कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूरी र मास्कले मार्सल आर्ट्सको अभ्यास प्रभावित

सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — कराते खेलाडी रश्मि पाण्डे बिहान रनिङ र व्यायामसँगै काता अभ्यास गरेर दिनको सुरुआत गर्छिन् । यति त धेरै सर्वसाधारणले दैनिक गरिरहेकै हुन्छन् । खेलाडीका हिसाबले घरमा गरिने अभ्यास पर्याप्त नभएको उनले महसुस गरेकी छन् ।

दूरी र मास्कले मार्सल आर्ट्सको अभ्यास प्रभावित

सानो छँदा एकअर्कालाई हिर्काउने पनि खेल हुन्छ भन्ने लाग्थ्यो । अहिले मार्सल आर्टबाटै उनको परिचय बनिसकेको छ । कोभिड–१९ कारण लकडाउनले उनको खेल क्षमता खुम्च्याइदिएको छ ।

बुटवल–११, देवीनगरमा ०५९ सालमा जन्मिएकी रश्मि ब्ल्याकबेल्ट सेकेन्ड डान हुन् । लकडाउनअघि झिसमिसेमै ट्रेनिङ सेन्टर पुगिसकेकी हुन्थिन् र प्रशिक्षकको सिकाइ लिन्थिन् । त्यो दिनचर्या पूरै फेरिएको छ ।

‘बिहान आफूले सिकेर विद्यालयमा सिकाउन पुग्थें,’ उनले सुनाइन्, ‘लकडाउन खुकुलो भएपछि आफूले अभ्यास गरिरहे पनि विद्यार्थीलाई सिकाउन पाएकी छैन ।’

दैनिक सिकेका कतिपय तरिका र विधि लकडाउनले भुलाएको भन्दै उनले एउटै तरिका सिक्न धेरै समय खर्चिनुपरेको बताइन् । जुन विषय पनि निरन्तर गरिरहे सम्झनामा ताजा रहन्छ तर छोड्ने बित्तिकै लयमा फर्कन समय लाग्ने अनुभव रश्मिले सुनाइन् ।

०७३ मा नवौं राष्ट्रपति खेलकुदमा काता र कुमुतेबाट स्वर्ण र रजत पदक जितेपछि पाएको पुरस्कारले हौसला बढाएको उनी बताउँछिन् । ‘खेल खेलिन्छ तर देशका लागि खेलेर पदक जित्नु सानो कुरो होइन रहेछ,’ उनले भनिन्, ‘सबैको ध्यान आफूतिर केन्द्रित हुँदाको खुसी नै बेग्लै हुन्छ ।’

बिहानबाटै आफ्नो अभ्यास र बालबालिकालाई सिकाउने गरेकी उनले महिनौंसम्म लकडाउन हुँदा नियमबद्ध चलेको दैनिकीमा खलल आएको सुनाइन् । बन्दाबन्दीभर छतलाई तालिमस्थल बनाएकी उनी गुरुहरूको सिकाइको प्रतीक्षामा छिन् । जुन सिकाइ उनले घरमा पाइनन् ।

कक्षा १२ को परीक्षा दिएकी रश्मिले अनलाइन करातेका प्रतियोगितामा भाग लिइन् । उनले काताबाट दोस्रो भएर पुरस्कार पाइन् । दक्षिण कोरियामा रहेका खेलप्रेमी व्यक्तिले आयोजना गरेको प्रतिस्पर्धामा उनले भाग लिइन् ।

‘घरमा बसेपछि कहिले धेरै सुतिने, कहिले के बहाना बन्ने हुँदोरहेछ,’ उनले भनिन्, ‘१५ दिन भयो, केही खुकुलो भएपछि ट्रेनिङ सेन्टरमै सिक्न थालेकी छु । लयमा फर्कन अझै केही समय लाग्ला ।’

बन्दाबन्दी नभएको भए पोखरामा हुने भनिएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपलगायत अन्य प्रतियोगितामा भाग लिएकी हुन्थिन् ।बन्दाबन्दीले हरेक खेलाडीलाई केही मात्रामा अल्छी बनाएको र गुरुसँग सिक्न जाँदा मास्क, सेनिटाइजर प्रयोग गर्नुपरेको र त्यसले अप्ठ्यारो बनाएको उनले बताइन् ।

आठौं राष्ट्रिय खेलकुदमा सफलता पाउन नसकेपछि उनी १३ औं दक्षिण एसियाली खेलकुद छनोटको परिनन् । ०७१ को भदौमा धनगढीमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा यू–१२ खेलेकी उनी दोस्रो भएकी थिइन् । फाइनल भारतीय खेलाडीसँग पराजित उनले लगत्तै जुनियर टिमका लागि दिइएको अन्तर्राष्ट्रिय तालिम लिने मौका पाइन् । ‘केही दिन काठमाडौंमा बसेर क्लोज क्याम्प अभ्यास गर्न पाइयो,’ उनले भनिन्, ‘त्यस्ता सामग्री स्थानीयस्तरमा समेत उपलब्ध हुने हो भने खेलाडीलाई थप सहज र सिकाइ राम्रो हुने हुन्थ्यो ।’

