कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राखेप सदस्य–सचिवमा २७ काे आवेदन, सिलवाल नै ‘हेभिवेट’

आवेदन दिनेमा पूर्वखेलाडीदेखि संघ पदाधिकारीसम्म छन्
कुशल तिमल्सिना

काठमाडौँ — नयाँ खेलकुद ऐनअनुसार नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी प्रमुख (सदस्य सचिव) बन्न २७ जनाले आवेदन पेस गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित सिफारिस समितिले निर्धारण गरेको बिहीबार साँझसम्म तोकेको समयावधिमा निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवालसहितले आवेदन दिएका हुन् ।

राखेप सदस्य–सचिवमा २७ काे आवेदन, सिलवाल नै ‘हेभिवेट’

नयाँ ऐनमा व्यवस्था भएअनुसार सदस्य सचिव चयनका लागि खेलकुद मन्त्रालयले सचिवको नेतृत्वमा गठित समितिले कम्तीमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नेछ । मन्त्रालयमार्फत मन्त्रिपरिषद्बाट एक जनालाई सदस्य सचिव नियुक्त गरिने प्रावधान छ । गत साता मन्त्रालयका सचिव रामप्रसाद थपलिया तथा विज्ञद्वय रिम रानाभाट र इन्दिरा निरौला सम्मिलित समिति गठन भएको हो । समितिको पहिलो बैठकको निर्णयअनुसार सदस्य सचिव नियुक्तिको प्रक्रियाका रूपमा बिहीबारसम्म ऐनमा उल्लेख भएको मापदण्ड पूरा गरेकाले आवेदन दिएका हुन् । आवेदन इमेल वा स्वयं मन्त्रालयमा उपस्थित भएर दिन सकिने व्यवस्था थियो ।

समितिले बनाएको कार्यविधिअनुसार आवेदन दिएका सबैको कार्ययोजना अध्ययन गरेपछि तीन जनाको नाम सिफारिस गरिने समितिका संयोजक तथा सचिव थपलियाले जानकारी दिए । ‘२७ जनाको आवेदन परेको छ । हामीले उहाँहरू सबैको कार्ययोजनाबारे छलफल र अध्ययन गर्छौं । एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न हामीले धेरै समय लगाउँदैनौं,’ थपलियाले कान्तिपुरसँग भने ।

सदस्य सचिवका लागि आवेदन दिएका २७ जनामध्ये निवर्तमान सदस्य सचिव सिलवाल नै ‘हेभिवेट’ उम्मेदवारका रूपमा देखिएका छन् । शिक्षा व्यवसायी र प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सिलवाल ऐन लागू भएपछि एक वर्षमै पदमुक्त भएका थिए । उनले आफू दरखास्त हालेर नियुक्ति खान नजाने बताइरहेका थिए । तर अनौपचारिक कुराकानीमा उनले सरकारको ‘अनुरोध’ मा पुनः नियुक्ति लिन लागेको बताउन थालेका छन् । नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक रणबहादुर चन्द सदस्य सचिवका लागि आवेदन दिने अर्का हेभिवेट हुन् । २०७४ सालमा प्रहरी उच्च अधिकारीबाट अवकाश पाएका चन्द पूर्वसुटिङ खेलाडी हुन् । उनले २०४२ देखि २०६० सम्म सुटिङ खेलेका थिए ।

सदस्य सचिवका लागि आवेदन दिएकामध्ये चार जना खेल संघका वर्तमान अध्यक्ष छन् । नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकार, ह्यान्डबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ, नेपाल स्केटबोर्ड एन्ड स्केटिङ संघका अध्यक्ष अच्युत खनाल र नेपाल कुराँस संघका अध्यक्ष ध्रुवराज न्यौपानेले सदस्य सचिवको दाबीसहित आवेदन बुझाएका छन् । न्यौपाने काठमाडौं जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्षसमेत हुन् । नेपाल स्पोर्ट्स क्लाइम्बिङ संघका महासचिव मेघराज पौडेलले पनि आवेदन दर्ता गराएका छन् ।

परिषद्का पूर्वकर्मचारी किशोर शाही, हर्कबहादुर राई र बहालवाला कर्मचारी शिवराज भट्ट र सानुराजा केसीको पनि आवेदन परेको छ । युवराज लामा सदस्य सचिव हुँदा खेलकुद विज्ञका रूपमा राखेपमा नियुक्ति पाएका अच्युतम लामिछानेले पनि दरखास्त दिएका छन् । उनले खेलकुद विज्ञानमा विद्यावारिधि गरेका छन् । जीवनराम श्रेष्ठ राखेप सदस्य सचिव हुँदा काठमाडौं जिल्ला खेलकुद विकास समितिमा अध्यक्ष रहेका रामेश्वर श्रेष्ठ तथा त्यतिबेलै राखेप बोर्ड सदस्य रहेका विजयकुमार राईले पनि आवेदन हालेका छन् ।

