कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ड्वाइने ब्राभो : २० लिग र ५ सय विकेट

वेस्ट इन्डिजका अलराउन्डर ड्वायने ब्राभोका अनेक विशेषता छन् । तर उनी ब्याट्सम्यान जस्ता पनि देखिँदैनन्, न त बलर जस्ता । त्यही पनि उनी निकै सफल खेलाडी हुन् र ट्वान्टी–२० मा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।
एपी

ट्रिनिडाड — ट्वान्टी–२० क्रिकेटमा कसैले पनि अझसम्म ४ सय विकेटको कोसेढुंगा छोएका छैनन् । तर वेस्ट इन्डिजका ड्वायने ब्राभोले ५ सय विकेट पार गरिसकेका छन् ।

ड्वाइने ब्राभो : २० लिग र ५ सय विकेट

ट्रिनिडाड एन्ड टोबागो राइडर्सबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा बुधबार सेन्ट लुसिया जुक्सका रखिम कोर्नवाललाई आउट गर्दै उनी अनुपम उपलब्धिमा पुगेका थिए ।

वेस्ट इन्डिजका अलराउन्डर ब्राभोका अनेकन विशेषता छन् । तर उनी ब्याटस्म्यानजस्ता पनि देखिँदैनन्, न त बलर जस्ता । त्यही पनि उनी निकै सफल खेलाडी हुन् । त्यसैले उनलाई यो छोटो भर्सनको क्रिकेटमा निकै सफल खेलाडीमा उभ्याएको छ ।

एउटा उदाहरण जुक्ससँगको त्यही खेललाई लिन सकिन्छ, जसमा उनले ३ ओभरमा ७ रनमात्र दिएका थिए । अर्थात् उनी अझै कति उपयोगी छन् भन्ने यथेष्ट प्रमाण हो । उनी निकै सटिक बलिङ गर्छन् । ब्याट्सम्यानलाई बुझेर बल फाल्छन् र धेरै योर्कर बर्साउँछन् । स्लग ओभरमा ब्याटिङ घुमाउनु र म्याच फिनिस गर्नुको उनको खुबी हो ।

उनी अहिले ३६ वर्षका भइसके । ‘४० भनेको भर्खरको ३० हो,’ ब्राभो उमेरलाई अंकमा मात्र सीमित राख्छन् र ट्वान्टी–२० युवाका लागि मात्र हो भन्ने पुरानो भनाइ मिथ्या साबित गर्छन् । ब्राभो खेलाडीको उमेर नभई उसको प्रदर्शनका आधारमा मूल्यांकन गर्न अनुरोध गर्छन् । उनी यसमा महेन्द्रसिंह धोनी (३९ वर्ष), क्रिस गेल (४०), शेन वाटसन (३९), इमरान ताहिर (४१), सोएब मलिक (३८) र शुक्रबार ३८ वर्ष लागेका लासिथ मालिङ्गालाई उदाहरण दिँदं आफ्नो समूहमा राख्छन् ।

यीमध्येका केही खेलाडी निश्चय पनि प्रत्येक खेलमा उत्रन सक्दैनन् । तर जुन खेलका लागि मैदान प्रवेश गर्छन् त्यसमा खरो उत्रन्छन् । जस्तो लासिथ मालिङ्गाले गत सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) को चेन्नई सुपर किंग्सविरुद्ध फाइनलमा सनसनी बलिङ गर्दै ८ रनको रक्षा गरेका थिए । ब्राभोसँगै चेन्नईबाट खेल्ने ताहिरले गत सिजनमा सर्वाधिक विकेट लिँदै ‘पर्पल क्याप’ जितेका थिए ।

उनले विश्वका सबैजसो फ्रेन्चाइज लिग खेलेर सर्वाधिक विकेट लिने खेलाडीमात्र नभएर वेस्ट इन्डिजकै खेलाडी किइरन पोलार्ड, एन्ड्रयु रसेलसँगै अधिकांश प्रतियोगिता जितेका पनि छन् । ब्राभोले विश्वका २० लिग खेलेका छन् । आईपीएलमै उनले चेन्नईअघि मुम्बईबाट खेलेका थिए । उनले सन् २०१३ को आईपीएलका १८ खेलमा ३१ विकेट लिएका थिए । एकै ट्वान्टी–२० लिगमा यो दोस्रो सर्वाधिक विकेट हो । २०१० मा दक्षिण अफ्रिकी बलर अल्फान्सो थोमसले इंग्ल्यान्डको फ्रेन्ड्स प्रोभिडेन्ट ट्वान्टी–२० मा समरसेटबाट खेल्दै १९ खेलमा ३३ विकेट लिएका थिए ।

उनले ४ सय ६० खेलमा ५ सय २ विकेट लिइसकेका छन्, यसमा ७१ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दै ५९ विकेट लिएका छन् । सन् २००६ मा वेस्ट इन्डिजले न्युजिल्यान्डविरुद्ध खेल्दा ब्राभोले ट्वान्टी–२० मा ‘डेब्यु’ गरेका थिए । वेस्ट इन्डिज क्रिकेट बोर्डसँग उनको खासै राम्रो सम्बन्ध छैन । त्यसैले उनको ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल निकै कम छ । उनले वेस्ट इन्डिजबाट अन्तिम पटक टेस्ट सन् २०१० मा एकदिवसीय अन्तर्राष्ट्रिय २०१४ मा खेलेका थिए । उनी ट्वान्टी–२० मै केन्द्रित भए र आज ५ सय विकेटको कीर्तिमानमा उभिए ।

प्रकाशित : भाद्र १४, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?