कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पिङपोङ डिप्लोमेसीको ‘रिहर्सल’

ठ्याक्कै ५० वर्ष भयो, टेबलटेनिसका तत्कालीन विश्व च्याम्पियन चुयाङ चेतोङले नेपाल भ्रमण गरेको । नेपालमा टेबलटेनिसको निकै लामो र समृद्ध इतिहास छ । चेतोङकै भ्रमणपछि नेपालमा टेबलटेनिसको लोकप्रियता बढेको मानिन्छ । तिनै चेतोङविरूद्ध बेजोडले खेलेर एक सेट जित्ने खेलाडी हुन्, कल्याण पाण्डे ।
हिमेश

काठमाडौँ — पिङपोङ अर्थात् टेबलटेनिस । जति यो टेबलटेनिस खेल लोकप्रिय छ, उत्तिकै सुन्न पाइने शब्द हो– पिङपोङ । विश्व कूटनीतिमा सामान्य रुचि राख्नेका लागि पनि यो शब्द उत्तिकै प्रिय छ किनभने सन् ७० तिर विश्व राजनीतिमा यो सबैको मुखमा झुन्डिएको थियो । त्यतिबेला चीन र अमेरिकाबीचको सम्बन्ध सुधार्न दुई देशबीच टेबलटेनिस खेलाडी आदानप्रदान गरिएको थियो । यसलाई दुई देशबीचको सम्बन्धमा निर्णायक मोड मानिन्छ ।

पिङपोङ डिप्लोमेसीको ‘रिहर्सल’

पछि यही कारणले चीनमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको बहुचर्चित भ्रमण पनि सम्भव भएको थियो । पिङपोङ कूटनीति यति चर्चित हुनुअगाडि नै चीनले नेपालसँगको सम्बन्ध बलियो बनाउन टेबलटेनिसलाई माध्यम बनाइसकेको थियो । नेपालमा सर्वाधिक लोकप्रिय र पुरानो इतिहास भएको खेलमध्ये एक मानिन्छ, टेबलटेनिस । यसको इतिहास उत्तिकै समृद्ध पनि छ । राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका खेलमध्ये टेबलटेनिस तेस्रो स्थानमा आउँछ, क्रिकेट र एथलेटिक्सपछि ।

एक समय टेबलटेनिस काठमाडौंका घरघरमा, टोलटोलमा खेल्ने दिन पनि थियो । यो पनि सन् ७० तिरकै कुरा हो । त्यतिबेला नेपाली टेबलटेनिस खेलाडी सानले विदेश भ्रमणमा निस्कन्थे र ठुल्ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्थे । नेपाली खेलाडी चीनबाटै विदेशको प्रतियोगिता खेल्न निस्किन्थे । चीनले नेपाली खेलाडी भनेपछि खुबै माया गर्थ्यो । खेलाडीलाई चीनमै झिकाएर लामो समय प्रशिक्षण मात्रै गराउँदैनथ्यो, आफ्नै खर्चमा ती खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता पनि गराउँथ्यो ।

ती दिन सम्झँदा नेपाली टेबलटेनिसका पहिलो प्रशिक्षक आरआर जोशी दंग पर्छन् र यसबारे पूरा घटना सुनाउँदा खुसी हुन्छन् । उनलाई सबैले अहिले पनि आरआर गुरु भन्छन् । ती सायद नेपाली टेबलटेनिसका स्वर्णिम दिन थिए । अखिल नेपाल टेबलटेनिस संघका अहिलेका अध्यक्ष चतुरानन्द राजवैद्यलाई पनि ती दिनको हल्का सम्झना छ । आरआर गुरु र यी अध्यक्ष वैद्य के मान्छन् भने त्यतिबेला नेपाली टेबलटेनिस खेलाडीलाई सहयोग गर्न पाउँदा चीन अझ दंग हुन्थ्यो । धेरैभन्दा धेरै नेपाली खेलाडीले त्यतिबेला चीनको भ्रमण गरे र टेबलटेनिस सिके । यसक्रममा ठुल्ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाए । त्यति मात्र होइन, चीनले नियमित रूपमा आफ्नो प्रशिक्षकलाई नेपाल पठाएर टेबलटेनिस सिकाउने काम गर्‍यो । नेपाली खेलाडी चीन जाँदा चिनियाँ उच्च राजनीतिक नेता नै भेट्न आउँथे । त्यो समय चीनमा सांस्कृतिक क्रान्ति सकिएर देश आफैं रूपान्तर हुने क्रममा थियो । नेपाली टेबलटेनिस खेलाडीको एउटा यस्तै टोली २०२१ सालमा चीन पुगेको थियो । त्यसमा पहिलो पुस्ताका दुई खेलाडी थिए, ईश्वरी राणा र जीपी लोहनी । त्यतिबेला उनीहरूसँग तस्बिर खिच्न अगाडि आउनेमा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन–लाई पनि थिए । नेपाली टेबलटेनिस इतिहासमा यो खुबै चर्चित तस्बिर हो । यस्ता अन्य धेरै तस्बिर छन् ।

