कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलम्पिक कमिटीका महासचिव श्रेष्ठ भन्छन्- ‘कोरोना लाग्दा मनोवैज्ञानिक दबाबले धेरै समस्या गर्ने रहेछ’

राजु घिसिङ

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठसहित एनओसीसम्बद्ध पाँचै जना कोभिड १९ संक्रमणबाट मुक्त भएका छन् । महासचिव श्रेष्ठसहित चार जनाको सोमबार कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो भने एक जना यसअघि नै संक्रमणमुक्त भइसकेका छन् ।

ओलम्पिक कमिटीका महासचिव श्रेष्ठ भन्छन्- ‘कोरोना लाग्दा मनोवैज्ञानिक दबाबले धेरै समस्या गर्ने रहेछ’

‘राष्ट्रिय सभागृहमा शनिबार कोभिड-१९ टेस्ट गराएका थियौं । आइसोलेसनमा बसेको १९ औं दिनमा आज हामी चारै जनाको कोभिड १९ रिपोर्ट नेगेटिभ आयो । एक जना पहिला नै नेगेटिभ आइसकेको थियो,’ नेपाल ट्रायथलन संघका अध्यक्षसमेत रहेका ६१ वर्षीय श्रेष्ठले भने । कोरोना संक्रमित भएका एनओसीका महिला कमिसनका ५२ वर्षीया पूर्वपदाधिकारी हुन् भने ५२ वर्ष, ४८ वर्ष, ४३ वर्ष र ४० वर्षका कर्मचारीहरू हुन् । कोभिड १९ पोजिटिभ महासचिव श्रेष्ठसहित तीन जना एनओसीको सातदोबाटोस्थित भवनमै आइसोलेसनमा बसेका थिए भने दुई जना घरमै ।

स्क्वासका प्रशिक्षक हिराबहादुर थापासहित दुई जनालाई कोभिड १९ पोजिटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षण गर्दा एनओसीका पदाधिकारी तथा कर्मचारीहरूमा पनि कोरोना भाइरस संक्रमण भएको पाइएको थियो । महासचिव श्रेष्ठले भने, ‘हिरासहित स्क्वासका दुई जनालाई संक्रमण भयो भन्ने खबर आयो । हाम्रो स्टाफ र हिराको आउजाउ छ । त्यसैले खेलकुद परिषद्‌मा गरिएको परीक्षणमा हामीले सबै स्टाफलाई पठायौं । त्यसममा किचनका दुई जना कर्मचारीलाई कोभिड १९ संक्रमण भएपछि यहाँ (एनओसी कार्यालय) आउजाउ गरिरहेका हामी २० जनाले पनि परीक्षण गर्‍यौं । त्यसमध्ये मसहित तीन जनामा कोभिड-१९ पोजिटिभ देखियो ।’

परीक्षणमा १७ जनाको रिपोर्ट नेगेटिभ आएपनि महासचिव श्रेष्ठसहित तीन जनाको रिपोर्ट दिइएको थिएन र ती तीनै जनाको पछि कोभिड १९ पोजेटिभ रिपोर्ट आयो । श्रेष्ठले भने, ‘हामी तीन जनाको रिपोर्ट तुरुन्तै नआएपछि शंका लाग्यो र आइसोलेसनमा बसिहाल्यौं ।’ उनले थपे, ‘मलाई केही समस्या भएन । एनओसीका अरुलाई पनि । तर, अरुलाई भाइरस नसारौं भनेर अलग्गै बस्यौं । हामीमा कोभिड-१९ को लक्षण केही छैन, आज पनि पनि छैन, हिजो पनि थिएन । टेस्ट गर्नुअघि जस्तो थियो, त्यस्तै छ आज पनि । मलाई मानसिक रुपमै पनि कोरोनाको असर छैन । अलग्गै आएर बसें, आज सकियो (कोभिड १९) भन्यो । नर्मल लाइफमै छु । आइसोलेसनमा बसेको भोलि (मंगलबार) २० दिन हुन्छ र घर फर्किनेछु ।’

