कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराए संस्थानका भलिबल टिम

२०३५ सालपछिका डेढ दशक नेपाली भलिबलमा संस्थानकै टिमहरुको राज रह्यो । राष्ट्रिय टोलीको छनोट पनि यस्तै टिमको प्रतिस्पर्धाबाट हुने गरेको थियो ।
कुशल तिमल्सिना

काठमाडौँ — नेपालको खेलकुद क्षेत्रमा तीन विभागीय टोलीहरू त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपीएफ क्लबकै रजगज छ । चाहे त्यो घरेलु उपाधिमा होस् या राष्ट्रिय टोलीमा पर्न । स्तरीय र अन्तर्राष्ट्रिय खेलाडीहरूलाई उनीहरूको स्तरोन्नति र रोजगारी दिनमा यी सुरक्षा संगठनको योगदान अतुलनीय छ ।

हराए संस्थानका भलिबल टिम

करिब तीन दशकअघिसम्म ठ्याक्कै यस्तै जिम्मेवारी सार्वजनिक संस्थानहरूले सम्हालेका थिए । खेलकुदमा जनकपुर चुरोट कारखाना, नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम, शाही नेपाल वायुसेवा निगम, हिमाल सिमेन्टजस्ता संस्थानको नाम आउँथ्यो ।

ती संस्थाहरूले राष्ट्रिय टिमका खेलाडीहरूलाई अनुबन्ध गरी रोजगारीको व्यवस्था गरिदिएका थिए । वास्तवमा भन्नुपर्दा नेपाली खेलकुदमा व्यावसायिकताको सुरुआत नै संस्थानहरूले गरेका थिए ।

क्रिकेटका उत्तम कर्माचार्यले जनकपुर चुरोट कारखानामै जागिरे जीवन सकाए । आफू खेलाडी हुँदा जागिरमा छिरेका फिफा रेफ्री सुरेन्द्र सिख्राकार अहिले पनि नेपाल एयरलाइन्समा कार्यरत छन् ।

...

२०७४ जेठमा सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गर्नु भन्दा धेरैअघि देशभर भलिबलको लोकप्रियता चरम थियो । कठिन भौगोलिक बनावट भएको ठाउँमा पनि सहजै खेल्न सकिने यो खेलको राष्ट्रिय प्रतियोगिता २०३० सालदेखि सुरु भएको हो । पहिलो राष्ट्रिय प्रतियोगितामै १४ मध्ये १३ अञ्चलको टिम समावेश हुनु आश्चर्यजनक थियो ।

फाइल तस्बिर

भलिबलको लोकप्रियताकै कारण संस्थानहरूले भलिबल टिम बनाउन चासो दिएका हुन् । तत्कालीन राखेप सदस्य–सचिव शरदचन्द्र शाहको पहुँचले पनि संस्थानहरूले उत्कृष्ट खेलाडी समावेश गरी टिम बनाउनुका साथै उनीहरूलाई रोजगारी दिन थालेको हो । चोभारमा अवस्थित हिमाल सिमेन्ट कारखानाले त्यतिबेला राष्ट्रिय टिमका सबै सदस्यलाई अनुबन्ध गरी टिम बनाएको थियो । त्यतिबेलाका उत्कृष्ट खेलाडी दीपक सापकोटालगायत लिएर कृषि विकास बैंकले टिम बनायो । राष्ट्रिय टोलीका कप्तान र पछि संघका महासचिवसमेत बनेका सुनील चौधरी, विष्णु मास्केलगायत सम्मिलित नेपाल विद्युत् प्राधिकरणको टिम थियो ।

दीपक सापकोटा र सुनील चौधरी अहिलेको क्रिकेटको भाषामा भन्नुपर्दा पारस खड्का र सन्दीप लामिछानेजस्तै । उनीहरूको लोकप्रियता निकै थियो । बाँकी युवा र जुनियर खेलाडीहरू समावेश गरी नेपाल आयल निगम पछि भलिबलको प्रतिस्पर्धामा होमियो । नेपाल प्रहरीका नायब महानिरीक्षकबाट सेवानिवृत्त भएका रमेश खरेल आयल निगमको टिमका जल्दाबल्दा खेलाडी थिए । यीबाहेक जनकपुर चुरोट कारखाना, शाही नेपाल वायुसेवा निगम, राष्ट्र बैंकको पनि टिम थियो । जनकपुर र शानेवानि विशेषतः फुटबलमा केन्द्रित थियो ।

