कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्नातक तहमा खेलकुद व्यवस्थापन पढ्न पाइने

दीपक परियार

पोखरा — नेपालमै पहिलोपल्ट विश्वविद्यालयको स्नातक तहमा खेलकुद व्यवस्थापन विषयमा अध्यापन हुने भएको छ । गण्डकी प्रदेशमा स्थापित गण्डकी विश्वविद्यालयले ‘ब्याचलर्स इन स्पोर्ट्स म्यानेजमेन्ट’ पाठ्यक्रम तयार गरेको हो ।

स्नातक तहमा खेलकुद व्यवस्थापन पढ्न पाइने

पाठ्यक्रम तयारी समितिले विश्वविद्यालयका कुलपति प्रा‍डा गणेशमान गुरुङलाई मस्यौदा बुझाइसकेको छ । चार वर्षमा आठ सेमेस्टरसहित ५२ वटा कोर्स रहने पाठ्यक्रमको मस्यौदामा उल्लेख छ ।

खेलकुद व्यवस्थापनको अध्यापनमा कुल १ सय ६२ घण्टा क्रेडिट आवर रहने प्रस्ताव गरिएको छ । समितिका संयोजक डा.प्रकाश प्रधानका अनुसार सैद्धान्तिकसँगै प्रयोगात्मक विषयमा अध्यापन हुने गरी पाठ्यक्रम तयार गरिएको छ । विभिन्न सेमेस्टरअन्तर्गत भलिबल, फुटबल, तेक्वान्दो, कराते, ह्यान्डबल, एथलेटिक्स, जिम्न्यास्टिक, बास्केटबल, क्रिकेट, स्विमिङ, परम्परागत खेल आर्चरी, छेलोलाई समावेश गरिएको छ । स्पोर्ट्स म्यानेजमेन्टमा मार्केटिङ, म्यानेजमेन्ट अफ लिजर रिक्रिएसन, स्पेक्टेटर म्यानेजमेन्ट, स्पोर्ट्स इकोनोमिक्स, फन्डिङ इन स्पोर्ट्स, स्पोर्ट्स टुरिजम, स्पोर्ट्स इन ग्लोबलाइजेसन, स्पोर्ट्स इन मिडिया, स्ट्राटेजिक म्यानेजमेन्ट इन स्पोर्ट्स इन्डस्ट्रिज, एथलेटिक्स केयर एन्ड रिह्याबिलिटेसन रहेका छन् ।

लिडरसिप इन स्पोर्ट्स, स्पोर्ट्स इन इभेन्ट म्यानेजमेन्ट, स्पोटर््स ल एन्ड रिस्क म्यानेजमेन्ट, स्पोर्ट्स फेसिलिटी म्यानेजमेन्ट, इन्टरप्रेनरसिप इन स्पोटर््स, करियर डेभलपमेन्ट, सस्टेनेबल डेभलपमेन्ट, इथिक्स इन स्पोर्ट्स, वुमन एन्ड स्पिसियबल स्पोर्ट्स, गभर्मेन्ट इन स्पोर्ट्सलगायतका छुट्टाछुट्टै विषयमा अध्यापन हुनेछ । मूलधारको विषयअन्तर्गत अंग्रेजी, स्ट्राटिक्स, कम्प्युटर एप्लिकेसनका विषय समावेश छन् । योगा साइन्सको विषयलाई समेत समेटिएको छ । ‘यो निकै महँगो विषय भएकाले कार्यान्वयनमा सबैको ध्यान पुग्न आवश्यक छ,’ स्पोटर््स साइन्समा जर्मनीबाट पीएचडी गरेका डा. प्रधानले भने, ‘मस्यौदामा समावेश भएका विषय दक्षिण एसियाली मुलुकमा समेत पाउन मुस्किल पर्छ ।’

उनले पोखरामा खेलकुदको विषयमा अध्यापन हुनु गौरवको विषय भएको बताए । ‘पोखरा आफैंमा खेलकुदका लागि निकै सम्भावना बोकेको ठाउँ हो,’ उनले भने, ‘जुन विषय हामीले तयार गरेका छौं, यो विश्व बजारमा बिक्ने विषय र अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरेका छौं ।’

यसअघि नेपालमा त्रिभुवन विश्वद्यिालयमा स्नातकोत्तर तहमा ऐच्छिक रूपमा स्पोटर््स साइन्स विषयको अध्यापन हुँदै आएको छ । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ स्नातक तहमै यो विषय सुरु हुनु ऐतिहासिक रहेको बताउँछन् । पाठ्यक्रम मस्यौदा समितिका सदस्यसमेत रहेका उनले भने, ‘यो निकै नै खुसीको विषय हो । अब खेल क्षेत्रले ठूलो फड्को मार्छ ।’

स्नातक तह उत्तीर्ण गरिसकेपछि पनि स्नातकोत्तरमा अन्य विषय लिएर पढ्न सक्ने गरी पाठ्यक्रम तयार गरिएको उनले बताए । विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ खेलकुद व्यवस्थापनको पढाइले रोजगारीको सम्भावनाको ढोका खुल्ने बताउँछन् । सधैं पछाडि परेको विषयलाई विश्वविद्यालयले अगाडि बढाएकाले आफू निकै उत्साही भएको उनले बताए । ‘पाठ्यक्रमसमेत निकै राम्रो बनेको छ । साथीहरूले यसमा निकै मिहिनेत गर्नुभयो,’ उनले भने, ‘यसले हाम्रा युवालाई राष्ट्रको समृद्धिमा लाग्न हौसला प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।’ यस सम्बन्धमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको विशेष चासो रहेको उनले सुनाए । ‘हाम्रो उद्देश्य यो कोर्सलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउनु हो ताकि विदेशी विद्यार्थी पनि आएर अध्ययन गर्न सकुन्,’ उनले भने ।

डा. प्रधानको संयोजकत्वमा गठित पाठ्यक्रम मस्यौदा समितिको सदस्यमा अग्रज खेलाडी तथा राखेपका पूर्वसदस्य खड्गबहादुर रानाभाट, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, क्षेत्रीय खेलकुदका प्रशिक्षण विभाग उपनिर्देशक कृष्ण तिमिल्सिना, स्पोर्ट्स साइन्स पीएचडी स्कलर मधुसुदन सुवेदी र आमन्त्रित सदस्य प्राडा ध्रुव कार्की छन् । समितिले ४२ दिनमा पाठ्यक्रम तयार गरेको हो ।

संघीय सरकारले पोखरा महानगरपालिका–३२ मा ३ सय ५१ रोपनी जग्गा गण्डकी विश्वविद्यालयको नाममा उपलब्ध गराएको छ । विश्वविद्यालयले विभिन्न १४ वटा विषयमा अध्यापन गराउनेछ ।

प्रकाशित : श्रावण २५, २०७७ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?