कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाली ‘भेगन’

‘म त आफूले आफैंलाई क्रिकेट खेलाडी पनि मान्दिनँ, बरू म आफूलाई सक्दो राम्रो मान्छेका रुपमा प्रस्तुत गर्न चाहन्छु । आफ्नो जीवनबारे धेरै फरक सोचेको छु ।’
स्टेफन सेमिल्ट

म्यानचेस्टर — दुई वर्षअगाडि ‘बल टेम्परिङ’ काण्डपछिको इंग्ल्यान्ड भ्रमण अस्ट्रेलियाका लागि सर्वथा बिर्सनलायक रह्यो । अस्ट्रेलियाले खेलेका सबै ६ खेल गुमाएको थियो । त्यतिबेला एडम जाम्पा कता हो, कता थिए ।

अस्ट्रेलियाली ‘भेगन’

उनी कहीं कतै अस्ट्रेलियाली क्रिकेट नक्सामा थिएनन् । उनी त एसेक्समा प्रवेश पाउन ब्रेन्टउडमा क्लब क्रिकेट खेलिरहेका थिए । त्यसयता उनले अस्ट्रेलियाली टिमसम्मको यात्रा तय गरेका छन् । हुँदाहुँदा यी लेग स्पिनर ट्वान्टी–२० क्रिकेटको शीर्ष वरीयताका बलर पनि भइसकेका छन् ।

‘यो वर्षले मलाई लगाएको गुन कहिले पनि तिर्न सक्दिनँ होला,’ उनी भन्छन् । जाम्पाले केही समय लिचेस्टर प्राइओरी पार्क र इस्ट मोलेसका लागि पनि खेले, तर उनले ब्रेन्टउडमा राम्रो खेले, त्यसैले त्यहाँ उनको बखान गरेर गाएको गीत पनि छ । ब्रेन्टउडका कप्तान एरोन वेस्ट पनि जाम्पासँग बिताएका पुराना दिन खुबै स्वाद मानेर सम्झने गर्छन् । अहिले जैविक रूपमा सुरक्षित वातावरणमा खेलिरहेका अस्ट्रेलियाली खेलाडीमाझ पनि उनी उत्तिकै लोकप्रिय छन् ।

अहिले २८ वर्ष छोएका जाम्पाको बायाँ नाडीमा ह्विस्की ग्लासको ट्याटु छ । खासमा जाम्पा साथीहरूलाई भेला गरेर मीठो मीठो खाने र पिउनेका सौखिन थिए । अहिलेको इंग्ल्यान्ड भ्रमणका क्रममा अस्ट्रेलियाली टिमले खाली डर्बी, साउथह्याम्पटन र म्यानचेस्टरमा पालैपालो समय बिताएका छन् । जैविक रूपमा सुरक्षित यस भ्रमणमा खेलाडीहरूको सामाजिक जमघट अचेल जाम्पाकै कोठामा हुने गरेको छ । जाम्पा कफी पनि मिठो बनाउने गर्छन् ।

बल टेम्परिङ घटनापछि बनाइएको वृत्तचित्रमा जाम्पाको यो कलाको खुबै बयान गरिएको छ । कफी खान भनेर नै केही खेलाडी जाम्पाको कोठामा पुग्ने गर्छन् । विशेषतः मार्कस स्टोइनिस, केन रिचर्डसन, एलेक्स क्यारी आदि । जाम्पा भन्ने गर्छन्, सबैलाई मेरो कोठामा स्वागत छ है । जाम्पा यति साह्रो मीठो कफी कसरी बनाउने गर्छन् । यसको बीउ उनी कहाँबाट प्राप्त गर्छन्, यो सबैले गर्ने खोजीनीतिमा नै पर्दछ ।

यसमा जाम्पाको रुचि र दखल कति धेरै रहेछ भने उनले आफ्नो नाममा कफी बनाउन सामानको उत्पादन नै सुरु गरेका छन् । हुन त अभ्यास सकेर थाकेका खेलाडी एकसरो जाम्पाको कोठामा छिर्छन् अनि कफीबारे गफ सुरु गर्छन् । यसअघिको अस्ट्रेलियाली टिममा यस्तै सामाजिक जमघट र छलफल बियरलाई लिएर हुने गर्थ्यो । किनभने त्यतिबेला डेविड बुन जस्ता खेलाडी थिए, जसलाई बियरमा महारथी प्राप्त थियो । उनी यसका ठूला सौखिन थिए ।

बुन र त्यो समयका अस्ट्रेलियाका खेलाडीले बियर के कति खाए ? त्यसको अलग्गै कथा बन्छ र यो रोचक छ । तर अहिले जाम्पा भन्छन्, ‘मलाई लाग्छ, बुन पनि मेरो अहिलेको कामलाई लिएर खुसी होलान् । किनभने समय फेरिएको छ । अहिलेको समयमा सबैको ध्यान शारीरिक र मानसिक रूपमा स्वस्थ्य रहनु नै हो । यो निकै ठूलो आवश्यकता भएको छ । अहिले बियर खाने चलनमा धेरै कमी आएको छ ।’ ती पुराना दिन त्यस्तै थिए ।

अब हुँदाहुँदा जाम्पा आफ्नो स्वास्थ्य स्थिति र खानपिनप्रति कति धेरै सजग छन् भने उनी आफैं ‘भेगन’ भएका छन् । त्यसैअनुसारका खानामात्र खान्छन् । अझ भेगन भन्नाले माछामासु त के दूधको परिकार पनि नखानु भन्ने बुझिन्छ । एउटा समूह छ, ‘पिपुल्स फर द इथिकल ट्रिटमेन्ट अफ एनिमल्स’ । त्यसको विज्ञापनमै जाम्पा देखिने गर्छन् । उनी भन्छन्, ‘मैले आफ्नो प्रदर्शन राम्रो होस् भनेर भेगन भएको होइन, बरु किन भेगन भएको हुँ भने म जनावर र वातावरणप्रति खुबै सजग छु ।’

