कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रिकेटर ललितको उपचार गर्न ट्रकधनीले दिए २ लाख

कञ्‍चनपुर — मिनी ट्रकको ठक्करबाट आइतबार घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । उनी चढेको मोटरसाइकललाई ठक्कर दिने ट्रकका मालिक तेजसिंह भाटले तत्कालका लागि उपचार खर्चबापत २ लाख रुपैयाँ उपलब्ध गराएका हुन् ।

क्रिकेटर ललितको उपचार गर्न ट्रकधनीले दिए २ लाख

ट्रक मालिकले कञ्चनपुर क्रिकेट संघका अध्यक्ष वीरेन्द्र चन्दलाई उक्त रकम बुझाएका छन् ।

‘ट्रक मालिकले हाललाई उपचार खर्च भनेर बुधबार २ लाख रुपैयाँ उपलब्ध गराएका छन्, अध्यक्ष चन्दले भने, ‘उक्त रकम क्रिकेटर ललितको उपचारमा संलग्न आफन्तले पाउने गरी क्रिकेटका फिजियो विक्रम न्यौपानेको खातामा बुधबारै पठाइसकिएको छ ।’ चन्दका अनुसार ललितको उपचारमा ट्रक मालिकसॅंग कम्तीमा ५ लाख जति माग गरिएको भए पनि बाँकी रकमबारे पछि छलफल गर्ने बताउँदै हाललाई २ लाखमात्रै उपलब्ध गराएका हुन् ।

क्रिकेटर ललितको ग्रान्डी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । बाँकेको कोहलपुरबाट काठमाडौं लगेदेखि नै उनलाई आईसीयूमा राखेर उपचार भइरहेको उनकी पत्नी ममताले जानकारी गराएकी छन् । उनका अनुसार हातखुट्टामा तीन/चार ठाउॅंमा फ्याक्चर भएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ ।

आइतबार साँझ महेन्द्रनगरबाट झलारीतर्फ गइरहेका ललित सवार म२प ४७०५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको से१ख १३२४ नम्बरको मिनी ट्रकले झलारी बजारमै ठक्कर दिएको हो । घाइते ललितलाई धनगढीमा सामान्य उपचारपछि कोहलपुर लगिएको थियो । शल्यक्रिया गर्नुपर्ने भएकाले उनलाई कोहलपुरबाट काठमाडौं लगिएको हो ।

प्रकाशित : आश्विन १, २०७७ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?