कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गालाको त्यो तिलकोठी

टेलिभिजन हेर्दै गर्दा मञ्जित श्रेष्ठले पाकिस्तानका अजहर अलीको ब्याटिङमा अनुभव र स्तर पाए । १८ वर्षअगाडि अली यस्ता थिएनन् । उनी नेपाली खेलाडीकै औसतमा थिए । त्यतिखेर मुख्य त उनी ब्याट्सम्यान नै थिएनन् ।
विनोद पाण्डे

काठमाडौँ — ७–८ वर्षअघि जस्तो हो मञ्जित श्रेष्ठ टेलिभिजनमा क्रिकेटको प्रत्यक्ष प्रसारण हेर्दै थिए । पाकिस्तानी एक खेलाडीलाई उनले कतै प्रत्यक्ष भेटेजस्तै लाग्यो । आफूसँगै खेलेका खेलाडीलाई उनले ठम्याइहाल्थे । उनलाई कहाँ भेटेको भनेर मञ्जित एकछिन घोत्लिए । 

गालाको त्यो तिलकोठी

ब्याटिङ गर्दै जाँदा टेलिभिजनमा ती पाकिस्तानी खेलाडीको अनुहार नजिकबाट मञ्जितले देख्न पाए । गालामा तिलजस्तो देखे, जुन कोठी थियो । त्यही कोठी देखे अनि उनले ठ्याक्कै चिनिहाले । उनी त आफैंसँग न्युजिल्यान्डमा भएको आईसीसी यू–१९ विश्वकप खेलेका पाकिस्तानी बलर अजहर अली पो रहेछन् । मञ्जितले उनलाई ठ्याक्कै नचिन्नुको कारण एउटा के थियो भने सन् २००२ मा नेपालले पाकिस्तानसँग यू–१९ विश्वकपमा प्रतिस्पर्धा गर्दा अली न्युजिल्यान्डमा बलरको भूमिकामा थिए । मञ्जितले टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्दा अली माथिल्लो क्रममा मजाले ब्याटिङ गरिरहेका थिए । त्यसले पनि दुविधा बनाइदियो ।

त्यसयता मञ्जित उनै अलीको खेल पछ्याइरहेका छन् । झन् अहिले लकडाउन र निषेधाज्ञाका कारण घरबाहिर जाने अवस्था छैन । टेलिभिजन हेर्नुबाहेक अन्य कम विकल्प छ उनीसँग । संयोगले यही समयमा पाकिस्तानी कप्तानको ब्याट इंग्ल्यान्डमा चम्किएको छ । इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा तेस्रो नम्बरमा ब्याटिङ गर्दै उनले अविजित १ सय ४१ रन बनाएका थिए । इंग्ल्यान्डले ५८३–८ मा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेपछि उनले उक्त इनिङ्स खेलेका थिए । उनको बहादुरीपूर्ण शतकले पनि पाकिस्तानको फलोअन टार्न सकेन ।

अलीको यो इनिङ्सको तारिफ गर्नेमा विश्व कीर्तिमानी ब्याट्सम्यान ब्रायन लारा पनि रहे । अलीको शतकीय इनिङ्सलाई लाराले आधुनिक क्रिकेटमा कप्तानहरूको एक उत्कृष्ट इनिङ्स भन्दै आफूले टीभीको रिमोट नचलाई पूरै इनिङ्स हेरेको जनाए । अलीले टेस्टमा १७ शतक बनाइसकेका छन् र उनको औसत ४२ भन्दा माथि छ । जबकि त्यतिबेला नेपालसँग खेल्दा बलर रहेका अलीको नाममा ८ टेस्ट विकेटमात्र छ ।

मञ्जित पनि अलीको इनिङ्स टीभीमा नै हेर्दै थिए । ‘कोरोनाका बेला घरमा बसेर टीभी हेर्दा ठूलो टाइमपास भएको छ, रमाइलो भइरहेको छ । म टेस्ट खासै हेर्दिन थिएँ । अहिले मजा आइरहेको छ,’ मञ्जितले कान्तिपुरसँग भने, ‘अलीले ब्याटिङ गरिरहेकाले पनि होला हेर्न रमाइलै लागिरहेको छ । यू–१९ विश्वकपमा खेल्दा उनी लेग स्पिनर थिए । ब्याटिङ गर्न तल्लोक्रममा आउँथे । गालामा कोठी देखेर मैले उनलाई ७–८ वर्षअगाडि याद गरेको थिएँ । उनी ब्याट्सम्यान भइसकेका थिए ।’ न्युजिल्यान्डमा त्यो बेला पाकिस्तानमाथि नेपालले सनसनीपूर्ण नतिजा निकालेको थियो । नेपालको ३० रनको जितले विश्व क्रिकेटलाई आश्चर्यमा पारेको थियो । टेस्ट खेल्ने राष्ट्रमाथि नेपालको यो पहिलो विजय थियो । त्यसयता नेपालले बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, जिम्बावे, भारतलाई पराजित गरिसकेको छ । विनोद दासको कप्तानीमा रहेको नेपाल ४८.५ ओभरमा १ सय ५१ रनमा अलआउट भएको थियो । जवाफमा पाकिस्तानलाई ४१.४ ओभरमै १ सय २१ रनमै अलआउट गरेको थियो नेपालले ।

