कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानचेस्टरका मगायरलाई गाह्रो

धेरैको आरोप छ, ह्यारी मगायर जत्तिको खेलाडी किन यसरी झगडा र विवादमा उत्रिनुपरेको थियो ? यस्तो झगडाबाट कसैको प्रतिष्ठामा आँच आउने भनेको त्यो खेलाडीकै त हो । मगायरको खेलाडी जीवन पनि अहिलेसम्म विवादमुक्त हुन सकेका छैन ।
द डेलिमेल

लन्डन — म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मगायरका लागि पछिल्ला केही दिन निकै तनावपूर्ण रह्यो । गाह्रो पर्‍यो भन्दा हुन्छ । कम्तीमा इंग्लिस फुटबल टिम र म्यानचेस्टर भने उनको पक्षमा देखिएका छन् ।

म्यानचेस्टरका मगायरलाई गाह्रो

म्यानचेस्टरले भनिसकेको छ, अबको सिजन पनि कप्तान उनै हुनेछन् । मंगलबारमात्रै उनलाई ग्रिसको एक अदालतले २१ महिनाको जेल सजाय सुनाएको थियो । उनीमाथि लागेका आरोप थिए– झगडामा उत्रनु, गिरफ्तारी रोक्ने प्रयास गर्नु र घूस खुवाउन खोज्नु ।

यी तीनै आरापमा मगायरलाई दोषी ठहराएको थियो । सिरोस टापुमा रहेको अदालतले यो निर्णय सुनाएको हो । उनी त्यहीं पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उनीसहित तीन भाइ र साथी थिए । म्यानचेस्टरका लागि फुटबल सिजन सकिएयता उनी बिदा मनाउन ग्रिस निस्केका थिए । उनी त्यहीं भएको लफडामा नराम्रोसँग फसे । मगायरको दाबी छ, झगडाको कारण आफ्नी बहिनीलाई त्यस्तो इन्जेक्सन दिइएको थियो, जसले बलात्कारको घटना गराउन मदत मिल्छ ।

तर बुधबार हुँदासम्म नयाँ निर्णय आयो । म्यानचेस्टरकै अनुसार आफ्ना खेलाडीले कानुनी टोली पठाएर अपिल गरेको छ र त्यसलाई अदालतले स्विकारेको पनि छ । त्यसको अर्थ हुन्छ, अहिले तत्कालका लागि मगायरमाथि ठ्याक्कै अपराध पुष्टि भइसकेको छैन । भन्नाले अदालतले उनलाई फेरि दोषी ठहर नगरेसम्मका लागि अपराधी मानिने छैन । अनि यो अदालती प्रक्रिया केही नभएर दुई वर्षसम्म लम्बिन सक्छ ।

मगायर स्वयं अहिले इंग्ल्यान्ड पुगिसकेका छन् । तर उनलाई सबै घटनाक्रमबीच पहिलो धक्का भने लागिसकेको छ । इंग्लिस टिमका प्रशिक्षक ग्यारेथ साउथगेटले घोषणा गरेको टिममा मगायरलाई हटाइएको छ । त्यसको अर्थ उनी अर्को महिना हुने नेसन्स लिग खेलमा देखिने छैनन् । साउथगेटले सुरुआती खेलाडी सूचीमा मगायरको नाम त राखेको थियो, तर विषम परिस्थितिमा अहिले तत्कालका लागि उनलाई नखेलाउनु नै ठीक मानेका थिए ।

खासमा घटना के थियो त ? घटना अगस्ट २१ को हो । उनी अबेर राति बिदा मनाउने क्रममा एउटा जमघटमा थिए । त्यहीं झगडा सुरु भयो । हात हालाहालको स्थिति आयो । पछि त्यहाँ ग्रिक प्रहरी आइपुग्यो । प्रहरीसँग पनि विवाद भएपछि मगायरले भनेका रहेछन्, ‘के तिमीहरूले मलाई चिन्छौं ? म म्यानचेस्टर युनाइेडको कप्तान हुँ ।’ तनाव अझै बढेपछि उनले ग्रिक प्रहरीलाई घुसको प्रस्ताव राखे । किनकि घटना सामसुम पार्नु थियो ।


अझ घटनाबारे बाहिर के तथ्य आएको छ भने एक प्रहरी र मगायरबीच शारीरिक झगडा पनि भयो । त्यसक्रममा ती प्रहरीले उनको खुट्टामा प्रहार गर्दै भनेका रहेछन्, ‘तिम्रो खेलजीवन अब यहीं सकियो ।’ घटना लगत्तै त्यसले ग्रिसको मात्र नभएर इंग्ल्यान्डको मिडियामा पनि समाचार आइहाल्यो । उनको हुनसम्म बदनामी भयो । पूरा घटनाक्रमलाई लिएर फुटबल पण्डितहरूले उनको खुबै आलोचना गरेका छन् । उनको खिल्ली उडाउने प्रयास गरेका छन् ।

धेरैको आरोप छ, मगायर जत्तिको खेलाडी किन यसरी झगडा र विवादमा उत्रिनुपरेको थियो र ? यस्तो झगडाबाट कसैको प्रतिष्ठामा आँच आउने भनेको त्यो खेलाडीकै त हो । मगायरको खेलाडी जीवन स्वयं पनि अहिलेसम्म विवादबाट मुक्त हुन सकेका छैनन् र आलोचकहरू उनी जत्तिको खेलाडी अहिले जहाँ जुन स्थितिमा पुगे, त्यो नै ठूलो हो सम्म भन्छन् । यी सेन्टर ब्याकलाई आलोचकहरू उच्च स्तरका खेलाडी मान्दैनन् ।

म्यानचेस्टरका लागि उनको प्रदर्शन पनि समानस्तरको हुने गरेको छैन । त्यसमा निकै उतारचढाव रहेको छ । खास–खास खेल, निर्णायक क्षणमा नराम्रो प्रदर्शनका लागि इंग्लिस मिडियाले उनलाई उडाउने पनि गरेको छ । सन् २०१९ को मे महिनामा उनी लेस्टर सिटीबाट म्यानचेस्टर आएका थिए र त्यतिबेला पनि उनलाई चर्को मूल्य तिरियो भनेर क्लबको आलोचना भएको थियो । उनलाई म्यानचेस्टरले ८ करोड पाउन्ड तिरेको मानिन्छ । यसक्रममा उनी सर्वाधिक महँगा डिफेन्डर पनि भएका थिए ।

त्यसको पनि दुई वर्षअगाडि उनी लेस्टर पुगेका थिए । त्यतिबेला उनलाई एक करोड ७० लाख पाउन्ड तिरिएको थियो । उनी खासमा सेफिल्ड युनाइटेडका खेलाडी हुन् र आफ्नो सुरुआती खेलजीवन त्यहींबाट सुरु गरे । त्यसपछि हल सिटी गएका मगायरले एक वर्ष विगानमा ऋणमा पनि बिताए । म्यानचेस्टर आएयता उनको चर्चा चुलिएको थियो भने आलोचना बढेको थियो । पछिल्लो घटनाक्रमले उनलाई अझै गाह्रो हुने निश्चित छ ।

प्रकाशित : भाद्र १२, २०७७ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?