कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमणमुक्त फुटबलर भन्छन् : ‘कोरोनाभन्दा छिमेकीको व्यवहारले हतोत्साही बनायो’

एरिक विष्टले कोरोना संक्रमण प्रचार गरिएजस्तो भयानक नरहेको अनुभव सुनाए । ‘कोरोना महामारी विश्वभर नै व्याप्त छ । यसलाई जति ठूलो बनाइएको छ, त्यस्तो होइन रहेछ भन्ने लाग्यो । संक्रमण भए विशेष सावधानी अपनाए यसलाई सहजै निर्मूल पार्न सकिने रहेछ ।’
कुशल तिमल्सिना

काठमाडौँ — फुटबलर एरिक विष्टले २२ दिनपछि कोरोना भाइरसको संक्रमण जितेका छन् । राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प सुरु गर्ने तयारीस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५५ जना खेलाडी तथा अफिसियलको कोरोना परीक्षण गरेकामा उनीमात्र संक्रमित पुष्टि भएका थिए ।

संक्रमणमुक्त फुटबलर भन्छन् : ‘कोरोनाभन्दा छिमेकीको व्यवहारले हतोत्साही बनायो’

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण राजधानीलगायत देशका अधिकांश स्थानमा लकडाउन गरिएको छ । नेपालमा यसको संक्रमित दर बढिरहेको अवस्थामा एरिक संक्रमण हुने एक्ला राष्ट्रिय फुटबलर हुन् ।

संक्रमण पुष्टिपछि एरिक घरमै आइसोलेसनमा बसेका थिए । मंगलबार गरिएको पुनः परीक्षणमा उनी संक्रमणमुक्त भएको नतिजा बुधबार आयो । यसबीचमा उनले पूर्ण स्वास्थ्यसुरक्षा अपनाएर बसेका थिए । एन्फाले साउन २५ र २७ गरी २ चरणमा राष्ट्रिय पुरुष फुटबल टिम र अफिसियलको कोरोना परीक्षण गराएको थियो ।

फिफा विश्वकप र एएफसी एसियन कप छनोटअन्तर्गत बाँकी खेलका लागि प्रशिक्षण सुरु गर्ने एन्फाको तयारी थियो । तर कोरोनाकै कारण फिफा तथा एएफसीका कार्यक्रमहरू सन् २०२० सम्म स्थगित भएका छन् ।

‘राष्ट्रिय टोलीको सामूहिक परीक्षण गर्दा मेरो नतिजा शंकास्पद देखिएपछि एन्फाका टिम म्यानेजर, डाक्टर र फिजियोले सम्पर्क गरी पुनः परीक्षण गर्न भन्नुभएको थियो । लगत्तै ह्याम्स अस्पतालमा परीक्षण गराउँदा कोरोना पोजिटिभ देखियो । त्यसपछि मैले आफूलाई पूर्ण आइसोलेट गरें,’ एरिकले बुधबार कान्तिपुरसँग भने, ‘मेरो परिवारमा बाबा/मम्मी बिरामी हुनुहुन्छ । उहाँहरूलाई पनि संक्रमण सर्‍यो कि भन्नेमा चिन्ता लागेको थियो । उहाँहरूको रिपोर्ट नेगेटिभ आएपछि ढुक्क भएँ ।’

एरिकले कोरोना संक्रमण प्रचार गरिएजस्तो भयानक नरहेको अनुभव सुनाए । संक्रमण देखिएपछि उनमा कुनै लक्षण देखिएको थिएन । ‘संक्रमण भएपछि टेकु अस्पतालबाट फोन आएको थियो । उहाँहरूले भनेजस्तै दिनको तीनपल्ट ज्वरो नाप्ने, तातोपानी खाने र नियमित खानेकुरा खाने गरेरै मैले कोरोना जितेको हो,’ उनले भने, ‘कोरोना महामारी विश्वभर नै व्याप्त छ । तर यो सामान्य खाले भाइरस रहेछ । यसलाई जति ठूलो बनाइएको छ, त्यस्तो होइन रहेछ भन्ने लाग्यो । संक्रमण भए पनि विशेष सावधानी अपनाए यसलाई सहजै निर्मूल पार्न सकिने रहेछ ।’ एन्फा एकेडेमीका उत्पादन एरिक पहिलोपल्ट राष्ट्रिय टोलीको प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाइएका थिए । कोरोना परीक्षणमा आफ्नो मात्र संक्रमण देखिँदा आत्तिएका उनलाई एन्फाका अधिकारी, फिजियो, टिम म्यानेजरलगायतले हौसला दिए । ‘सुरुमा त मलाई कसरी संक्रमण भयो भन्ने लाग्यो ।

