रशिक्षक जीवन सुरु गरेका थिए र पहिलोपल्ट सहयोगी प्रशिक्षकका रूपमा अयाक्स टिम सम्हाले ।

उनको प्रशिक्षक खेलजीवन भने उतारचढावपूर्ण छ । सन् २०१६ मा उनी इन्टर मिलानका प्रशिक्षक भए, तर ८५ दिनपछि नै उनी बर्खास्तगीमा परे । सन् २०१७ मा डी बोएर इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसका प्रशिक्षक नियुक्त भए, तर उनी त्यहाँ १० सातापछि नै बर्खास्त भए । त्यतिबेला प्यालेसले लिगका सुरुआती चार खेल लगातार गुमाएको थियो ।

प्रकाशित : आश्विन ९, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्

अख्तियारलाई लेखाले सोध्यो - ‘वाइडबडी र सेक्युरिटी प्रेसको अनुसन्धान कहाँ पुग्यो ?’

कृष्ण ज्ञवाली

काठमाडौँ — व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग ‘वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेसको अनुसन्धान कहाँ पुग्यो ?’ भन्दै जवाफ मागेको छ । समितिको बिहीबारको बैठकले वाइडबडी प्रकरण, सेक्युरिटी प्रेस खरिद र त्यससँग जोडिएको अडियो टेप प्रकरणको अनुसन्धान प्रगति विवरण मगाउने निर्णय लिएको हो । यी दुवै विषयमा समितिले अनुसन्धानका लागि अख्तियारलाई फाइल पठाएको थियो ।

‘आजको बैठकमा अख्तियारको कामकारबाहीबारे प्रश्न उठ्यो, हामीले नै उठाएको र पठाएको फाइलमाथि समेत अनुसन्धान कहाँ पुग्यो भन्ने अत्तोपत्तो भएन भन्ने सवाल उठेपछि विवरण मगाउने निर्णय गरेका हौं,’ समितिका सभापति भरतकुमार शाहले कान्तिपुरसित भने, ‘हामीले नै अध्ययन/छानबिन गरेर प्रतिवेदन पठाएका हुन्छौं, न मुद्दा चलाउनु छ, न मुद्दा चल्ने विषय होइन भनेर तामेलीमा राख्नु छ । के गरेको हो भनेर सोध्ने निर्णय भएको हो ।’

शुक्रबार नै अख्तियारमा पत्राचार गर्ने तयारी भएको समितिका सचिव एवं संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । वाइडबडी विमान खरिद प्रकरणमा लेखा समितिले अनियमितताको अंक नै किटान गरेर अख्तियारलाई प्रतिवेदनसहितको फाइल पठाएको थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भने लेखा समितिले गरिरहेको छानबिन अलपत्र छ । त्यसमा अख्तियारले पनि सँगसँगै छानबिन थालेको थियो ।

लेखा समितिले २०७५ पुस तेस्रो साता वाइडबडी विमान खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकाल्दै थप छानबिन र मुद्दा चलाउन अख्तियारलाई निर्देशन दिने निर्णय गरेको थियो । सदस्य राजन केसीको संयोजकत्वमा गठित उपसमितिले गलत लागत तयार पारेको, मूल्य समायोजनमा अनियमितता गरेको, अनावश्यक भ्रमणले नोक्सानी पारेको र तौल क्षमता घटाएकाले विमान खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको थियो ।

सोझै उत्पादकसँग खरिद नभएको, फर्जी कम्पनी खडा गरी शंकास्पद कारोबार गरेको, उत्पादन नम्बर बारम्बार फेरबदल गरेको, नाटकीय सम्झौताबाट भुक्तानी रकम नखुलाइएको जस्ता प्रमाण भेटिए पनि अख्तियारले झन्डै दुई वर्ष अवधिमा यसबारे कुनै कारबाही गरेन ।

लेखाले फाइल पठाएको एक महिनाभित्रै अख्तियारले विस्तृत छानबिन सुरु गरेको सूचना सार्वजनिक गर्‍यो । अख्तियारले त्यतिबेला ‘प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा केही गम्भीर प्रश्नहरू खडा भएको देखिएको’ भन्दै विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको थियो । त्यतिबेला अख्तियारले नेपाल वायुसेवा निगमबाट केही फाइलहरू मगाइएको थियो । इन्जिनियरिङ, कानुन र लेखा समूहका अधिकृतको टोली बनाएर अनुसन्धान सुरु भएको थियो । अख्तियारका निवर्तमान प्रमुख आयुक्त नवीन घिमिरेले नै प्रत्यक्ष निगरानीमा भएको छानबिन उनको कार्यकालभर अघि बढ्न सकेन ।

दमाम, सोल, सिड्नी, टोकियो र हङकङजस्ता मध्यम दूरीका गन्तव्यमा सोझै उडान थाल्ने भनेर नेपाल वायुसेवा निगमले २०७३ असोज ८ गते वाइडबडी विमान खरिदको योजना स्वीकृत गरेको थियो । हालसम्म पनि यसले ती गन्तव्य टुंग्याएको छैन भने नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषबाट लिएको ऋणको किस्तासमेत तिर्न सकेको छैन । २०७५ साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा १ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ नोक्सानी बेहोर्नुपरेको थियो ।

