लहर खेलमैदान निर्माणको

विप्लव भट्टराई

इलाम — ग्रामीण क्षेत्रमा पनि फुटबलका ठूला प्रतियोगिता सञ्चालन गर्ने इलामको पुरानै चलन हो । ग्रामीण क्षेत्रमा हुने यस्ता प्रतियोगिता मैदानको अभावमा सेभेन ए साइडसम्म खेलाइन्छ । फुटबल मोहकै कारण पछिल्लो समयमा गाउँगाउँमा अन्तर्राष्ट्रिय साइजअनुसारकै खेलमैदान निर्माण गर्ने लहर चलेको छ ।

लहर खेलमैदान निर्माणको

सन्दकपुर ५ जमुनामा खेलमैदान निर्माण गर्न गाउँपालिकाले २४ रोपनी जमिनको व्यवस्थापन गरिदियो । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा अन्य खेलका लागि पनि प्रयोग गर्न सकिने गरी रंगशाला निर्माणको काम अघि बढाइसकेको छ ।

मैदान निर्माणकै लागि समाजसेवी तोयानाथ भट्टराईले निःशुल्क जग्गासमेत प्रदान गरेका छन् । बाँकी जमिन भने खरिद गरिएको हो । ढापपोखरी नजिकै रहेको जमिन गाउँपालिकाको मूल्यांकनमा प्रतिरोपनी १ लाख ५० हजार रुपैयाँ पर्छ । भट्टराईले गजाधर धनमाया भट्टराई रंगशाला निर्माणका लागि १५ लाख रुपैयाँ लिएर जमिन प्रदान गरे । ‘गाउँपालिकाकै मूल्यांकनअनुसार मैले १० रोपनीबराबरको रकम लिएको हुँ,’ भट्टराईले भने, ‘गाउँमा खेलकुदका ठूला प्रतियोगिता सञ्चालन गर्दै खेलाडी उत्पादन गर्ने र यस क्षेत्रको पर्यटन विकासमा पनि सहयोग पुगोस् भन्ने उद्देश्य हो ।’ नजिकै रहेको ढापपाखेरी, जैविक विविधताले भरिएको हाँगेथाम, रेडपाण्डाको बासस्थान रहेको चोयाटारलगायत महत्त्वका क्षेत्रहरू रहेकाले यो खेलमैदानलाई पर्यटकीय हिसाबले अर्थपूर्ण हुने मानिएको छ ।

‘यस क्षेत्रमा राष्ट्रियस्तर प्रतिस्पर्धा गर्ने खेलाडी पनि जन्मिएका छन्,’ सन्दकपुर गाउँपालिका ५ जमुनाका वडाध्यक्ष जितबहादुर साँवाले भने, ‘मैदान बनेपछि पर्यटन विकास र नयाँपुस्तालाई खेल कौशल सुधार्न थप सहज हुने ठानेर हिम्मत गरेका हौं ।’

जमिन र मैदान निर्माणका लागि खेलप्रेमीले आर्थिक सहयोगसमेत प्रदान गरिरहेका छन् । फाकफोकथुम ४ फुएतप्पाको लिम्बूगाउँका बासिन्दा पनि के कम । बालबालिका र युवा खेल्न चाहेर पनि टाढा पुग्नुपर्ने भएपछि वर्षौदेखि गाउँठाउँमा नै खेलमैदानको आवश्यकता स्थानीयले महसुस गरेका थिए । कतै सरकारी निकायबाट सहयोग नपाएपछि उनीहरू घरलौरी चन्दा संकलन गरेर खेलमैदान निर्माणमा जुटेका हुन् । खेलमैदानको अभाव परिपूर्ति गर्न स्थानीय फुङवा युवा समूहको नेतृत्वमा सहयोग संकलन गरिएको छ । ‘नजिकै मैदान नभएकाले यहाँका प्रतिभा पनि मौलाउन पाएनन् भने स–साना बालबालिकाले पनि खुला ठाउँमा रमाउने अवसर गुमाए,’ समूहका सचिव दीपक योङहाङले भने, ‘गाउँका सबैको चाहना मैदान निर्माण गर्ने भएकाले रकम जुटाउन सहज भयो ।’

उनीहरूबाट गच्छेअनुसार १ हजारदेखि २० हजार रुपैयाँसम्म रकम संकलन गरिएको हो । चन्दा र देउसीभैलोवाट संकलित रकमले ६ रोपनी जग्गा खरिद गरी ‘चासोक तङनाम खेलमैदान’ निर्माण गरिएको छ । ६ लाख ७२ हजार रुपैयाँमा जग्गा खरिद गरिएको हो ।

जिल्लाका अन्य क्षेत्रमा पनि नयाँ मैदान बनाउने र पुरानोलाई विस्तार र व्यवस्थित गर्ने क्रम बढेको छ । पूर्वको चर्चित गजुरमुखी धाममा नजिकै इलेभेन ए साइडको मैदान निर्माण गरिएको छ । स्थानीयको सहभागितासँगै माङसेपुङ गाउँपालिकाको सहयोगमा नयाँ मैदान निर्माण गरिएपछि प्रतियोगिता आयोजना गर्न सहज भएको छ ।

सूर्योदय नगरपालिकाको करफोक खेलमैदानलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा व्यवस्थित गरिँदै छ । इलाम नगरपालिकाको राजदुवालीमा पनि विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्ने उद्देश्यले मैदान निर्माण भइरहेको छ । सन्दकपुर गाउँपालिकाको देउराली, माङसेपुङ गाउँपालिकाको इभाङ, लारुम्बा, माइजोगमाई गाउँपालिकाको नयाँबजारलगायतमा पनि मैदान निर्माण कार्य भइरहेको छ ।

प्रकाशित : भाद्र २८, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?