ठ्याक्कै ५० वर्षअगाडि एउटा यस्तै सम्झनलायक भ्रमण भएको थियो । यसको पृष्ठभूमि भने यसरी तयार हुन्छ । सन् १९६९ मा चीन र तत्कालीन सोभियत संघबीच युद्ध चलेको थियो । यस्तोमा चीनलाई लाग्यो, अब आफूले अमेरिकासँग सम्बन्ध बढाउनुपर्ने हुन्छ । तर त्यतिबेला चीन र अमेरिकाको राम्रो सम्बन्ध थिएन, अमेरिकाले चीनलाई औपचारिक रूपमा मान्यता पनि दिएको थिएन । त्यसैले चीनले सोच्यो, अमेरिकासँग सम्बन्ध बढाउने एक मात्र माध्यम खेलकुद हुन सक्छ, त्यो पनि टेबलटेनिस । यसबारे नेकपा नेता एवं परराष्ट्र मामिला जानकार मिलनराज तुलाधरले अध्ययन गरेका छन् । उनी भन्छन्, ‘त्यसको गृहकार्यका रूपमा केही उच्च चिनियाँ राजनीतिज्ञसहित टेबलटेनिस टिम नेपाल आएको थियो ।’ चिनियाँ टोलीमा सम्मिलित मन्त्रीस्तरका पूर्वखेलाडी थिए, सु इङ–सङ । उनले त्यो बेला नेपालका लगभग सबै राजनीतिक नेतालाई भेटे र पिङपोङ कूटनीति कस्तो हुनुपर्छ भन्ने खाका तयार पारे । पछि त्यसैमा टेकेर अमेरिकी राष्ट्रपति निक्सनले चीनको भ्रमण गरेका थिए ।

कूटनीतिविज्ञ तुलाधरका अनुसार यो नीति तयार पार्न सबैभन्दा ठूलो भूमिका तिनै प्रधानमन्त्री चाउ एन–लाईले खेलेका थिए । सन् १९७२ मा निक्सन चीन गएका थिए । त्यसको दुई वर्षअगाडि गृहकार्यका रूपमा चिनियाँ टोली नेपाल आएको थियो । फेरि त्यसअगाडि चीनले कुनै प्रकारको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलिरहेको थिएन, भर्खरजस्तो सांस्कृतिक क्रान्ति सकिएको थियो । नेपाल आएको चिनियाँ टोलीले दुई वर्षपछि जापानको नोगायामा भएको विश्व टेबलटेनिस च्याम्पियनसिप पनि खेल्यो ।

तत्कालीन राजा महेन्द्रको जन्मदिनको अवसर पारेर भ्रमण भएको थियो । चीनले त्यसैलाई भनेर त्यो समयका तीनपल्टका विश्व च्याम्पियन चुयाङ चेतोङ सम्मिलित टेबलटेनिस खेलाडीको समूहलाई काठमाडौं पठाएको थियो । तिनले सभागृहमा नेपाली खेलाडीसँग मैत्रीपूर्ण खेल खेलेका थिए । नेपाल आएका चर्चित र सफल खेलाडीमध्ये चेतोङको नाम सबैभन्दा अगाडि आउँछ । उनलाई चीनको पहिलो पुस्ताका सफल खेलाडी मानिन्छ ।

त्यतिबेला काठमाडौंमा सबैभन्दा ठूलो सभा गर्न लायक भवन भनेकै सभागृह मात्र थियो, त्यो भर्खरै बनेको थियो । त्यसकै मञ्चमा खेल भएको थियो । खेल हेर्न दर्शकदीर्घा भरिभराउ थियो । विश्व टेबलटेनिसमा चिनियाँ वर्चस्व सुरु हुँदाका खेलाडी थिए, चेतोङ । उनीसँग काठमाडौं आइपुगेका अन्य नामी खेलाडीमा झु यिनसेङ, सी एनतिङ, लिन ह्वेछिङ, लीली र अरू थिए । तिनीहरू एक साताजति नेपालमा रहे ।