फेरि, भेगन भएर क्रिकेटको भ्रमणमा निस्कनु खेलाडीका लागि कत्ति गाह्रो हुन्छ ? यो त ठूलै चुनौती हुने गर्छ । तर जाम्पा यसका लागि उत्तिकै कसिकसाउ व्यवस्था गर्छन् । उनी जता जता जान्छन्, दसौं हजार माइलको यात्रा नै किन गर्दैनन्, सँगै आफ्ना लागि ‘माइक्रो वेभ’ भने बोक्छन् । जाम्पाले भनेका छन्, ‘भ्रमणका लागि भनेर मैले खाली तीन टिसर्ट र दुई जोडी पाइन्ट मात्र बोकेको छु, यस्तो किनभन्दा मैले सकेसम्म बढी आफ्नो खाना बोक्न सकुँ ।’

यसमा उनलाई चाहिने खाना पकाउने समान पनि पर्छ । उनी भन्छन्, ‘जो कोही मेरो कोठामा छिर्‍यो भने ताजुब मान्छन् र भन्छन्, तिमी त सबै बन्दोबस्त गरेर हिँड्छौं । हुन पनि मसँग सबथोक हुन्छ । जस्तो, माइक्रोवेब, कफीलाई चाहिने सबथोक अनि खाना पकाउन चाहिने मसला । म भेगन चिजहरू, चियासम्म बोक्छु । म जहाँ जान्छु, यी सबै मसँगै आउने गर्छन् । अहिले इंग्ल्यान्डमा रहँदा पनि म भेगन खाना बनाउने गर्छु र आफैं माइक्रोवेभमा तताउने गर्छु ।’

यो सबै सुन्दा उनी धेरै फरक अस्ट्रेलियाली खेलाडी जस्तो लाग्छ । आखिरमा अस्ट्रेलियाली टिमभन्दा हाम्रो अगाडि अनुहार भनेको बुन मात्र होइनन्, एलान बोर्डर र मर्भ ह्युग्स जस्ता खेलाडी हुन्, जसलाई पिउन पिलाउनुमा खुबै मज्जा आउने गर्थ्यो । घरतिर जाम्पाको आफ्नै टिम पनि छ । जसका प्रशिक्षक हुन् जस्टिन ल्याङ्गर । सबैलाई थाहा छ, ल्याङ्गरले गत वर्षको विश्वकपका क्रममा आफ्ना खेलाडीलाई एजबास्टनको मैदानमा नांगो खुट्टा हिँड्न प्रेरित गरेका थिए ।

यो टिमका खेलाडीलाई के विश्वास छ भने प्राकृतिक रूपमा वातावरण जे जस्तो छ, त्यसमै खुसी हुनुपर्छ र मज्जा लिनुपर्छ । फेरि यसको अलग्गै रौनकता छ । जाम्पा त अझ के सम्म भन्छन् भने, ‘म त आफूले आफैंलाई क्रिकेट खेलाडी पनि मान्दिनँ, बरू म आफूलाई सक्दो राम्रो मान्छेका रूपमा प्रस्तुत गर्न चाहन्छु । आफ्नो जीवनबारे धेरै फरक सोचेको छु र यो आम मान्छेले सोच्नेभन्दा धेरै फरक छ । यो कथा हो, अस्ट्रेलियाली भेगन एडम जाम्पाको ।

भेगन क्लबमा बेलेरिनको लगानी

आर्सनल डिफेन्डर हेक्टर बेलेरिनले लिग टु क्लब फरेस्ट ग्रिन रोभर्समा लगानी गरेका छन् । उनी भएका छन् दोस्रो ठूलो सेयरधनी । ग्लुचेस्टरसायरमा रहेको यस क्लबलाई फिफा र संयुक्त राष्ट्रसंघले समेत भनेका छन्, विश्वकै सबैभन्दा प्रकृति नजिकको क्लब । सन् २०१५ मा यो पूर्णत: ‘भेगन’ मा परिणत भएको थियो। सन् २०१७ यता यो ‘कार्बन न्युट्रल’ क्लब भएको छ । त्यस क्लबको एजेन्डाका जबरदस्त समर्थक रहेका स्पेनी अन्तर्राष्ट्रिय खेलाडी बेलेरिनले भनेका छन्, ‘फरेस्ट ग्रिनले अरूलाई बाटो देखाइरहेका छन्। धेरैले भन्ने गर्छन्, प्राकृतिक समस्याको समाधान छैन, तर यो क्लबले काम गरेर देखाइसकेको छ ।’ उनले क्लबसँग आबद्ध हुन पाएको उत्तिकै खुसी र गर्व पनि महसुस गरिरहेका छन् ।

अझ भन्छन्, ‘म ती सबैलाई सक्दो सहयोग गर्न तयार छु, जसले विश्वको भलाइका लागि राम्रो काम गर्न चाहन्छ । यी २५ वर्षीय खेलाडीले केही समयअगाडि राम्रै पैसा उठाउने काम गरेका थिए । त्यसको मद्दतले एमेजन रेनफरेस्टमा ६० हजार रुख रोप्ने काम भएको थियो। बेलेरिन आफैंलाई सामाजिक रूपमा सबैभन्दा जागरुक खेलाडी पनि भनिन्छ । –बीबीसी

प्रकाशित : भाद्र २५, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?