कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बढी मारमा खेल पत्रकारिता’

काठमाडौँ — कोभिड–१९ को महामारीबीच पत्रकारितामा सबैभन्दा बढी मार खेल पत्रकारिताले भोग्नुपरिरहेको औंल्याइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार विश्व खेलकुद पत्रकार दिवसको अवसरमा ‘नेपाली खेलकुद पत्रकारितामा कोभिड–१९ को असर’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले कोभिडका कारण खेलकुद गतिविधि शून्य हुँदा त्यसको प्रत्यक्ष असर खेल पत्रकारितामा परेको धारणा राखेका थिए ।

‘बढी मारमा खेल पत्रकारिता’

बाह्रखरीडटकमका प्रधान सम्पादक प्रतीक प्रधानले कोभिड–१९ ले सबैभन्दा बढी असर खेल पत्रकारितामा पारेको बताए । उनले भने, ‘अहिले खेलकुद गतिविधि हुन सक्ने अवस्था छैन । यस्तो अवस्थामा पत्रकारले आफूलाई जोगाइराख्न भर्चुअल खेलकुदका विषय, अनुसन्धानमूलक लेखरचना, विषयवस्तुको गहिराइमा पुगेर लेखन क्षमता वृद्धि गर्ने मौका दिएको छ ।’

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले महामारीको समयमा खेलकुदसँगै समग्र पत्रकारितालाई अगाडि बढाउन ठूलो चुनौती पैदा भएको बताए । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले खेलकुद नभएको अवस्थामा कसरी खेलकुदका समाचार दिनहुँ आउँछ होला भन्ने जिज्ञासा भइरहेको स्मरण गराए ।

वरिष्ठ खेलकुद पत्रकार श्याम चित्रकार र राजु सिलवालले नेपाली खेलकुद पत्रकारिताले विगतको तुलनामा उल्लेख्य सफलता हात पारेको चर्चा गर्दै आफ्नो समयको भोगाइबारे सुनाएका थिए । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले खेलकुद बिटमा काम गर्ने १० जनाभन्दा बढी पत्रकारले कोभिड–१९ का कारण रोजगारी गुमाउन बाध्य हुनु दु:खदायी भएको बताए ।

एआईपीएस एसियाका कोषाध्यक्ष नीरञ्जन राजवंशीले कोरोना महामारीमा पनि खेलकुद पत्रकारले प्रतियोगिता नभए पनि फरक ढंगका समाचार उत्पादनमा जोड दिएको बताए । सन् १९२४ मा पेरिस ओलम्पिक हुँदा जुलाई २ तारिखमा इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसिएसन स्थापना गरिएको थियो । सोही दिनलाई विश्व खेलकुद पत्रकार दिवसका रूपमा मनाउने गरिन्छ ।

प्रकाशित : असार १९, २०७७ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?