आईपीएल यूएईमा हुने औपचारिक घोषणा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीएल यूएईमा हुने औपचारिक घोषणा

एजेन्सी

नयाँ दिल्ली — भारतीय क्रिकेट बोर्डले यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा हुने औपचारिक घोषणा गरेको छ । बोर्डका अनुसार प्रतियोगिता जैविक रूपमा सुरक्षित तीन रंगशालामा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।


ट्वान्टी–२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता तालिकाअनुसार मार्चमा हुनुपर्थ्यो तर कोरोना भाइरस संक्रमणका कारण धकेलिएको हो । यसै कारण बोर्डले ५३ करोड ३४ लाख डलर गुमाउने स्थिति उत्पन्न भएको थियो ।

यो वर्ष अस्ट्रेलियामा हुनुपर्ने ट्वान्टी–२० विश्वकप रद्द भएपछि आईपीएल गर्ने बाटो खुलेको हो । भारत अझै पनि महामारीबाट उम्कन संघर्षरत रहेकाले त्यहाँ प्रतियोगिता गर्न सम्भव नभएपछि यूएईमा सारिएको हो ।

प्रकाशित : श्रावण १९, २०७७ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्

भिजेको रासन खाँदै विस्थापित

 १६ सय ७१ परिवार अझै घर फर्कन पाएनन्, बालबालिका, सुत्केरी र अशक्तलाई सकस
मोहन बुढाऐर

भजनी, कैलाली — भजनी नगरपालिका–८ कृष्णनगरकी निर्मला शाहीले चार दिनपछि शनिबार मात्र हुलाकी सडकमा भात पकाएर खान पाइन् । बाढीबाट ज्यान जोगाउन उनको चार जना परिवारको बास बुधबारदेखि नै सडकमा छ । पानीको सतह घटेपछि घरबाट भिजेको रासन ल्याएर उनले खाना पकाउन पाएकी हुन् ।

‘घर त डुबानमै छ,’ उनले भनिन्, ‘भोकै मर्ने भएपछि केही बचेको छ कि भनेर कम्मरसम्मको पानी तरेर बूढा घरसम्म गए, भिजेको चामलको कट्टा फेला पर्‍यो । त्यही उठाएर ल्याए । अहिले सडकमा सुकाएर खाँदै छौं ।’

बुद्धिराम चौधरीको सात जनाको परिवारले ट्रयाक्टरको ट्रलीमुनि रात काटेको चार दिन बित्यो । संयोगले बाढी आएको दिन उनले ट्रयाक्टर सडकमा राखेका थिए । ‘बुधबार बिहान ११ बजे गाउँमा बाढी पस्यो,’ उनले भने, ‘त्यतिबेला दौडँदै घरमै रहेका लालाबाला उठाएर ट्रयाक्टर भएको ठाउँमा ल्याएँ । सडकमाथि बाढी चढ्न नसक्दा ज्यान जोगिएको छ ।’ मंगलबार रातिदेखिको वर्षाले पथरिया र काँडा नदीको बाढी गाउँ पसेको थियो । बाढी पसेर डुबान भएपछि केहीले मात्रै सामान निकाल्न भ्याए, धेरैजसो रित्तै भागेर ज्यान जोगाए । अधिकांशलाई उद्धारकर्मीले दिउँसो मात्रै सुरक्षित ठाउँमा सारेका थिए ।

***

हुलाकी सडकमै बसिरहेकी भजनी–८ काँडाढिककी अञ्जली विकको ५ महिनाको बच्चा छ । उनका पति हुलाकी सडकमै अटोरिक्सा चलाउँथे । बाढी आएका दिन अटोरिक्सा सडकमै राखेर सुत्केरी श्रीमतीको उद्धार गरे । चार दिन भयो दुवै जनाको बास अटोमै छ । ‘बच्चालाई लामखुट्टे र कीराले टोकेर शरीरभरि खटिरा निस्केको छ,’ उनले भनिन्, ‘आफूले खान नपाएर दूध सुकेकाले बच्चाले पेटभरि पाएकै छैन ।’ भजनी–८ कृष्णनगरकी लक्ष्मी शाहले पनि बच्चालाई जोगाउन गाह्रो भएको बताइन् । उनका साथमा ४ महिनाको छोरा छ । ‘ओढ्ने–बिछ्याउने केही छैन । एउटा म्याटमा सुत्नुपरेको छ,’ उनले भनिन्, ‘रातभरि कीरा र मच्छडले टोक्छ । बाढीले सर्प पनि सडकमै देखिन्छन् ।’