आइसोलेसनमा रहँदा अरुबेलाजस्तै दैनिक १ घन्टा ‘वाकिङ’ गरिरहेको पनि उल्लेख गर्दै महासचिव श्रेष्ठले भने, ‘घरमा बस्दा अरुलाई सर्ने डर भयो । अरु क्वारेन्टाइन खासै व्यवस्थित छैन । हस्पिटलमा बस्नुपर्ने अवस्था होइन । त्यसैले आइसोलेसनको लागि कार्यालय नै सुरक्षित लाग्यो, कामको व्यस्तता पनि थिएन र यहीँ बस्यौं ।’

विश्वव्यापी फैलिएको महामारीको व्यवस्थापनलाई लिएर उनले सरकारप्रति भने गुनासो गरे, ‘सरकारी तहबाट कोरोना संक्रमितले के गरे, के गरेनन्, के के गर्नुपर्ने केही फलोअप भएन/छैन । केही प्रयास त गर्नुपर्छ नि ’ चिकित्सकको परामर्शअनुसार केही भिटामिन लिएपनि कुनैपनि औषधी सेवन नगरेको उनले बताए ।

महामारीलाई लिएर समाजमा बढेको विभेदप्रति उनी बोले, ‘समाचारमा तथा साथीभाइ, परिवारको कुराकानीमा कोरोनामात्रै छ । डर यसैको छ । मनोवैज्ञानिक त्रास छ । तर, मलाई कोरोना साधारण रुघाखोकीजस्तै लाग्यो । कोरोनाले के गर्नसक्छ भन्दापनि मनोवैज्ञानिक दबाबले धेरै समस्या गर्नेरहेछ । कोरोनासँग डराउनु पर्दैन । सामान्य खाना, इम्युनिटी पावर (रोग प्रतिरोधात्मक शक्ति) बढाउने खानेकुरा खायौं भने कोरोना संक्रमण भयो भनेपनि ठीक भइहाल्छ । सबैले सेचत भने हुनुपर्छ ।’ उनले थपे, ‘कोरोना संक्रमितलाई समाजमा गरिने अवहेलना, हेप्ने तरिका भने खतरनाक हो । मर्नेभन्दा बाँच्ने धेरै छन् । त्यसैले आफूभित्रको डर निकालेर कोरोना हुनेबित्तिकै मर्दैन भन्नेमा ढुक्क हुनुपर्छ ।’

चीनको वुहानबाट नौ महिनाअघि फैलिएको कोरोना भाइरसप्रति सबै सचेत हुनुपर्ने वउल्लेख गदै महासचिव श्रेष्ठले भने, ‘कुनैपनि मान्छेले कोभिड १९ बोकेर हिँडेको हुनसक्छ । तर, ममा जस्तै यसको कुनैपनि लक्षण नदेखिन सक्छ । मजस्तै साइलेन्ट क्यारिअर यो समाजमा थुप्रै हुनसक्छ र मुख्य डर र समस्या पनि यही हो । यो भाइरस एक जनाले हजारौंलाई सार्नसक्छ भनिन्छ । लक्षण नदेखिएपनि म जस्तै साइलेन्ट क्यारिअर जो पनि हुनसक्छ, कोरोना बोकेर हिँडिरहेको हुनसक्छ । त्यसैले आफूले कसैलाई भाइरस सार्न नसोकोस् भन्नेमा सचेत हुनुपर्छ । त्यसको लागि मास्क लगाउने, समूहमा नजाने, अत्यावश्यक परिस्थितिबाहेकमा घरबाहिर ननिस्कने लगायत डब्लूएचओ (विश्व स्वास्थ्य संगठन) र सरकारको मापदण्डलाई हामी सबैले पूर्ण पालना गर्नु एकदमै महत्वपूर्ण देखेको छु ।’

प्रकाशित : भाद्र २२, २०७७ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?