कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘क्रिकेट सम्राट’ सँगको त्यो साइनो

नेपालमा पनि यसको ठूलै प्रभाव थियो भन्न सकिन्छ । काठमाडौंको आरएनएसीदेखि जनकपुरको रामानन्द चोकसम्म र झापाको मेची रंगशालादेखि नेपालगन्जको मंगलप्रसाद माविको क्रिकेट मैदानसम्म क्रिकेटका व्यक्तिलाई ‘क्रिकेट सम्राट’ ले तानेको थियो ।
विनोद पाण्डे

काठमाडौँ — विश्व स्वास्थ्य संगठनले कोभिड–१९ बाट पाठ सिकेर अर्को महामारीका लागि तयार हुनुपर्ने बताउनुअघि नै भारतीय क्रिकेट म्यागेजिन ‘क्रिकेट सम्राट’ बोल्ड भइसकेको थियो । ४२ वर्षदेखि प्रकाशित निकै लोकप्रिय यो म्यागेजिन कोरोनाले उग्र रूप लिँदै गर्दा प्रकाशन बन्द गर्ने निर्णय गरेको थियो ।

‘क्रिकेट सम्राट’ सँगको त्यो साइनो

सन् ८०–९० को दशकमा पाठकसामु क्रान्ति गरेको क्रिकेट सम्राटको उचाइ १० वर्षयता तल झर्न सुरु भइसकेको थियो । विश्व इन्टरनेटमा प्रवेश गरेपछि यसको प्रभाव विस्तारै कम हुँदै गयो । २१ औं शताब्दीमा घस्रिँदै संघर्ष गरिरहेको क्रिकेट सम्राट कोरोनाको कहर सुरु हुँदै गर्दा ढल्यो । क्रिकेटमा तथ्यांकको ठूलो खेल हुन्छ । क्रिकेट सम्राट अर्धशतक बनाउन ८ अंकले चुके पनि महत्त्वपूर्ण इनिङ्स खेल्न सफल भयो । भारतीय क्रिकेटले यो इनिङ्स भुल्ने छैन ।

...

मुम्बईबाट दसैंमा चुरामणि दाइ नवलपरासी घर आउँदा मैले पहिलो पटक सन् १९९२ मा क्रिकेट सम्राटको स्वाद पाएको थिएँ । भारतीय मिडियामा अहिलेजस्तो एकद्वार प्रणालीको समाचार त्यतिखेर पटक्कै थिएन, कम्तीमा क्रिकेट सम्राट हेरेर त्यो बुझ्न सकिन्थ्यो । पाकिस्तानले विश्वकप जितेको वर्ष थियो त्यो । क्रिकेट सम्राटमा पाकिस्तानी क्रिकेट ग्ल्यामर्स टोलीको रूपमा थियो । पाकिस्तानी खेलाडी क्रिकेट सम्राटको क्यापले सजिएका देखिन्थे । सायद क्रिकेट सम्राटले उनीहरूलाई प्रायोजन गरेको थियो । यस्तो लाग्थ्यो, राष्ट्रिय टोलीको क्यापभन्दा क्रिकेट सम्राटकै क्यापको धेरै महत्त्व थियो ।

नेपालमा पनि यसको ठूलै प्रभाव थियो भन्न सकिन्छ । काठमाडौंको आरएनएसीदेखि जनकपुरको रामानन्द चोकसम्म र झापाको मेची रंगशालादेखि नेपालगन्जको मंगलप्रसाद माविको क्रिकेट मैदानसम्म क्रिकेटका व्यक्तिलाई ‘क्रिकेट सम्राट’ ले तानेको थियो । सुनील गावस्करको १० हजार १ सय २२ रनको टेस्ट कीर्तिमान होस् या कपिल देवको ४ सय ३४ टेस्ट विकेट या जावेद मियादादले शारजहाँमा अन्तिम बलमा चेतन शर्मालाई छक्का प्रहार गर्दै बटुलेको विजयी रन । क्रिकेट सम्राटले सबै तथ्य, तथ्यांक हुबहु समेटेको हुन्थ्यो ।