राखेपका बोर्ड सदस्य सुदील शाहीले पनि सदस्य सचिवको पदमा आवेदन दिएका छन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट टेबलटेनिसका प्रशिक्षक हुन् । उनी टेबलटेनिस संघको अध्यक्षमा चतुरानन्द राजवैद्यसँग पराजित भएका थिए । भारोत्तोलन खेलाडी रोशन महर्जन, पूर्वपत्रकार तथा क्रिकेट प्रशिक्षक अनिल अधिकारी र कराते निर्णायक सुनील नकर्मीले पनि आवेदन बुझाएका छन् ।

आवेदन परेका २७ जनामध्ये तीन जना महिला छन् । त्यसमा दुई पूर्वभलिबल खेलाडी हुन् । महिला राष्ट्रिय टोलीकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र पूर्वखेलाडी नीलम सिंह वज्राचार्यले आवेदन दिएका हुन् । सुनसरीकी मीना श्रेष्ठले पनि आवेदन दिएकी छन् । उनी गत वर्ष रमेश सिलवालले नियुक्ति पाउने समयमा पनि दाबेदारको रूपमा थिइन् ।

निर्धारित मितिसम्म दरखास्त परेका २७ जनामध्ये कम्तीमा १ महिलासहित ३ जनाको नाम समितिले मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेपछि एक जनाको नियुक्ति हुने प्रावधान छ । मन्त्री जगतबहादुर विश्वकर्माले नाममा फेरबदल गर्ने अधिकार मन्त्रालयलाई नहुने प्रस्ट पारेका छन् । राखेपको झन्डै चार दशकको इतिहासमा पहिलोपल्ट छनोट विधिबाट सदस्य सचिव नियुक्ति प्रक्रिया सुरु गरिएको हो । तीन दशक पुरानो कानुनलाई प्रतिस्थापन गरी संघीय संसद्को दुवै सदनले झन्डै डेढ वर्ष लगाएर बनाएको खेलकुद विकास ऐन–२०७७ गत असार १७ गतेदेखि लागू भएको थियो । राखेपमा राजनीतिक नियुक्तिलाई निरुत्साहित गर्ने प्रयासका रूपमा सदस्य सचिव चयनको प्रक्रियालाई ऐनमा व्यवस्था गरी पहिलोपल्ट लागू गरिएको हो ।

ऐनमा राखेपको सदस्य सचिवका लागि ३० वर्ष उमेर पुगेको, खेलकुदमा कम्तीमा ५ वर्ष बिताएको र कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्ने प्रावधान छ । दुई दर्जनभन्दा बढीको आवेदन परे पनि सदस्य सचिवका लागि रमेश सिलवालकै चर्चा अत्यधिक छ । प्रधानमन्त्री ओलीसँगको निकटता र आफ्नै अभिव्यक्तिविपरीत दरखास्त बुझाएपछि उनैले नयाँ कार्यकालका लागि नियुक्ति पाउने सम्भावना अधिक देखिएको हो ।

सिलवालले यसअघि नै आफूले पुनः नियुक्ति पाए अधुरा कामहरू सम्पन्न गर्ने प्रतिबद्धता जनाइसकेका छन् । करिब एकवर्षे कार्यकालमा उनले १३ औं दक्षिण एसियाली खेलकुद सफल बनाउन मुख्य भूमिका खेलेका थिए । त्यसबाहेक पूर्वाधार निर्माण र खेलकुद सुशासनको थालनी गरेको उनको दाबी छ । प्रतियोगिता, प्रशिक्षण र पूर्वाधारसहित सुशासनलाई प्राथमिकतामा राख्ने उनले बताउँदै आएका छन् ।

सदस्य सचिवका लागि दरखास्त दिनेको सूची

  • रोशन महर्जन, ललितपुर
  • अनिल अधिकारी, चितवन
  • हर्कबहादुर राई, सोलुखुम्बु
  • मीना श्रेष्ठ, सुनसरी
  • शिवराज भट्ट, डडेलधुरा
  • ललितबहादुर थापामगर, बागलुङ
  • रवि राजकर्णिकार, काठमाडौं
  • अचुतम लामिछाने, काठमाडौं
  • नीलमसिंह वज्राचार्य, ललितपुर
  • रमेशकुमार सिलवाल, धादिङ
  • मेघराज पौडेल, झापा
  • रामेश्वर श्रेष्ठ, काठमाडौं
  • अच्युत खनाल, ललितपुर
  • मनबहादुर गुरुङ, कास्की
  • विजयकुमार राई, मोरङ
  • सानुराजा केसी, काठमाडौं
  • किशोर शाही, उल्लेख नभएको
  • अञ्जु श्रेष्ठ, ललितपुर
  • सुदील शाही, ललितपुर
  • रमेशमान डंगोल, काठमाडौं
  • ध्रुवराज न्यौपाने, काठमाडौं
  • खेमराज अधिकारी, बाजुरा
  • राम पुडासैनी, काठमाडौं
  • सुनील नकर्मी, ललितपुर
  • रणबहादुर चन्द, काठमाडौं
  • दीपेन्द्र ढकाल, मकवानपुर
  • तेजबहादुर गुरुङ, कास्की

प्रकाशित : श्रावण २, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?