‘अहिलेको विभागीय टिमहरूको अवस्था जे छ त्यतिबेला संस्थानको टिम पनि त्यस्तै थियो । स्तरीय खेलाडीको जमघट अनि हार्न कहिल्यै नजान्ने । संस्थानबीचको प्रतिस्पर्धा निकै रोचक हुन्थ्यो,’ तत्कालीन आयल निगम टिमको प्रशिक्षण सम्हालेका कपिलकिशोर श्रेष्ठले कान्तिपुरसँग भने, ‘संस्थानले खेलाडीहरूलाई रोजगारी दिएको थियो । स्थायी अनुबन्ध पाएकाहरू अहिले पनि त्यहाँ काम गरिरहेका छन् । आर्थिक रूपमा सवल भएपछि उनीहरूको प्रदर्शन पनि एकरुपको हुन्थ्यो ।’

२०३५ सालपछिका डेढ दशक नेपाली भलिबलमा संस्थानकै टिमहरूको राज रह्यो । राष्ट्रिय टोलीको छनोट पनि यस्तै टिमको प्रतिस्पर्धाबाट हुने गरेको थियो । त्यतिबेला प्रतियोगिताहरू कम हुने, राजधानीबाहिर नगन्य प्रतियोगिता हुनुका साथसाथै संस्थानहरू आर्थिक संकटमा जाने र नेतृत्व परिवर्तन भएसँगै खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँदै जानुले बहुदलीय व्यवस्थाको सुरुआतपछि संस्थानले भलिबल टिमलाई निरन्तरता दिन सकेनन् ।

‘त्यतिबेला वर्षको ४–५ वटा प्रतियोगिता हुन्थ्यो । ती सबै काठमाडौं केन्द्रित थिए । वर्षमा एकपल्ट विराटनगरमा भारतीय टिमसहितको प्रतियोगिता आयोजना हुन्थ्यो,’ राष्ट्रिय टोलीका प्रशिक्षक रहिसकेका श्रेष्ठले भने, ‘संस्थानको टिमले संघको आधिकारिक प्रतियोगिता खेल्न पाउँदैनथे, बृहत राष्ट्रिय खेलकुदमा पनि उनीहरूलाई समावेश गराइएन । अहिलेजस्तो विभागीय टिमले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउने व्यवस्था गरिदिएको भए सायद संस्थानको टिम अहिलेसम्म रहन्थे कि ∕ राष्ट्रिय प्रतियोगिता भनेको त्यतिबेला गौरवको कुरा हुन्थ्यो । वर्षभरि संस्थानबाट खेल्ने, राष्ट्रिय प्रतियोगितामा चाहिँ अञ्चलको टिमबाट खेल्नुपर्ने अवस्था थियो ।’

करिब १२ वर्ष राष्ट्रिय भलिबल टिमबाट अन्तर्राष्ट्रिय प्रतिनिधित्व गरेका विष्णु मास्केले नेपाल विद्युत् प्राधिकरणको टिमबाट क्लबस्तरको प्रतियोगिता खेले । राष्ट्रिय खेलकुदमा समावेश गरिदिएको भए संस्थानको टिमले निरन्तरता पाउँथ्यो कि जस्तो उनलाई लागेको छ । ‘मैले सुरुमा आयल निगमबाट खेलें । हामीले वर्षमा ४–५ प्रतियोगिता खेल्थ्यौं, ती काठमाडौंमै आयोजना हुन्थे । पछि विद्युत् प्राधिकरणमा स्थायी नियुक्तिसहित अनुबन्ध भएँ,’ प्राधिकरणमा लेखापालको रूपमा कार्यरत मास्केले भने, ‘अहिलेको आर्मी/पुलिसको टिमजस्तै राम्रो खेल्नेबित्तिकै संस्थानले टिममा बोलाइहाल्थ्यो ।’