पूरा काठमाडौं घुमे र भ्रमणको मस्त मज्जा लुटे । काठमाडौं आफैं पनि खुबै खुसी थियो, त्यो अवसरलाई लिएर । तिनले पनि नेपालका ठुल्ठूला राजनेतासँग भेट्ने अवसर पाए । राजा महेन्द्रको पनि तिनीहरूसँग भेटघाट भएको थियो । तुलाधर चिनियाँ भाषाका जानकार थिए र उनले चिनियाँ खेलाडीसँग पनि कुराकानी गर्ने अवसर पाएका थिए । उनकै अनुभवमा त्यतिबेला चिनियाँ खेलाडी खुबै खुसी भएका थिए । यो त्यही अवसर हो, जतिबेला कम्तीमा काठमाडौंमा टेबलटेनिसको लोकप्रियता शिखरमा पुगेको थियो ।

त्यो भ्रमणको एक खेल भने खुबै चर्चित छ नेपाली खेलकुद वृत्तमा । विशेषतः टेबलटेनिसका पुरानो पुस्ताका प्रशंसकबीच । चेतोङको एक खेल कल्याण पाण्डेविरुद्ध पनि थियो । तीन सेटको खेल थियो । त्यसमध्ये एक सेटमा कल्याण विजयी भए र स्कोर थियो– २२–२० । कल्याणले त्यो सेट के जिते, पूरा सभागृहमा तहल्का मच्चिएको थियो । भनिन्छ, यसबारे पूरा टेबलटेनिसमै पनि पछिसम्म चर्चा हुने गरेको थियो । यो सेट कल्याणले कसरी जिते, त्यसबारे अहिले पनि थरीथरीका कुरा सुन्न पाइन्छ, जति मुख उति कुरा ।

केही भन्छन्, कल्याणले त्यसमा बेजोड खेलेका थिए, त्यसैले जिते । केही भन्छन्, एक सेट गुमाउने चिनियाँ रणनीति नै थियो अथवा भनौं, पिङपोङ कूटनीति । जेहोस्, खेल भने चिनियाँ खेलाडीकै पक्षमा रह्यो तर कल्याण मात्र होइन, नेपाली खेलकुदले नै त्यस अवसरलाई सम्झिरहनेछ ।

नेपाली टेबलटेनिसका पुराना पुस्ताका खेलाडी त्यो बेलाको अर्को घटना पनि दोहोर्‍याएर सम्झने गर्छन् । त्यसअनुसार चीन सन् ७० तिर विश्व टेबलटेनिसमा महाशक्तिका रूपमा उदय हुने क्रममा थियो । चीनले नेपाललाई लगातार सहयोग गरिरहेको थियो र अझ बढी सहयोग गर्न चाहन्थ्यो । चीनले काठमाडौंमा टेबलटेनिसका लागि भनेर ठूलो भौतिक पूर्वाधार बनाइदिने र नेपाली टेबलटेनिसको स्तर पनि विश्वस्तरीय बनाउन थप प्रशिक्षण गर्ने प्रस्ताव राखिरहेको थियो । यसको बदलामा चाहन्थ्यो, नेपालले अन्तर्राष्ट्रिय मञ्चमा चीनको समर्थन गरोस् । विशेषतः विश्व टेबलटेनिसमा चीन चाहन्थ्यो, नेपालले उसको जोडदार समर्थन गरोस् ।

तर नेपालका तर्फबाट त्यस्तो भएन, टेबलटेनिसका अन्तर्राष्ट्रिय सम्मेलनमा चीनले समर्थन चाहँदा नेपाल चुपचाप रह्यो । त्यति मात्र होइन, चीनले बनाइदिने भनेको भौतिक पूर्वाधारका लागि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टसामु प्रस्ताव पुग्दा उनले त्यसलाई स्विकारेनन् । त्यतिबेला प्रधानमन्त्री विष्टले नेपाली टेबलटेनिसलाई फर्काएको उत्तर थियो, ‘चीनलाई यस्तो गर्‍यो भने अर्को छिमेकी रिसाउँछ ।’ चीनलाई यो स्वीकार्य भएन ।

बिस्तारै चीनले नेपाललाई टेबलटेनिसमा सहयोग गर्न कम गर्‍यो अथवा गर्न नै छाड्यो । त्यसपछि नेपाल र चीनबीचको टेबलटेनिस सम्बन्ध कहिले पनि त्यति धेरै प्रगाढ हुन सकेन । आरआर गुरु र अध्यक्ष वैद्य अहिले कल्पना गर्छन्, त्यो भौतिक पूर्वाधार बनेको भए, चीनले सहयोग जारी राखेको भए, नेपाली टेबलटेनिस कुन स्थितिमा हुन्थ्यो होला ? इतिहासले यो प्रश्न यस्तै कल्पनाका लागि नेपाली खेलकुद मात्र होइन, नेपाली कूटनीतिलाई पनि छाडेको छ ।

प्रकाशित : श्रावण ३२, २०७७ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?