कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेसी र बार्सिलोना अनिर्णीत हुँदै

एपी

बार्सिलोना — बार्सिलोनामा लियोनल मेसीको भविष्य अझ अनिश्चित र अन्योलपूर्ण भएको छ । मेसीका बुबाले बुधबार बार्सिलोनाका पदाधिकारीसँग भेटेका छन्, तर त्यो बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

मेसी र बार्सिलोना अनिर्णीत हुँदै

क्लबका अध्यक्ष जोसेप बार्टोमेउ र जोर्गे मेसीबीच ९० मिनेट छलफल भएको थियो । अर्जेन्टिनी स्टार मेसीले क्लब छाड्ने औपचारिक पत्र पठाएपछि सिर्जित स्थितिलाई लिएर दुवै पक्षबीच कुराकानी भए पनि कुनै एकले समाधान प्रस्तुत गर्न सकेनन् ।

गत सातामात्रै मेसीले आफू क्लब छाड्न चाहेको बताएका थिए । यसक्रममा उनले दुईबीचको अनुबन्धमा रहेको बुँदा उपयोग गर्न चाहेका थिए । त्यस बुँदाअनुसार मेसीले आफू चाहेको स्थितिमा क्लब छाड्न सक्ने बताइएको छ । तर बार्सिलोनाले भने यो बुँदा जुन महिनामै निस्क्रिय भइसकेको मान्छ । त्यसअनुसार बार्सिलोना सन् २०२१ सम्म बार्सिलोनामै बस्नुपर्ने हुन्छ । मेसीलाई अरू कुनै क्लबले किन्नुपर्ने हो भने अनुबन्ध अनुसार ७० करोड युरो तिर्नुपर्नेछ ।

त्यस बैठकमा बार्सिलोनाको तर्फबाट पदाधिकारी जाभियर बारडास र मेसीको तर्फबाट उनका दाजु रोडरिगो पनि बसेका थिए । यस्तै मेसीका वकिलको पनि बैठकमा प्रतिनिधित्व थियो । बैठक सौहार्दपूर्ण रूपमा अगाडि बढे पनि जोर्गे मेसी आफ्ना छोराले क्लब छाड्न पाउनुपर्छ भन्ने अडिग रहे भने बार्सिलोनाले यसलाई कुनै पनि हालतमा स्विकार्न नसकिने बताएको थियो । दुई पक्षबीच थप बैठक कहिले बस्ने हो, त्यसबारे निर्णय भएको छैन ।

बार्सिलोनाले भने लियोनल मेसीले आफ्नो जिद्दी छाडेर क्लबमै बस्न तयार हुने विश्वास पोखिरहेको छ । मेसी पक्षले भने कोरोना भाइरस संक्रमणको महामारीका कारण लिग र सिजन नै पछाडि धकेलिएको हुनाले खेलाडीले क्लब छाड्न पाउने समय पछाडि सार्नुपर्ने जिकिर गर्दै आएको छ ।

जोर्गे मेसी आफ्ना छोराका एजेन्ट पनि हुन् । उनी बुधबार सबेरै अर्जेन्टिनाबाट स्पेन आइपुगेका थिए । विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले भनेका थिए, ‘मलाई केही पनि थाहा छैन ।’ पछि स्पेनी टेलिभिजनमा भने जोर्गे मेसीले आफ्ना छोरालाई अब बार्सिलोनामा रहन गाह्रो हुने बताएका थिए । तर उनले यसको कारण भने भनेनन् । बार्सिलोनाले भने मेसीलाई छाड्न तयार नभएको र मेसीले क्लबसँगको अनुबन्ध बढाउन चाहे, त्यसमा भने छलफल गर्न सहमत रहेको बताएको छ । बार्सिलोनाले मेसीलाई थप दुई वर्षको अनुबन्ध लम्ब्याउने प्रस्ताव राखेको छ । यो सम्भव भएमा मेसी सन् २०२२–२०२३ सम्मका लागि क्लबमै रहने छन् ।

बार्सिलोनाले मेसीसँग सिधा व्यक्तिगत रूपमा कुरा गर्न चाहेको र यसक्रममा उनको गुनासो सुन्न चाहेको पनि जनाएको छ । क्लबले मेसीलाई क्लबमै राख्न मनाउन आफूहरूले अन्तिम समयसम्म सक्दो प्रयास गर्ने जनाएको छ । बार्सिलोना मेसीको खेलजीवन क्लबमै टुंग्याएको हेर्न चाहन्छ । मेसीले दुई दशक अगाडि बार्सिलोनाबाट नै आफ्नो व्यावसायिक खेलजीवन सुरु गरेका थिए । यसबीचमा उनी बार्सिलोना क्लबकै प्रतीकको रूपमा स्थापित भएका थिए ।

मेसीले युरोपेली च्याम्पियन्स लिगमा बायर्न म्युनिकसँग ८–२ को हार बेहोरेयता बार्सिलोनाका कोही पदाधिकारीसँग कुराकानी गरेका छैनन् । त्यस हारसँगै बार्सिलोना सन् २००७–२००८ यता पहिलोपल्ट पूरा सिजन कुनै उपाधि जित्न असफल भएको थियो । यो सिजन मेसीले सुरुदेखि नै क्लबका पदाधिकारीको आलोचना गर्दै आएका छन् । मेसी बार्सिलोनाको पहिलो अभ्यास सत्रमा सहभागी भएनन् । यस्तै उनी कोभिड–१९ परीक्षणमा पनि सहभागी भएनन् ।

प्रकाशित : भाद्र १९, २०७७ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?