जिल्लामा सिक्दा त्यस्ता सामग्री त परै जाओस्, सामान्य म्याट पनि नहुने र भुइँमै अभ्यास गर्ने गरेको उनले सुनाइन् । रश्मिले देशको प्रतिनिधित्व गर्दै थाइल्यान्डमा सम्पन्न थाइल्यान्ड ओपन कराते च्याम्यिनसिपमा २०१९ मा भाग लिइन् । तर त्यहाँ सफलता पाउन सकिनन् । आगामी प्रतिस्पर्धाका लागि अनुभव भएको उनी बताउँछिन् ।

बन्दाबन्दीका कारण घरकै छतलाई अभ्यास स्थल बनाएर सिकिरहेका कराते खेलाडी किरणबहादुर आले तस्बिर : सन्जु/कान्तिपुर

सिद्धार्थनगर नगरपालिका–३, राइस मिल टोलका तेक्वान्दो खेलाडी किरणबहादुर आलेलाई कहिले लकडाउन पूरै खुला होला र प्रतिस्पर्धामा भाग लिन पाइएला भन्ने चिन्ता छ । १३ औं दक्षिण एसियाली खेलकुदमा भैरहवा तेक्वान्दो डोजाङबाट छानिएर ग्यारोगीतर्फ ८० केजीमुनि प्रतिस्पर्धामा भिडेका किरणले रजत हात पारे । ‘उक्त प्रतियोगितामा भाग लिन पाउनु नै ठूलो जस्तो लाग्यो,’ उनले भने, ‘खेल नै जीवन भनेर लागेपछि हरेक पटक कुनै न कुनै प्रतियोगिता होस् र भाग लिन पाऊँ भन्ने लाग्दोरहेछ ।’

बाहिरी मैदान आवश्यक नपर्ने भए पनि तेक्वान्दो फराकिलो स्थानमा सिक्नुपर्ने र खेलाडीले सहजता महसुस गर्न आवश्यक रहने उनी बताउँछन् । उनले आउटडोरमा खेलेजस्तो रमाइलो गर्न भने पाएका छैनन् । संसारकै समस्या आफूले पनि सामना गर्नुपरेको भन्दै चित्त बुझाए । ‘अरू खेलमा शारीरिक दूरी कायम गरेर अभ्यास गर्न सकिन्छ, हाम्रो त कन्ट्याक्ट खेल हो,’ उनले भने, ‘दूरी सम्भवै नहुने तेक्वान्दोमा केही न केही नयाँ नियम बनाएर खेल्न सकिन्छ ।’

एक महिनादेखि आलेले स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना प्रशिक्षार्थीलाई सिकाइरहेका छन् । उनीहरूलाई सिकाउँदै आफूले अभ्यास गर्ने गरेका उनले लकडाउनले परिवारसँगै समय बिताउनुका साथै परिवारले देख्ने गरी आफ्नो खेल प्रदर्शन गर्न पाएको सुनाए । आफू खेलेको कुनै पनि खेल हेर्न नपाएका परिवारका सदस्यले घरमै हेर्दा धेरै नै मिहिनेत गर्नुपर्ने खेल रहेछ भनी प्रतिक्रिया दिने गरेको अनुभव बटुले । कुनै बेला खेल छोड्ने सोच बनाइसकेका उनलाई खेलमा निरन्तरता दिन श्रीमतीले पनि सघाएकी छन् ।

लकडाउन खुकुलो भएपछि पनि केही बालबालिकाका अभिभावकले डरका कारण प्रशिक्षणमा नपठाएकाले छुटेका र अहिले गरिरहेका सँगै हुन नपाउँदा एउटै सिकाइ दोहोर्‍याउनुपर्ने बाध्यतासमेत हुने बताए । धेरैबेरसम्म मास्क, ग्लोभ्स लगाएर प्रशिक्षण गर्न पनि सम्भव नरहेकाले पूर्ण रूपमा लकडाउन खुला हुने समय पर्खिरहेको उनले बताए ।

कन्ट्याक्ट खेल भएकाले इन्डोर गेममा लकडाउनको नकारात्मक प्रभाव परेको जिल्ला खेलकुद विकास समिति रूपन्देहीका तेक्वान्दो प्रशिक्षक प्रकाश राजभण्डारीले बताए ।

प्रकाशित : श्रावण १९, २०७७ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?