सशस्त्र प्रहरीका महानिरीक्षक बनेका दुर्जकुमार राई लामो समय अन्तर्राष्ट्रिय भलिबल खेलाडीको रूपमा रहे । कोसी अञ्चलको टिमबाट राष्ट्रिय प्रतियोगिता खेलेका उनले संस्थानको टिमबाट खेलेनन् । संस्थानले खेलकुद क्षेत्रमा लगानी निरन्तरता दिन नसक्नुमा सम्बन्धित संस्थानकै आर्थिक संकट जिम्मेबार रहेको उनको अनुभव छ । ‘सार्वजनिक संस्थानहरू कालान्तरमा घाटामा जान थाले ।

हिमाल सिमेन्टको हविगत हामी सबैले देखिहाल्यौं । त्यसबाहेक संस्थानको नेतृत्व परिवर्तन भइराख्दा नेतृत्वअनुसार खेलकुद रणनीति बन्ने गर्दथ्यो । खेलकुद नबुझेका नेतृत्वले टिमलाई निरन्तरता दिनु भनेको खर्च बढाउनु हो भन्ने मानसिकता राख्न थाले र खेलकुदमा लगानी हट्यो,’ राईले भने ।

सुनसरी भलिबल पेज

पूर्वखेलाडी मास्केले संस्थानलाई खेलकुदमा आकर्षित गर्न सरोकारवाला निकायजस्तै नेपाल भलिबल संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) असमर्थ भएको गुनासो गरे । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दको पनि यो भनाइमा आंशिक स्वीकारोक्ति छ । ‘यसमा केही राजनीतिक कुराहरूले पनि असर गरेको जस्तो लाग्छ । त्यसबाहेक त्यतिबेला संस्थानहरू आर्थिक रूपमा धराशायी बनेका थिए र खेलाडीहरू पनि अधिक महत्त्वाकांक्षी भएका थिए ।

संस्थानको जागिरमा रहेका केही खेलाडीहरू विदेश पलायन भए । कतिसम्म भने भलिबल संघका तत्कालीन अध्यक्ष नै पलायन भए,’ चन्दले भने, ‘तत्कालीन सदस्य–सचिव शरदचन्द्र शाहले आफ्नो पहुँचसमेतको प्रयोग गरी संस्थानमार्फत भलिबलमा लगानी भित्र्याएका हुन् । तर भलिबल संघका तत्कालीन नेतृत्वले त्यसलाई दिगो राख्न सकेन । उनीहरूले राष्ट्रिय खेलकुदमा संस्थानको टिम समावेश गर्ने पहल गर्नुपर्थ्यो ।’

त्यतिबेला धराशायी भएका भनिएका संस्थानमध्ये केही संस्थानहरू अहिले आर्थिक रूपमा सुदृढ छ । त्यसो भए उनीहरूलाई पुनः भलिबलमा आकर्षित गरी घरेलु भलिबललाई प्रतिस्पर्धात्मक र खेलाडीको आर्थिक सुरक्षाका लागि पहल गर्न सकिन्छ त ? महासचिव चन्द भन्छन्, सकिन्छ । तर अहिलेसम्म संघले त्यस्तो पहल चाहिँ गरिसकेको छैन ।

‘नेपाल विद्युत् प्राधिकरण, राष्ट्र बैंक, आयल निगम, कृषि विकास बैंकलगायतको आर्थिक अवस्था अहिले सुदृढ छ । भलिबल राष्ट्रिय खेल भइसकेको अहिलेको स्थितिमा उनीहरूलाई यो खेलमा पुनः लगानी गर्न पहल गर्न सकिन्छ । तर अहिलेसम भएको छैन,’ उनले थपे । यद्यपि राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता भइरहेको छ ।

प्रकाशित : भाद्र २७, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?