फाइल तस्बिर : हाम्रो खेलकुद

म काठमाडौं बाहिर गएको थिइनँ । मम्मीको उपचारका लागि अस्पताल गएको थिएँ, त्यतैबाट सरेजस्तो लाग्यो,’ उनले सुनाए, ‘संक्रमित भएपछि केही दिन निराश भएँ । फुटबल खेल्नै पो सक्दिनँ कि भन्ने पनि लागेको थियो । सबैको साथ र हौसलाले पूर्ण निको भएँ ।’ कोरोनालाई जिते पनि आफू र आफ्ना परिवारलाई छिमेकीले गरेको व्यवहारको भन्ने उनी कहिल्यै भुल्ने छैनन् । कोरोना लागेको घर भनेर छिमेकबाट गरिने हेय व्यवहारले नै यो संक्रमणको महामारीले विकराल रूप लिन लागेको उनको अनुभव छ ।

‘कुनै लक्षण नदेखिएको र पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर बसेकाले मलाई यसबीचमा कहिल्यै पनि गाह्रो भएन । म नियमित व्यायाम र वर्कआउट गरिरहन्थें । संक्रमित भएपछि पनि घरको छतमा गएर व्यायाम गर्दा छिमेकीले हातको इशाराले कोरोना लागेको यसैलाई हो भन्ने व्यवहार गर्ने, बोल्दा पनि सर्छजस्तो गर्ने, तरकारी खाद्यान्न पसलेले त्यस्तै व्यवहार गर्दा नराम्रो लाग्यो,’ उनले दुःखेसो पोखे ।

त्यसो त एरिकमा संक्रमण देखिएको भनेर केही सञ्चारमाध्यममा समाचार पनि आएको थियो । स्वास्थ्य मन्त्रालयले नै संक्रमितको नाम गोप्य राखिरहेकोमा नामै उल्लेख गरी समाचार आउँदा सबैतिर हल्ला भएकोमा उनलाई नराम्रो लागेको रहेछ । ‘खासमा मैले सामाजिक सन्जालबाटै आफू संक्रमित भएको थाहा पाएको हो । टेकुबाट त बेलुकामात्र फोन आयो । त्यसबीचमा फोन कल, म्यासेज धेरै आएर यसले मानसिक रूपमा कमजोर बनाउँदो रहेछ,’ उनले थपे ।

कोरोनालाई परास्त गर्ने सबैभन्दा उत्कृष्ट तरिका भनेकै उच्च मनोबल हो । एरिकले आफूलाई परिवार टिममेट र आफन्त साथीभाइको साथले आत्मविश्वास बनाउन सहयोग गरेको अनुभव सुनाए । उनले भने, ‘यसबीचमा सबैले हौसला दिनुभयो । सन्तुलित आहारका अतिरिक्त गीत सुन्ने, वेब सिरिजहरू गर्ने गरेर आफूलाई व्यस्त बनाएँ ।’

एरिकले उमेर समूहको राष्ट्रिय टिम यू–१८, यू–१९ र यू–२३ मा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । सिनियर टिमका लागि उनलाई पहिलोपल्ट बोलाइएको थियो । घरेलु फुटबलमा एनआरटीबाट ‘ए’ डिभिजन लिग खेलेका उनले अघिल्लो वर्ष त्रिभुवन आर्मीबाट खेलेका थिए ।

प्रकाशित : भाद्र १८, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?