आर्सनलको विजयी सुरुआत, फुलहम सजिलै पराजित- खेलकुद - कान्तिपुर समाचार

आर्सनलको विजयी सुरुआत, फुलहम सजिलै पराजित

एजेन्सी

लन्डन — आर्सनलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा उत्साहवर्धक सहज जित निकालेको छ । यसका लागि उसले यसै सिजन प्रियिमर लिगमा उक्लेको फुलहमलाई ३–० ले हरायो र पूरा तीन अंक बटुल्यो ।

आर्सनलका लागि एलेक्जान्डर लेकाजेटले आठौं मिनेटमा सिजनकै पहिलो गोल गरे । त्यसयता ग्याब्रिएल र पिएरे एमिरिक एबमेयाङले १/१ गोल गरे । डेब्युमा ग्याब्रिएलले ४९ औं मिनेटमा गोल गरे भने एबमेयाङले ५७ औं मिनेटमा तेस्रो गोल थपे । मिखेल आर्टेटा व्यवस्थापकमा आएयता आर्सनलको प्रदर्शन सुधारतर्फ अग्रसर छ ।

प्ले अफ फाइनलबाट इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा आएको फुलहमको घरेलु मैदान बेहोरेको हारपछि उसले पूरा सिजन संघर्ष गर्नु पर्ने देखाएको छ । दुई वर्ष अगाडि पनि माथि उक्लेको फुलहम त्यही सिजन फेरि रेलिगेसनमा परेको थियो ।

प्रकाशित : भाद्र २७, २०७७ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सन्तोषजनक: पर्यटनमन्त्री

दीपक परियार

पोखरा — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सन्तोषजनक भएको बताएका छन् ।

निर्माणाधिन विमानस्थलको अनुगमन गर्न शनिबार पोखरा आएका उनले सन् २०२१ को जुनभित्र सकाउने लक्ष्य भेट्ने गरि काम भइरहेको बताए ।

‘पहिले लक्ष्यभन्दा ६ महिना अगावै सकिने अनुमान थियो । कोभिडका कारण कतिपय उपकरण र कामदार आउन ढिलाइ भयो,’ उनले भने, ‘अहिलेको कामलाई हेर्ने हो भने लक्ष्यभित्रै सकिने अवस्था छ ।’

अन्तर्राष्ट्रिय विमानस्थल प्रमाणीकरण गर्न २–३ महिना लाग्‍ने भएकाले सन् २०२१ भित्रमै पोखराबाट अन्तर्राष्ट्रिय हवाइ उडान सुरु हुने उनको दाबी छ । ल्यान्डफिल साइट हटाउन पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारसँग समन्वय गरेर काम अगाडि बढाउने उनले बताए । विमानस्थल पूर्व रहेको अग्लो डाँडा काट्न वन मन्त्रालयसँग समन्वय गरेर काम अगाडि बढाइने उनको भनाइ छ । उनले भने, ‘राष्ट्रिय गौरवका आयोजनामध्ये यो छिट्टै सम्पन्न हुने मध्यमा पर्छ ।’

निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन । तस्बिर : दीपक परियार/कान्तिपुर

आयोजना प्रमुख विनेश मुनकर्मीले २ सय चिनियाँ कामदार उतै रोकिएको बारे मन्त्रीलाई ध्यानाकर्षण गराए । ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले नयाँ कामदार ल्याउन चाहे पनि सरकारको भिसा नीतिले अप्ठेरो पारेकाले सहजीकरण गरिदिन उनले मन्त्रीलाई आग्रह गरे । विमानस्थललाई चाहिने उपकरण भन्सारमा रोकिने समस्या भएकोले त्यसको समाधानका लागि समेत पहल गरिदिन उनले मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

विमानस्थलको हाल ६४ प्रतिशत काम सकिएको छ । रनवे, एप्रोन, पाइपलाइन, टयाक्सी वे, ट्रान्सफर्मर, विद्युत पाइपलाइनका काम सकिएका छन् । एक्सेस रोड र टर्मिनल बिल्डिङ अन्तिम चरणमा पुगेका छन् । १४ भवनको संरचना बनेर फिनिसिङको चरणमा छन् ।

प्रकाशित : भाद्र २७, २०७७ १८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×