सडकमा बालबालिका, बूढापाका, सुत्केरी, गर्भवती र अशक्तलाई बस्न कठिन भइरहेको बुद्धिराम चौधरीले बताए । ‘बच्चा र बुहारीकै लागि चौथो दिन ज्यानको बाजी लगाएर कम्मर–कम्मरसम्म पानी तरेर घरभित्र पसें,’ उनले भने, ‘डुबेको घरबाट भिजेकै भए पनि रासन र एउटा खाट निकालेर ल्याइयो । अहिले जाउलो पकाएर बच्चा र सुत्केरी बुहारीलाई खुवाएको छु ।’

शनिबारदेखि वर्षा रोकिएकाले बस्ती आसपासका पथरिया, काँडा, कान्द्रा र मोहना नदीमा जलसतह घटेको छ । भजनी–३, ५, ७ र ८ बाहेकका विस्थापित परिवार घर फर्किसकेका छन् । भजनी नगरकी उपप्रमुख छाया देवकोटाले नगरपालिकाका ९ वटै वडाका २ हजार ४ सय १५घर डुबानमा परेको बताइन् । विस्थापित भएकामध्ये१ हजार ६ सय ७१ परिवारका ८ हजार ३ सय ५ जनाअझै घर फर्कन नसकेको उनले बताइन् । ५ सय जना स्थानीय विद्यालय र सुरक्षित आवासगृहमा छन् । अन्य सबै हुलाकी सडकमा बसेका छन् । भजनी–८ का नैन जोशी र नन्दराज ढुंगानाको परिवारले चार दिनसम्म ओत पनि नपाएको गुनासो गरे ।

शनिबार मात्रै वडा कार्यालयले त्रिपाल, बाल्टी र चाउचाउलगायत उपलब्ध गराएको थियो । उपमेयर देवकोटाले विस्थापित परिवारलाई एक महिनाका लागि खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा चाहिने बताइन् । ‘बालबालिका, सुत्केरी, गर्भवती, अशक्तलाई सुरक्षित आवास, शुद्ध खानेपानी, साबुन, मास्क, सेनिटाइजर, जीवनजलका साथै घुम्ती स्वास्थ्य शिविरको समेत आवश्यकता पर्ने उनको भनाइ छ ।

***

डुबानको एउटा मुख्य कारण हुलाकी सडक रहेको त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसद गौरीशंकर चौधरीले बताए । ‘हुलाकी सडक ड्याम जस्तो भएकाले बाढीको स्वाभाविक बहाव हुन पाएन,’ उनले भने, ‘हुलाकी सडकले पानीको निकासका लागि पुल निर्माण गर्न‘पर्ने ठाउँमा कल्भर्ट मात्रै बनाइँदा निकास राम्रोसँग भएन ।’ हुलाकी सडकको यो क्षेत्रमा कम्तीमा तीन ठाउँमा पुल निर्माण गर्न‘पर्ने उनको भनाइ छ । यहाँबाट करिब ३० किलोमिटर दक्षिण भारतले निर्माण गरेको कैलाशपुरी बाँधका कारण पनि कैलालीको पूर्वोत्तरक्षेत्र डुबानमा पर्ने गरेको उपमेयरदेवकोटाले बताइन् ।

स्थानीय संरक्षणकर्मी विजय श्रेष्ठले चुरे क्षेत्र र खोलानालामा भएको जथाभावी दोहनले बाढीको समस्या निम्तिएको बताए । ‘२० वर्षअघि २० मिटर फराकिलोमा बग्ने खोला/नदीहरू अहिले २ सय मिटर चौडा भएका छन्,’ उनले भने, ‘चुरेबाट बग्ने साना–ठूला गरी ४ सय नदीले कैलाली जिल्ला डुबानमा पार्ने गरेका छन् ।’ जिल्लाका मुख्य ठूला मोहना, खुटिया, गौरीगंगा, कान्ध्रा, पथरिया, काँडालगायतका नदीमा आउने बाढीले बर्सेनि समस्या निम्तिने गरेको छ ।

प्रकाशित : श्रावण १९, २०७७ ०६:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×