३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

यो आईपीएल मेरा लागि धेरै महत्त्वपूर्ण हुनेछ  : सन्दीप लामिछाने

‘अर्को वर्षको आईपीएलमा यथावत् रहन मैले राम्रो प्रदर्शन दिनुपर्ने हुन्छ । त्यसैले म सामान्य, नम्र बनेर आफ्नो प्रदर्शन सुधार्नमा ध्यान दिइरहेको छु ।’

काठमाडौँ — नेपाली स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न दुबई पुगिसकेका छन् । सन्दीप सेप्टेम्बर १४ (सोमबार) दुबई पुगिसकेका छन् । दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबसँग आइतबार दुबईमा पहिलो खेल खेल्दै छ ।

यो आईपीएल मेरा लागि धेरै महत्त्वपूर्ण हुनेछ  : सन्दीप लामिछाने

सन्दीपले सुरुका ६ दिन दुबईमा क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । कोभिड–१९ को प्रोटोकलअनुसार यूएईमा तीन पटक परीक्षण अनिवार्य छ । यूएईमा पुगेपछि एयरपोर्टमा पहिलो परीक्षण, त्यसपछि ६ दिने आइसोलेसनको पहिलो, तेस्रो र छैटौं दिन परीक्षण गर्नुपर्ने प्रावधान छ । यी सबै परीक्षण पार गरेपछि मात्र प्रशिक्षण सुरु गर्न र खेल्न पाउने प्रावधान छ । सन्दीपको यी सबै परिक्षण शनिबारमात्र सकिनेछ ।

यसै सन्दर्भमा सन्दीप लामिछानेसँग कान्तिपुरका लागि विनोद पाण्डेले गरेको कुराकानीको सम्पादित अंश

यसपालि सीपीएलमा राम्रो प्रदर्शन भयो, यसको कारण के जस्तो लाग्छ र यसले आईपीएलमा कस्तो प्रभाव पार्न सक्छ ?

सीपीएल एकदमै राम्रो भयो, म यसमा निकै खुसी छु । कोरोनाको महामारीको बेलामा आउने प्रतियोगितालाई मैले आफूलाई मानसिक रूपमा निकै तयार बनाएको थिएँ । पहिला लगातार भ्रमण र खेलहरूमा निकै तनाव हुन्थ्यो ।

त्यो सायद त्यो तनाव कम भएर फ्रेस सुरुआत गर्न सकें । सीपीएल जानुअगाडि नेपालमा मैले मेरो अन्तिम पत्रकार सम्मेलनमा एउटा फ्रेस सुरुआत हुनेवाला छ, केही राम्रो नै हुन्छ भनेको थिएँ । यही कारणले पनि हुनसक्छ मैले सीपीएलमा राम्रो प्रदर्शन दिन सकें । आईपीएलमा पनि निकै आत्मविश्वाससाथ जाँदैछु । सकेसम्म आफ्नो तर्फबाट दिने सबै प्रयास म गर्नेछु र सीपीएलभन्दा राम्रो प्रदर्शन गर्न खोज्ने छु ।

भारतको विकेटको तुलना गर्दा यूएईको विकेटले बलरलाई सहयोग गर्ने गरेको छ, यसमा कति सहमत हुनुहुन्छ ?

निश्चय पनि भारतको विकेट तुलनामा यूएईको विकेट बलरलाई नै सहयोग गर्छ । भारतमा मैले त्यति धेरै खेलेको छैन, आईपीएलमा त्यही ९ खेल खेलेको हो । यूएईमा चाहिँ मैले धेरै खेल खेलेको छु ।

यूएईमा धेरै खेलेको हुनाले विकेट र कन्डिसनबारे थाहा छ । हुन त भारतको बारेमा पनि थाहा छ, तर यूएईको विकेट चाहिँ स्पिनरलाई सहयोग गर्नेखाले छ । त्यसमा पनि आईपीएल यूएईको तीन मैदानमा मात्र खेलिरहेका छौं । पछि गएर विकेट स्लो हुँदै जान्छ र स्पिनरलाई फाइदा गर्दै जान्छ ।

दिल्लीमा स्तरीय स्पिनरहरू छन्, त्यसमा तपाईं आफ्नो सम्भावना कत्तिको देख्नुहुन्छ ?

दिल्लीमा सबै एकदमै राम्रा स्पिनरहरू छन् । त्यसले मलाई केही अप्ठ्यारो पार्नेवाला छैन यदि म राम्रो खेल्न सक्षम छु भने । म खेल्न तयार छु । टिमको एउटा योजना हुन्छ र म त्यसैअनुरूप हिँड्नुपर्छ । कन्डिसन र आउने क्षणहरूमा धेरै कुरा भर परेको हुन्छ, कुन खेलाडी कति बेला खेल्छ भनेर ।

दिल्लीले उपाधि नै जित्ने लक्ष्य बनाएको छ, त्यसमा आफूलाई कहाँ देख्नुहुन्छ ?

टिमलाई हेर्नुहुन्छ भने दिल्लीको यो अहिलेसम्मकै उत्कृष्ट टोली हो । लाइनअप हेर्ने हो भने पनि राम्रा ब्याट्सम्यान, राम्रा तीब्र गतिका बलर र स्किलफुल स्पिनर पाउनुहुन्छ । निकै सन्तुलित टोली छ । त्यसैले यो दाबेदार टोली बनेको छ धेरैका लागि ।

मलाई पनि यही लाग्छ । मैले आफूलाई एउटा स्पिनरका रूपमा जिम्मेवारी लिएर नै अगाडि बढिरहेको छु । विश्वभरका जति पनि फ्रेन्चाइज लिगमा मैले खेलेको छु, त्यो अनुभव बोकेर आईपीएलमा खेल्नु छ 

दिल्लीसँग तपाईंको सम्झौतामा यो तेस्रो र अन्तिम वर्ष हो, त्यसैले आउँदो सिजनका लागि यो आईपीएलको महत्त्व कति छ जस्तो लाग्छ ?

दिल्लीसँग सम्झौताअनुसारको मेरो अन्तिम वर्ष हो, यो यात्रा निकै रमाइलो भयो । आउने सिजनको आईपीएलका लागि पनि यो आईपीएल मेरा लागि धेरै महत्त्वपूर्ण हुनेछ । अर्को वर्षको आईपीएलमा यथावत् रहन मैले राम्रो प्रदर्शन दिनुपर्ने हुन्छ । त्यसैले म सामान्य, नम्र बनेर आफ्नो प्रदर्शन सुधार्नमा ध्यान दिइरहेको छु ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र ३१, २०७७ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?