मञ्जितले १७ रन बनाएका थिए । त्यसमध्ये जुनैद जियालाई लगातार तीन चौका प्रहार गरेको उनलाई धमिलो सम्झना छ । पाकिस्तानी टोली सलमान बटको नेतृत्वमा थियो । बट, अली, जियासहित नेपालसँग खेलेको त्यो टोलीका उमर गुलले पछि पाकिस्तानको राष्ट्रिय टोलीबाट खेले । मञ्जितलाई उनै गुलले आउट गरेका थियौं । अलीले नेपालसँग ४ ओभरमात्र गरेर १३ रन दिएका थिए । ब्याटिङमा आठौं नम्बरमा ब्याटिङ गर्दै अविजित ८ रन बनाएका थिए ।

‘टेलिभिजन हेर्दै गर्दा पाकिस्तानलाई जितेका थियौं भन्ने भयो । त्यसपछि सबै पाकिस्तानी खेलाडीको याद आयो । अली अलिकति एक्टिभ देखिएका थिए । युवामा ह्यान्डसम थिए, फिल्डिङ पनि राम्रो थियो । बलिङ उसको राम्रो भएको थिएन,’ मञ्जितले भने, ‘उमर गुलको बलमा ब्याड आँखा चिम्लेर घुमाएको थिएँ, पहिलो स्लिपमा गएछ । उफ्रेर सानदार क्याच लिइहाले, मैले पछाडि फर्केर हेर्न पनि भ्याइनँ ।’ नवौं विकेट लिएपछि मात्र नेपालले जित्छ भन्ने भएको मञ्जित स्मरण गर्छन् । ‘नवौं विकेटका ब्याट्सम्यानले प्रहार गरेको बल शर्ट फाइन लेगमा गयो । लाक्पा लामा बलको अगाडि थिए । बल उसको माथि उड्दा हामी प्रायः सबै खेलाडीको मन चिसो भएको थियो । लाक्पाको हात सानो थियो, क्याच फुत्काइरहन्थ्यो । ग्राउन्ड फिल्डिङमा भने एकदमै फूर्तिलो थियो,’ मञ्जितले सम्झिए, ‘जित्नेबित्तिकै आँखा चिम्लेर कुदेका थियौं । ड्रेसिङ रूममा हामी खुसीले रोएका थियौं । पाकिस्तानलाई जितेपछि हाम्रो सान नै अर्कै भयो । सबै टिम युनिभर्सिटीको एकै होस्टेलमा बसेका थियौं, सबैलाई हामीलाई हेरिरहेका हुन्थे । खाना खाँदा हाम्रै कुरा हुन्थ्यो । त्यो नतिजाले पूरा प्रतियोगिता राम्रो खेल्न प्रेरित गर्‍यो ।’

मैदान प्रवेश गर्नुअघि नेपाली खेलाडीको मनोबल ठीक त्यसविपरीत जस्तै रहेको मञ्जित बताउँछन् । ‘जित–हार आफ्नो ठाउँ छ, केही गरौं भन्ने थियो । जोस ठूलो थियो खेल्नुअघि । उनीहरूको पेस बलिङ निकै राम्रो थियो, त्यो पेस खेल्ने क्षमता हामीसँग त थियो । तर एक्सपोजर नभएर ब्याट्सम्यान केही डराएका थिए । करङमा बल आयो भने करङ भाँचिन्छ है भनेर मैदानबाहिर जिस्किन्थ्यौं । मैदानभित्र गएपछि त्यो डर हराएर जान्थ्यो । खेल्दै गएपछि आत्मविश्वास बढ्थ्यो । हामीले दुई पटक यू–१७ सँग सँगै खेलिसकेका थियौं । त्यहीअनुसार हाम्रो अनुभव बढ्दै गएको थियो । त्यसै भएर सजिलै हारिन्छ भन्ने थिएन । जितिन्छ भन्ने पनि थिएन,’ अली र पाकिस्तानसँग खेलेको क्षण स्मरण गर्दै मञ्जितले सुनाए ।

उनी पुलिस क्लबमा भर्ना भएको नै १५ वर्ष पुग्न लागिसक्यो । बढीमा २ वर्ष खेल्ने लक्ष्यमा छन् उनी । सन् २०१३ मा अन्तिम पटक राष्ट्रिय टोलीबाट एसीसी ट्वान्टी–२० खेलेका थिए उनले । अली अहिले कहाँबाट कहाँ पुगे भनेर एकछिन टोलाउँछन् मञ्जित । ‘जति खेल्यो उति अनुभव बढ्ने हो । अली अहिले पूरै अनुभवले खेलिरहेका छन् । हामीले त्यसअनुरुप एक्सपोज पाएका थिएनौं । हामी पछिले केही मौका पायौं । त्यसअनुरुपको प्रदर्शन हाम्रो खेलाडीले दिन सकेका छन्,’ उनी सुनाउँछन् । म्याचको अनुभव त्यही भएर सबैभन्दा उपयोगी लाग्छ मञ्जितलाई । टेलिभिजन हेर्दै गर्दा उनले अलीको ब्याटिङमा अनुभव र स्तर पाए । १८ वर्षअगाडि अली यस्ता थिएनन् । नेपाली खेलाडीकै औसतमा थिए अली । त्यतिखेर मुख्य त उनी ब्याट्सम्यान नै थिएनन् ।

प्रकाशित : भाद्र १०, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?