इन्डियन एक्सप्रेसको पोडकास्टमा गौरव भाटियासँग पत्रकार दक्ष पनवरले तत्कालीन भारतीय राष्ट्रिय दैनिकहरूले क्रिकेटको समाचार सामान्य तरिकाले दिने र क्रिकेट सम्राटको फरक लेखाइ नै लोकप्रियताको आधार भएको जनाएका छन् । पनवरले पोडकास्टमा भनेका छन्, ‘हिन्दी भाषाको पत्रिकामा त्यस्तो कवितात्मक लेखाई नै हुँदैनथ्यो ।’

राष्ट्रिय दैनिकले नदिएका वा दिन बिर्सेका समाचार मासिक क्रिकेट सम्राटमा ‘एक्सक्लुसिभ’ बनेर आउँथ्यो । विनोद काम्बलीले माइनर काउन्टीमा एकै ओभरमा प्रहार गरेको ६ छक्का राष्ट्रिय दैनिकका लागि ‘बासी’ र ‘महत्त्वहीन’ समाचारले पाठकलाई लठ्याउन क्रिकेट सम्राट माहिर थियो । क्रिकेटर जे. अरुण कुमारले सर्प घाँटीमा बेरेर हिँड्ने गरेको समाचार क्रिकेट सम्राटबाहेक अरू कतै आएको देखिँदैनथ्यो । भारतका तत्कालीन कप्तान मोहम्मद अजहरुद्दिनको यो म्यागेजिन सर्वाधिक आलोचक थियो । भारतले कम जित्ने भएर होला अजहरुद्दिनलाई लखेट्न छाड्दैनथ्यो । तर त्योसँगै उनी जत्तिको कलात्मक ब्याट्सम्यान नरहेको भनी फुरुङ्ग उचाल्न पनि पछाडि पर्दैनथ्यो सम्राट ।

रणजी र दिलीप ट्रफीमा के प्रतिस्पर्धा हुन्थ्यो र ? त्योभन्दा बढी प्रतिस्पर्धा क्रिकेट सम्राटले मुम्बई, दिल्ली र कर्णाटक क्षेत्रमा कस्को बढी वर्चस्व भनेर लेखेका कथाले पाठकबीच गराउँथ्यो । कहिले महाराष्ट्रका ६ खेलाडी भारतीय टोलीमा त कहिले कर्णाटक क्षेत्रका ५ खेलाडी राष्ट्रिय टोलीमा भनेर पाठकलाई जिज्ञासु बनाउने लेख क्रिकेट सम्राटमै छापिन्थ्यो । सचिन तेन्दुलकर र ब्रायन लारामा को उत्कृष्ट भन्ने बहस यी दुई खेलाडी शीर्ष लयमा हुँदा प्रत्येक अंक जस्तोमा आउँथ्यो । तेन्दुलकरले लाराको समकक्षमा पुग्न त्यो भन्दा अगाडि आफ्नै बालसखा विनोद काम्बलीसँग प्रतिस्पर्धा गर्नुपरेको थियो, क्रिकेट सम्राटकै लेखहरूका कारण ।

१९९२–९३ मा इंग्ल्यान्ड र जिम्बावेविरुद्ध टेस्टमा लगातार दुई दोहोरो शतक बनाएपछि क्रिकेट सम्राटले काम्बलीलाई ‘रन मेसिन’ को उपनाम दिँदै चार तस्बिरसहित पहिलो पृष्ठमा छाप्यो । क्रिकेट सम्राटको लेखाइ हुन्थ्यो, ‘काम्बलीले तेन्दुलकरलाई धेरै पछाडि पारिसकेका छन् । अहिले अटोग्राफ लिन आउने तेन्दुलकरसँग भन्दा काम्बलीसँग भीड हुन्छ ।’ त्यही लहलहैमा क्रिकेट सम्राटले दिएको ठेगानामा काम्बलीलाई पत्र पठाउन पनि पछि परिएन ।

विश्व क्रिकेटको कुनै खेल छुट्यो भने एक महिनापछि आउने क्रिकेट सम्राटले त्यसलाई ताजगी गरिदिन्थ्यो । अहिलेको सन्दर्भमा भन्ने हो भने कुनै खेल टेलिभिजनमा प्रत्यक्ष प्रशारण छुटेर हाइलाइट्स हेरेजस्तै । मध्यपृष्ठमा आउने भारतका मात्र नभई अन्य देशका खेलाडीको पोस्टरले धेरै क्रिकेटप्रेमीको घरका भित्ता सजिएको हुन्थ्यो । त्यही पोस्टर देखेर कति क्रिकेटतर्फ आकर्षित भए होलान् भनेर सहजै अनुमान लगाउन सकिन्छ । क्रिकेट सम्राट त्यतिखेरको क्रिकेट आवाज थियो, जतिखेर सबैको घरमा टेलिभिजनको पहुँच हुन्थेन । क्रिकेट सम्राटको कसैसँग प्रतिस्पर्धा हुन्थ्यो भने त्यो अल इन्डिया रेडियोको कमेन्ट्रीसँग ।

