कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितको रिकभरी देखेर अचम्मित छु : डा. पाण्डे

कुशल तिमल्सिना

काठमाडौँ — सडक दुर्घटनामा परेर गम्भीर घाइते भएर काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनको उपचारमा आएको सुधारले आफू नै अचम्मितमा परेको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले बताएका छन् ।

ललितको रिकभरी देखेर अचम्मित छु : डा. पाण्डे

गत आइतबार कञ्चनपुरको झलारीमा सडक दुर्घटनामा परेका ललितलाई धनगढी र नेपालगन्जमा सुरुआती चरणको उपचारपछि सोमबार ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । छाती, फोक्सो र कलेजोमा समेत चोट देखिएकाले चिकित्सकले उनको शल्यक्रिया गर्न हतार गरेका थिएनन् ।

शरीरभित्रको चोटमा सुधार देखिएपछि बिहीबार उनको शल्यक्रिया भएको थियो । अस्पतालका निर्देशक तथा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाण्डे नेतृत्वको टोलीले ५ घण्टा लगाएर शल्यक्रिया गरेको हो ।

ललितको दायाँ तिघ्राको हड्डी भाँचिएको छ । दायाँ हातको नाडीको एउटा हड्डी भाँचिएको र अर्को फुस्किएको छ । दायाँ हातकै हत्केलामा एकभन्दा बढी ठाउँका हड्डी टुटेको छ भने बायाँ खुट्टाको कुर्कुच्चा र शरीरका अन्य भागमा गम्भीर चोट लागेको अस्पतालले जानकारी दिएको छ ।

‘आज बिहानसम्ममा उनको स्वास्थ्य अवस्था निकै राम्रो भइसकेको छ । हाम्रो उपचार पद्धति र उनको आत्मबलले रिकभरीमा सहयोग गरिरहेको छ,’ आइतबार कान्तिपुरसँग डा. पाण्डेले भने, ‘यो एउटा असामान्य दुर्घटना हो । यस्तो केसमा बिरामी निको हुन धेरै समय लाग्छ । तर यस्तो दुर्घटनामा यति छिट्टै रिकभरी भएको यो पहिलो केस होला ।’

ललितको हकमा चाहिँ छिटो रिकभरी हुनुको कारण के त ? डा. पाण्डे भन्छन्, ‘उहाँको दुर्घटना भएको दिनदेखि नै राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र उहाँको पत्नी प्राप्तिले निकै राम्रो हेरचाह गरिरहनुभएको छ । क्रिकेट खेलाडी संघसहित आफ्ना साथीभाइ, टिमका सदस्य तथा सिनियरको साथ र हौसलाले ललितलाई प्रोत्साहन मिलेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रमेश सिलवालज्यूले पनि उसको स्वास्थ्यमा चासो दिनुभयो । सायद यही शुभेच्छुकको कारणले हो कि ?’

यसअघि राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर तथा थ्रीस्टार क्लबका कप्तान विक्रम लामा, राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर जमुना गुरुङ, राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सिपोरा गुरुङको सफल उपचार गरिसकेका डा. पाण्डेले ललित एक वर्षभित्र क्रिकेट खेल्न तयार हुने दाबी गरेका छन् ।

‘हामीले अत्याधुनिक प्रविधिबाट उपचार गरी सम्भव भएसम्मका सबै प्रयास गरेका छौं । बढीमा एक वर्षसम्म मैदान फर्काउने लक्ष्य छ । मैले पनि यसमा धेरै मिहिनेत गरिरहेको छु । हामीले ललितको फिजियोलाई टिम तयार गरिसकेका छौं । अहिले सामान्य थेरापी सुरु भएको छ । यसलाई एक–दुई दिनपछि क्रमशः बढाउँदै लानेछौं,’ निर्देशक डा. पाण्डेले थपे ।

नेपाल सन् २०१८ को अगस्टमा नेदरल्यान्ड्स भ्रमणबाट एकदिवसीय अन्तर्राष्ट्रियमा प्रवेश गरेको थियो । नेदरल्यान्ड्ससँगको उक्त शृंखलाको दोस्रो खेलमा नेपाललाई एकदिवसीयमा पहिलो जित दिलाउनेक्रममा देब्रहाते तीव्र बलर ललितले घरेलु टोलीका प्रमुख खेलाडी बेन कुपरसहित विकेटकिपर/ब्याट्सम्यान स्कट एडवार्डसलाई आउट गरेका थिए । सोमपाल कामीसँग नयाँ बल लिएर आएका ललितले सोक्रममा ९ ओभरमा ४३ रन खर्चेका थिए ।

पछिल्लो समय उनी चोटका कारण राष्ट्रिय टोलीबाहिर रहेका थिए । ललितले लिस्ट ‘ए’ मा दुई खेल खेलेका छन्, दुवै २०१७ मा यूएईविरुद्ध अबुधाबीमा थियो । यही खेलबाट ललितले राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए ।

प्रकाशित : आश्विन ५, २०७७ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?