कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमाउँछन् करोड, तिर्दैनन् कर

एन्फाले १ करोड २० लाख तलब बुझ्ने टेक्निकल डाइरेक्टरको कर दाखिला नगरेपछि राजस्वले थाल्यो अनुसन्धान
राजु घिसिङ

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल डाइरेक्टरका रूपमा वार्षिक ९९ हजार ९ सय ९६ अमेरिकी डलर (करिब १ करोड २० लाख रुपैयाँ) तलब बुझ्ने गरेका अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले आयकर नतिरेको खुल्न आएको छ ।

कमाउँछन् करोड, तिर्दैनन् कर

त्यसमा एन्फा र फिलिप्सले ३० लाख रुपैयाँभन्दा बढी कर छली गरेको आरोपमा उजुरी परेपछि यसबारे राजस्व अनुसन्धान विभागले छानबिन थालेको छ ।

‘उनी (ग्यारी फिलिप्स) ले कर छली गरेको भनी विभागमा उजुरी परेको छ । हामीले छानबिन थालिसकेका छौं,’ विभागका कर परीक्षण तथा अनुसन्धान शाखाका निर्देशक गोपी कोइरालाले भने, ‘उनको कमाइमा कर लाग्नुपर्ने हो । यहाँ (नेपाल) आएर कमाएको स्रोतमा कर लाग्छ ।’ एन्फाको कार्यालय ललितपुरस्थित सातदोबाटोमा रहेको छ । यस क्षेत्रलाई नियमन गर्दै आएको आन्तरिक राजस्व कार्यालय, पुल्चोकका प्रमुख डिलाराम सापकोटाले भने, ‘टीडीएस (स्रोतमा करकट्टी) गर्ने दायित्व रोजगारदाताको हो । तर एन्फाले ग्यारी फिलिप्सको नाममा करकट्टी गरेको हाम्रो रेकर्डमा पाइएको छैन ।’

एसियाली फुटबल महासंघ (एएफसी) को सहयोगमा एन्फाले फिलिप्सलाई १ अगस्ट २०१९ देखि ३१ जुलाई २०२० सम्मका लागि टेक्निकल डाइरेक्टर नियुक्त गरेको थियो । उक्त नियुक्तिसम्बन्धी २८ जुलाई, २०१९ मा भएको सम्झौतामा एन्फाका महासचिव इन्द्रमान तुलाधर र निज ग्यारी फिलिप्सले हस्ताक्षर गरेका छन् । एएफसीले सहयोग गरेमा सम्झौतालाई निरन्तरता दिइने पनि त्यसमा उल्लेख गरिएको छ । कोरोना भाइरसको महामारीका कारण सरकारले चैत ११ देखि लकडाउन लागू गर्नुअघि नै फिलिप्स अस्ट्रेलियातर्फ उडेका थिए । त्यसयता उनी उतै छन् । सम्झौताअनुसार फिलिप्सको मासिक तलब ८ हजार ३ सय ३३ डलर (करिब १० लाख रुपैयाँ) एएफसीले दिने उल्लेख छ । यसअनुसार उनी नेपाली फुटबल इतिहासकै सबैभन्दा बढी तलब बुझ्ने कर्मचारी हुन् । तलब सिधै टेक्निकल डाइरेक्टरको बैंक खातामा दिने पनि उक्त सम्झौतामा लेखिएको छ । नियुक्तिपछि काठमाडौं आएलगत्तै फिलिप्सले श्रम स्वीकृति लिएका थिए । तर उनले कर बुझाउनका लागि आवश्यक स्थायी लेखा नम्बर नलिएको बताइन्छ ।

सम्झौतामा जिल्लाका खेलहरू हेर्नुपर्ने, प्रदेश र जिल्लामा आवश्यक कोचिङ कोर्सका लागि यात्रा गर्नुपर्ने, एन्फाले आवश्यक ठानेमा राष्ट्रिय टिमसँगै विदेश जानुपर्ने तथा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एएफसीको टेक्निकल डाइरेक्टरको कोच एजुकेसन वर्कसप, सेमिनारलगायतमा सहभागी हुनुपर्ने, क्वालालम्पुरबाट नेपाल आउँदा एएफसीका टेक्निकल डाइरेक्टरलाई भेट्नुपर्ने फिलिप्सको जिम्मेवारी तोकिएको छ । उनले सातामा एक दिनबाहेक क्रिसमसमा दुई साता तथा थप तीन साता बिदा पाउने उल्लेख छ ।

श्रमसम्बन्धी नेपालको नियम–कानुन लागू हुने पनि सम्झौतामा प्रस्टै लेखिएको छ । करसम्बन्धी नियमानुसार नै पनि १८० दिन नेपालमा काम गरेपछि उसको आयमा कर लाग्छ । जबकि फिलिप्सले नेपालमै काम गरेको आधारमा मासिक तलब पाउँछन् । त्यसैले पनि उनको आयमा कर लाग्ने कोइराला बताउँछन् ।

‘कर छुट गर्ने गरी सरकारसँग सम्झौता भएमात्रै कर लाग्दैन,’ राजस्व अनुसन्धान विभागका निर्देशक कोइरालाले भने । तर सरकारसँग एन्फाले त्यस्तो कुनै सम्झौता गरेको पाइँदैन । फिलिप्सको आयमा टीडीएस कट्टी नगरेकोबारे एन्फाका महासचिव तुलाधरले भने, ‘तिर्नुपर्नै कुरा छ भने तिर्न (कर) हामीलाई आपत्ति होइन, तिर्नुपर्छ भने तिरिदिन्छौं । एएफसीले उतैबाट तलब खानेगरी पहिलोपल्ट यस्तो सहयोग गरेको हो ।’

कर कति ?

विभागका अनुसार फिलिप्सको आयमा २५ प्रतिशत कर लाग्छ, जुन हरेक महिना सकिएको अर्को महिनाको २५ गतेभित्र कर कार्यालयमा दाखिला गर्नुपर्छ । हालसम्म कर नतिरेकोले फिलिप्सको आयमा नियमानुसार विलम्ब शुल्क र थप जरिवाना पनि लाग्ने विभागले जनाएको छ । एन्फासँगको सम्झौताअनुसार फिलिप्सको मासिक ८,३३३ डलर गरी एक वर्षको तलब ९९,९९६ डलर हुन आउँछ र यसमा २४,९९९ डलर (करिब ३० लाख रुपैयाँ) कर तिर्नुपर्ने देखिन्छ । यसमा विलम्ब शुल्क र जरिवाना थपिने देखिन्छ । स्रोतको करकट्टीमा एन्फा र सम्बन्धित व्यक्ति जवाफदेही हुन्छन् ।

प्रकाशित : असार ३१, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?