क्रिकेट सम्राटको एउटै ठूलो कमजोरी इन्टरनेटमा नआउनु थियो । यो ठूलो फ्याक्टर थियो । यसका लोकप्रिय पत्रकार चरणपाल सिंह सोबती पनि क्रिकेट सम्राटजस्तै रहे । इन्टरनेटमा कहींकतै उनको प्रोफाइल भेटिन्न । अहिले उनी कहाँ छन्, कस्तो अवस्थामा छन् धेरैले पत्ता लगाउन सकेका छैनन् । आइफोन आएपछि ब्ल्याकबेरी फोन कहाँ छ भनेर तुलना गरेजस्तै छ, इन्टरनेट आउनुअघि र पछिको ‘क्रिकेट सम्राट’ ।

खेलकुद पत्रकार साथीहरूमाझ एक पटक सोबतीको नाम आयो । जसतर्फ इंगित गर्न खोजिँदै थियो उही पत्रकार साथीले फ्याट्ट भनिहाले, ‘यो नाम त मैले कताकता सुने जस्तो लाग्यो ।’ उनको यो अभिव्यक्तिपछि हामी केही साथी मजाले हाँस्यौं । भएको के थियो भने ती साथीले क्रिकेट सम्राटको लेख हुबहु सारेर छापेका थिए आफ्नो बाइलाइनमा । उनले न क्रिकेट सम्राट, न त लेखका लेखेका सोबतीलाई त्यसको श्रेय दिएका थिए । त्यो हामी केहीले थाहा पाइसकेका थियौं । एकछिनमै यसको पोल खुल्दा उनी रातोपिरो भइहाले ।

ती साथीलाई मलगायत जसले गिज्याएका थियौं, सबै प्रत्यक्ष अप्रत्यक्ष रूपमा नै क्रिकेट सम्राट र सोबतीको लेखबाट प्रभावित थियौं । क्रिकेट सम्राट आएलगत्तै राम्रो क्रिकेट आर्टिकल त पढिहाल्थ्यौं, त्यसबाहेक सोबतीको कति लेख आएका छन् भनेर गन्दै पढ्नुको मज्जा नै अर्को हुन्थ्यो । त्यतिखेरसम्म ‘बाइलाइन’ को अर्थ त के थाहा हुनु, जे थियो सोबतीको लेख कतिवटा आएको छ भनेर सुरु हुन्थ्यो । भारतमै राष्ट्रिय दैनिकमा आफ्नो बाइलाइन हालेर सोबतीको लेख छाप्दा धेरै समातिएको पनि सुन्न पाइन्थ्यो ।

धेरै खेलाडीमात्र नभएर धेरै पत्रकारका लागि पनि आदर्श व्यक्तित्व थिए सोबिती । पोडकास्टमा भाटियासँग पनवरले सोबितीको लेखाइ असाधारण भएको बताउँदै क्रिकेट लेखनमा उनी रकस्टार नै भएको बताएका छन् । क्रिकेट सम्राटको प्रभाव आफूमा परेको सहज स्वीकार्दै पनवर भन्छन्, ‘यो म्यागेजिन हाम्रो बाल्यकालको एउटा टुक्रा थियो भने वयस्क भएपछि पत्रकारिता क्षेत्रमा प्रवेश गर्न यो एउटा आधार बन्यो ।’

पहिला यो निकै लोकप्रिय म्यागेजिन हो र अहिलेको भर्जनमा भाइरलजस्तै । १० वर्षअघिदेखि यो म्यागेजिन ओरालो लागेको थियो, त्यतिखेर पनि यो १ लाख प्रति बिक्री हुन्थ्यो । पढ्ने हिसाबमा हेर्ने हो भने यसको प्रभाव दस गुणा बढी हुन्थ्यो । भारतको शीर्ष १० म्यागेजिनमा यो पर्थ्यो । हिन्दी भाषामा तेस्रो नम्बरमा थियो । प्रतियोगिता दर्पण, सरल सलील, निरोग धाम यस म्यागेजिनको वरिपरि थिए सर्वाधिक बिक्री हुनेमा ।

