क्रिकेट खेलाडी भण्डारीलाई थप उपचारका लागि काठमाडौ‌ं ल्याइयो- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रिकेट खेलाडी भण्डारीलाई थप उपचारका लागि काठमाडौ‌ं ल्याइयो

रासस

काठमाडौँ — दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा परेका भण्डारीको थप उपचार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा हुने भएको छ ।

दुर्घटनामा घाइते भएका क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई थप उपचारका लागि ग्राण्डी अस्पतालमा ल्याइँदै तस्बिर : धिरेन्द्र साउद

उनलाई केही बेरअघि बाँकेको कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमार्फत ग्राण्डी ल्याइएको हो ।

धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनिट्रकले आइतबार साँझ कञ्चनपुरको झलारी बजारमा भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । भण्डारीको दाहिने खुट्टा र दाहिने हात भाँच्चिएको छ । भण्डारीको छाती र अन्य भागमा समेत चोट भएकाले थप उपचारका लागि काठमाडौं ल्याउनुपरेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का बासिन्दा भण्डारी महेन्द्रनगरबाट घर फर्किँदा दुर्घटनामा परेका हुन् । मोटरसाइकलको पछाडि बसेका करन ठगुन्ना भने सामान्य घाइते भएका छन् ।

दुर्घटनालगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो । उनलाई राति नै कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज लगिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी विनोद भण्डारीले जानकारी दिए । ठक्कर दिने मिनीट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक घटनालगत्तै फरार रहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुनुहुन्छ । पछिल्लो समय उनी नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका थिए । भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी हुन् । उनले सन् २०१७ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । भण्डारीले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय खेल खेलेका थिए । त्यसअघि उनले नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसकेका छन् ।

प्रकाशित : भाद्र २९, २०७७ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्

समयमै मल आयात नगर्ने शैलुङ र होनिकोलाई कालोसूचीमा राख्‍न पत्रचार

राजु चौधरी

काठमाडौँ — कृषि सामग्री कम्पनीले शैलङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिलाई कालोसूचीमा राख्‍न पत्रचार गरेको छ । यी दुई कम्पनीले समयमै मल आयात नगरेपछि कृषी सामग्रीले सोमबार सार्वजनिक खरिद अनुगमन कार्याललाई कालोसूचीमा राखि आवश्यक कारबाही गर्न पत्रचार गरेको हो ।

‘सार्वजनिक खरिद ऐन अनुसार शैलुङ र होनिकोलाई कालोसूचीमा राख्‍न पत्रचार गरेका छौं,’ कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्‍चालक नेत्रबहादुर भण्डारीले भने ।

शैलुङ कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हु्न् । होनिको कम्पनीका ठेकेदार हुमनाथ कोइराला कांग्रेस निकट व्यवसायी हुन् । सस्तो रकम कबोल गरेर ठेक्का पारेका यी कम्पनीहरुले मल आयात नै गरेनन् ।

शैलुङ र होनिकोले २५/२५ हजार टन युरिया आयात गर्न ठेक्का पाएका थिए । सम्झैता अनुसार भदौ २० गतेसम्म मल नल्याएपछि कृषिले दुवै कम्पनीको ठेक्का रद्द गरि धरौटी रकम जफत गरिसकेको छ । ठेक्का रद्द गरिएको एकसाता पछि कालोसूचीमा राख्‍न पत्रचार गरेको हो ।

‘शैलुङ र होनिको दुवै सप्लायर्सले सम्झैता बमोजिमको कार्य समयमा नगरेकाले सार्वजनिक खरिद ऐन बमोजिम कालोसूचीमा राखि कारबाही गर्नुपर्ने भएकाले आवश्यक कागजात यसै पत्रसाथ सलग्‍न राखी पठाइएको व्यहोरा अनुरोध छ,’ कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पठाएको पत्रमा भनिएको छ ।

होनिकोले ७७ लाख ४७ हजार ५ सय अमेरिकी डलरमा २५ हजार मल आयातको सम्झौता गरेको थियो । एक डलर बराबर १ सय २० रुपैयाँ मान्दा यो रकम ९२ करोड ९७ लाख रुपैयाँ हो । होनिकोले त्यसको ५ प्रतिशत हुने ४ करोड ६४ लाख ८५ हजार रुपैयाँ धरौटी राखेको थियो ।

शैलुङले ८० लाख ६ हजार २ सय ५० अमेरिकी डलरमा २५ हजार टन आयात गर्ने सम्झौता गरेको थियो । उही विनिमय दरमा हिसाब निकाल्दा यो रकम ९६ करोड ७ लाख ५० हजार रुपैयाँ हो । शैलुङले ४ करोड ८० लाख रुपैयाँ धरौटी राखेको थियो । दुवैले ठेक्का पाएको रकम जोड्दा एक अर्ब ८९ करोड रुपैयाँ हुन्छ । दुवैको धरौटी रकम ९ करोड ४४ लाख रुपैयाँ हुन्छ । कृषिले ९ करोड ४४ लाख रुपैयाँ जफत गरेको हो । सार्वजनिक खरिद ऐन अनुसार, तोकिएको काम पुरा नगर्ने बोलपत्रदर्ता(सप्लायर्स)को धरौटी जफत गरेर मात्रै पुग्दैन । काम गर्न बाँकी रकम समेत असुल्नुपर्छ ।

प्रकाशित : भाद्र २९, २०७७ १८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×