२०७५ साल चैतमा नै महालेखा परीक्षकको कार्यालयले वाइडबडी विमान खरिदमा भएका थप अनियमितताका विवरण सार्वजनिक गर्‍यो । महालेखाका अनुसार, बिलबिजकको निश्चित ढाँचाबेगर खाली कागजमा ‘हाइफ्लाई एक्स आयरल्यान्ड लिमिटेड’ र उसको ठेगाना उल्लेख गरी बिल भनी सही गरी रकम उल्लेख गरेको कागजलाई बिल मानी सोही आधारमा भुक्तानी गरेको थियो । नेपाल वायुसेवा निगमले आकस्मिक रूपमा खडा गरिएको बिचौलिया ‘हाइफ्लाई एक्स’ नामक कम्पनीलाई दुई वटा विमानको २३ अर्ब २० करोड ८३ लाख १ हजार ८८२ रुपैयाँ भुक्तानी गरेको थियो । विमान निर्माता एयरबस कम्पनीले निगमलाई पत्र लेखी रकम भुक्तानी पाएको भनी जानकारी गराएको निगमको दाबी थियो । तर त्यसमा कति रकम भुक्तानी पाएको हो, खुलेको छैन ।

अख्तियारले २०७५ साल चैतमा नै विमान खरिद प्रक्रियामा जोडिएका ५ वटा कम्पनीहरूलाई बयानका लागि सूचना जारी गरेको थियो । सूचनामा आयरल्यान्ड डब्लिनको हाइफ्लाई एक्स लिमिटेड, अमेरिकाको एएआर इन्टरनेसनल, जर्मनीको जर्मन एभिएसन क्यापिटल, पोर्चुगलको हाइफ्लाई एरोज पोर्चुगल र जर्मनीकै नटर्न रोज फुलब्राइट थिए । ती कम्पनी र तिनका प्रतिनिधिले अख्तियारमा बयान दिए कि दिएनन् भन्ने हालसम्म खुलेको छैन । गत माघमा फ्रान्सको एयरबस कम्पनीले नेपाल वायुसेवा निगमलाई विमान बिक्रीका क्रममा करिब साढे ४ करोड रुपैयाँ घूस दिएको स्विकारेको खुलासा भयो । उसले ३ लाख ४० हजार युरो रकम खर्च गरेको स्विकारेको थियो । १८ लाख डलरको कुल वित्तीय प्रतिबद्धतालाई संकेत गर्दै सम्झौतामा सो भुक्तानी विदेशी सरकारी अधिकारीहरूका लागि घूसका रूपमा प्रयोग भएको उल्लेख थियो ।

यो विवरण सार्वजनिक भए पनि अख्तियारले पुरानो न्यारोबडी र नयाँ वाइडबडी जहाज खरिदमा भएको अनियमितताको छानबिन टुंग्याउन सकेन ।

एयरबसले दिएको घूस सोझै नेपाल ल्याएको नभई अन्य कुनै तेस्रो मुलुक प्रयोग गरेर विभिन्न माध्यमबाट प्रयोग भएको हुन सक्ने अनुमान थियो । सन् २००९ मा दुबईमा भएको एयर शो मा नेपाल वायुसेवा निगमका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले वाइडबडी र न्यारोबडीका एयरबस विमान खरिदको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । उनीमाथि ७ लाख ५० हजार डलर बैना भुक्तानीको आरोपमा अख्तियारले लगाएको भ्रष्टाचार मुद्दा सर्वोच्चले सफाइ दिएको थियो ।

घूस प्रकरण तामेलीको प्रयास

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटासमेत जोडिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणलाई अख्तियारले बारम्बार तामेलीमा राख्ने प्रयास गरेको थियो । यो प्रकरणमा बाँस्कोटा विवादमा मुछिएको विवादास्पद अडियो टेपको फाइलसमेत थियो ।

अख्तियारका निवर्तमान प्रमुख आयुक्त नवीन घिमिरेले बारम्बार फाइल तामेलीमा राख्ने प्रयास गरे पनि अन्तिममा सफल भएनन् । अख्तियारबाट बिदा हुनुभन्दा केही दिनअघि मात्रै पनि उनले फाइल तामेलीमा राख्ने योजनाका साथ सार्वजनिक सूचना निकाल्न लगाएका थिए । अख्तियारले अडियो फाइल सनाखत हुन नसकेको भन्ने आधार देखाएर फाइल तामेलीमा राख्ने तयारी गरेको थियो । अख्तियारले गत भदौ १७ गते गोरखापत्रमा सातदिने सूचना निकालेको हो । त्यो अवधिभित्र अडियो टेप रेकर्ड गर्ने र त्यतिबेला जापान रहेका विजयप्रकाश मिश्र अख्तियारमा हाजिर नभए फाइल तामेलीमा पठाउने तयारी थियो । चौतर्फी विरोधपछि भने तामेलीको योजना हाल स्थगित भएको छ ।

सम्बन्धित समाचार :

प्रकाशित : आश्विन ९, २०७७ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×