भारतले सन् १९८३ को विश्वकप जितेको ५ वर्षअगाडि क्रिकेट सम्राटको पहिलो संस्करण बजारमा आएको थियो । यस म्यागेजिनले भारतीय क्रिकेटलाई एउटा ब्रान्ड बनाइदियो । हक्कीको हकमा यस्तो केही भएन । भारतले ओलम्पिकमा आठ पटक हक्कीको स्वर्ण जितेको छ । पनवर भन्छन्, ‘हक्की सम्राट भनेर कुनै म्यागेजिन निस्किन्थ्यो भने भारतीय हक्कीको यस्तो दुर्दशा हुँदैनथ्यो ।’ १९८० मा भारतले पछिल्लो पटक ओलम्पिकमा हक्कीको स्वर्ण जितेको थियो । त्यसयता हक्कीको पतन रोकिएको छैन ।

सन् २०१६ को हाम्रो लन्डन यात्रा क्रिकेटकै लागि थियो । त्यहाँ पनि हामीलाई नेपाली क्रिकेट र क्रिकेट सम्राटको भूतले छाडेन । ग्रिनविचतिर लाग्दै गर्दा म, आदर्श ढकाल र कौशल अधिकारीबीच राष्ट्रिय टोलीमा सिद्धान्त लोहनीले पर्याप्त नपाउनुको कारणबारे बहस चल्दैथियो । कौशलले आफ्नो भनाइ राखिहाले, ‘नेपाली क्रिकेटले सिद्धान्तलाई नजरअन्दाज गर्‍यो ।’ मेरो कान ‘नजरअन्दाज’ शब्दले एक्कासि ठाडो भएर आयो र कौशललाई सोधिहाले, ‘क्रिकेट सम्राट खुबै पढेका रहेछौं ।’ कौशलले मेरो प्रश्नलाई लुकाउन खोजेनन्, बरु उल्टै भने, ‘जे जति क्रिकेट बुझेको छु, त्यसको सुरुआत क्रिकेट सम्राटले नै गरेको हो ।’

क्रिकेट सम्राटमा क्रिकेटबाहेक अरू कुनै शब्द बढी आएको छ भने त्यो सम्भवतः ‘नजरअन्दाज’ नै थियो होला । क्रिकेट सम्राटले खेलाडी छनोटको विषय सम्भवतः सबैभन्दा बढी उठान गरेको थियो । आकाश मल्होत्रा, अमोल मजुमदार, आशिष कपुरदेखि विक्रमसिंह राठौरले भारतीय टोलीबाट मौका पाउँदै नपाएको वा धेरै पाइरहेको स्टोरीमा ‘नजरअन्दाज’ शब्द भरिपूर्ण हुन्थ्यो । यसैबाट प्रभावित भएर पत्रकारिताको सुरुआतमा मेरो खेलाडी छनोटमै पहिला आँखा जान्थ्यो र ‘नजरअन्दाज’ शब्द प्रयोग गर्ने गर्दथें । तर त्यो शब्द छापिँदैनथ्यो, त्यो आयातित शब्द रहेछ । अर्थात हिन्दी भाषाको शब्द ।

अहिलेको क्रिकइन्फो डटकमको प्रभाव जे छ त्यो पहिला क्रिकेट सम्राटमै हुन्थ्यो । ग्रिनविचको भूमध्यरेखाले विश्वलाई दुई भागमा विभाजन गरेजस्तै क्रिकेट सम्राट र क्रिकइन्फोलाई दुई पाटामा राख्न सकिन्छ । अहिलेको क्रिकेट सम्राट भनौं क्रिकइन्फोमा के छैन, १८७७ मा खेलिएको विश्वको पहिलो टेस्टदेखि नेपाली महिला क्रिकेट खेलाडी अप्सरी बेगमको सबै तथ्यांक यसैमा छ ।

क्रिकेट सम्राटको प्रभाव नेपाली क्रिकेटमा पनि धेरै छ । गुल्मीमा जन्मेपछि सोमपाल कामी तीन वर्षको उमेरदेखि आफ्नो परिवारसँग पन्जाबमा बस्दै आएका थिए । नेपालले २०१३ मा बर्मुडामा आश्चर्यजनक ढंगले विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि उचालेको समाचार क्रिकेट सम्राटमा थियो । त्यही पढेर सोमपाल क्रिकेट खेल्न ७ वर्षअघि नेपाल आएका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको पहिलो विकेटसँगै सोमपालले प्रमुख तीब्र बलरका रूपमा आफूलाई उभ्याइसकेका छन् ।

....

