कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वेस्ट इन्डिजविरुद्ध स्टोक्सले कप्तानी गर्ने

एजेन्सी

लन्डन — बेन स्टोक्सले अर्को साता वेस्ट इन्डिजविरुद्ध हुने पहिलो टेस्टमा इंग्ल्यान्डको कप्तानी गर्ने भएका छन् । नियमित कप्तान जो रुट दोस्रो पटक सन्तानको पिता बन्न लागेकाले पहिलो टेस्ट गुमाउँदा स्टोक्सले नेतृत्व गर्ने मौका पाएका हुन् ।

वेस्ट इन्डिजविरुद्ध स्टोक्सले कप्तानी गर्ने

रुटले बुधबार साउथह्याम्पटनमा इंग्ल्यान्डको अभ्यास क्याम्प छाड्नेछन् । उनकी श्रीमतीले यसै साताको अन्त्यमा बच्चालाई जन्म दिने आस गरिएको छ । इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको पहिलो टेस्ट जुलाई ८ मा सुरु हुँँदै छ । शृंखला बायोसेकुर वातावरणमा भइरहेकाले अस्पतालबाट फर्किएपछि २९ वर्षे रुटले एक साता स्वयं आइसोलेसनमा बिताउनुपर्नेछ ।

बुधबारदेखि नै इंग्ल्यान्डका खेलाडीबीच हुने आन्तरिक अभ्यास खेलमा पनि रुट हुने छैनन् । रुट जुलाई १३ मा इंग्ल्यान्ड टोलीमा समावेश हुनेछन् । दोस्रो टेस्ट ओल्ड ट्राफोर्डमा जुलाई १६ बाट सुरु हुँँदै छ । जोस बटलरलाई हाललाई उपकप्तान बनाइएको छ ।

स्टोक्स इंग्ल्यान्डको ८१ औं टेस्ट कप्तान बन्ने छन् । एन्ड्रयु फ्लिन्टफपछि पहिलो अलराउन्डर पनि । व्यावसायिक प्रतिस्पर्धामा स्टोक्ससँग कप्तानी गरेको कुनै अनुभव छैन । उनले सोमबारमात्र कुराकानीमा आफूले यसअघि डरहम एकेडेमीबाट मात्र कप्तानी गरेको जनाएका थिए ।

रुट सन् २०१७ मा कप्तान बनेपछि स्टोक्सको उपकप्तानका रूपमा यो दोस्रो कार्यकाल हो । २०१७ मा ब्रिस्टल नाइट क्लबबाहिर भएको एक घटनाका लागि उनको उपकप्तानी पद खोसिएको थियो । २०१९ मा उनलाई पुन: रुटको कार्यबाहक बनाइएको थियो र त्यही वर्ष इंग्ल्यान्डले विश्वकप जित्दा उनी इंग्ल्यान्डका सबैभन्दा प्रभावशाली खेलाडी थिए । हेडिङ्लेमा अस्ट्रेलियामाथि १ विकेटको विजय हात पार्दा टेस्ट क्रिकेटकै अविस्मरणीय इनिङ्स खेलेका थिए ।

कप्तान भए पनि आफ्नो खेल्ने शैलीमा कुनै परिवर्तन नगर्ने उनले जनाउँदै आएका थिए । ‘इंग्ल्यान्डको कप्तानी गर्न पाउन ठूलो सम्मान हो, चाहे त्यो एक पटकका लागि मात्र भए पनि मैले इंग्ल्यान्डको कप्तानी गरेको थिएँ भनेर भन्न पाउने छु,’ स्टोक्सले सोमबार भनेका थिए, ‘इंग्ल्यान्डको कप्तान बन्ने भन्ने सोच्नु पनि ठूलो सम्मान हो । म यसको प्रतीक्षामा छु तर जो रुटले व्यक्तिगत कारण देखाई यो एक खेलका लागि मात्र छाडेको भएकाले म एक टेस्टका लागि मात्र कप्तान हुँ भनेर मलाई थाहा छ ।’

प्रकाशित : असार १७, २०७७ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?