एसएलसी दिएर फुर्सदका बेला विशेषगरी म र साथी प्रसिद्धका लागि क्रिकेट सम्राट एउटा परिवारजस्तै थियो । माघमा एसएलसी परीक्षा दिएर साउन–भदौसम्म नतिजा पर्खदा क्रिकेट सम्राटले प्रत्येक महिना हामीलाई राम्रै खुराक दिन्थ्यो । खल्ती टक्टकाएर २५ रुपैयाँ जम्मा गरेर क्रिकेट सम्राट किन्नु बाध्यता हामी दुवैको थियो । प्रत्येक संस्करणका लागि हामी दुवैको संयुक्त लगानी हुन्थ्यो । एक जनाले मात्र किन्नुपरे स्कुले हामी दुवै ठिटालाई अप्ठ्यारो हुन्थ्यो । जसोतसो २५ रुपैयाँ जुटाएपछि हामी बसेको ठाउँबाट १८ किलोमिटर बस चढेर जनकपुर गई पत्रिका किन्नलाई भाडा जुटाउनुपर्ने अर्को समस्या थियो । त्यसैले पालैपालो गरेर म र प्रसिद्धमध्ये एक जनकपुर जान्थ्यौं । अझ बस भाडा नतिर्न अनेक चाल चल्नु र जोखिम मोल्नुपर्थ्यो । बस गुड्ने बेलामा पछाडिबाट छतमा गएर चढ्यो अनि जनकपुर पुगेर रोकिनु ठीकअगाडि फुत्त झरिहाल्थ्यौं ।

क्रिकेट सम्राटको लोकप्रियता चुलिँदै गर्दा यसले मेरो र बालसखासँगको सम्बन्धमा विखण्डन ल्याइदियो । भारतले सन् १९९३ मा पाँच राष्ट्रसम्मिलित हिरो कप आयोजना गर्दै थियो । क्रिकेट सम्राटले त्यसमा विशेषांक निकालेको थियो, अझ भारतका सबै खेलाडीको हस्ताक्षरसहितको अटोग्राफ पनि थियो । विशेषांक भएकाले त्यो केही महँगो बनाएर नेपाली ४० रुपैयाँ पुर्‍याइएको थियो । जसोतसो यसपटक पनि क्रिकेट सम्राट किनेर ल्याइयो, झन् विशेषांक भएकाले छाड्ने कुरै थिएन । पढ्न त पालैपालो भएकाले कुनै समस्या थिएन । त्यो भारतीय खेलाडीको हस्ताक्षर रहेको अटोग्राफ कसले राख्ने भनेर किचलो सुरु भयो । प्रसिद्ध भने पाकिस्तानी क्रिकेट समर्थक थिए, उनले त्यही पनि भारतीय खेलाडीको त्यो अटोग्राफ आफैं राख्ने भए ।

हाम्रो बोलचाल बन्द भयो । क्रिकेट सम्राटमा आएको त्यही अटोग्राफ नपाएका कारण । त्यसयता म काठमाडौं आएँ । उनी पनि काठमाडौं आइसकेका रहेछन् । मलाई उनी काठमाडौंमा कता बसेका छन् र के गर्दैछन् केही थाहा थिएन, सायद उनको हकमा पनि यही लागू भएको थियो । दुवैले एकअर्कालाई मतलब गर्न छाडेका थियौं । म कुन कलेजमा पढिरहेको प्रसिद्धलाई थाहा थिएन । एक दिन आश्चर्य भयो । उनी मलाई भेट्न टुप्लुक्क कलेज नै आइपुगे । हाम्रो बिग्रिएको सम्बन्ध ‘आइसब्रेक’ गर्न क्रिकेट सम्राटको नयाँ अंक उनको हातमा थियो ।

प्रकाशित : भाद्र २७, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?