कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरु भयो लिभरपुलको प्रभुत्व

लिभरपुलको अन्ततः इंग्लिस प्रिमियर लिगको उपाधि जित्ने औपचारिकता पनि पूरा भयो । धेरै भइसकेको थियो, लिभरपुलले लिग जित्न नसकेको । धेरैले आरोप पनि लगाउन थालेका थिए, लिभरपुल इंग्ल्यान्डमा लिग जित्न सक्षम छैन । यो त खाली इतिहासमा मात्रै धनी क्लब हो । जतिबेला लिभरपुलले लिग जित्ने निश्चित भएको छ, ती सबै आरोप झूटा साबित भएका छन् । लिभरपुल समर्थकको दाबी छ, अब फेरि सुरू हुन्छ, इंग्लिस फुटबलमा लिभरपुलको प्रभुत्व ।
द गार्डियन

लिभरपुल — योर्गन क्लोपले आफ्ना भावना लुकाउनै सकेनन्, गला अवरुद्ध थियो । बिहीबार राति तय भयो, लिभरपुल १९ औं पल्ट इंग्लिस फुटबलको च्याम्पियन हुने । क्लोपले त आँसु पनि लुकाउन सकेनन् ।

सुरु भयो लिभरपुलको प्रभुत्व

यी व्यवस्थापकै घरछेउमा उनी र उनका खेलाडी जम्मा भएका थिए, चेल्सी र म्यानचेस्टर सिटीबीचको खेल हेर्न । चेल्सीले सिटीलाई के त्यो खेलमा हरायो, लिभरपुलको लामो न लामो प्रतीक्षा सकियो, लिग उपाधि जित्ने । झन् त्यसमाथि यसपल्ट लिगै नहुने डर पनि त थियो ।

तर जतिबेला लिग जित्ने निश्चित भयो, मर्सिसाइडमा लिभरपुल समर्थकको खुसी र उत्साह हेरिनसक्नु थियो । प्रहरीले लगातार अनुरोध त गरिरहेका थिए, तर क्लब समर्थकलाई सडकमा आउन र भेला हुनबाट रोक्न सकेनन् । धेरै एनफिल्डको छेउछाउ जम्मा भए । आतिसबाजी पनि चल्यो । धेरै गीत गाउनै पनि व्यस्त रहे । गीत थियो, उही ‘यू विल नेभर वक एलोन’ । स्टानफोर्ड ब्रिजमा के खेल सकिएको ह्वीसल बज्यो, यता लिभरपुलमा खुसियालीको ज्वारभाटा फुटेको थियो ।

‘म त के भनुँ के भनुँको स्थितिमा पो छु,’ क्लोपले पछि भने, ‘अहिले म जतिको गर्विलो मान्छे को नै छ होला र ? जतिबेलादेखि म यस क्लबमा आएँ, मैले तय गरेको यात्रा अभूतपूर्व छ । आजै पनि सबै खेलाडीले खुसियाली मनाए । सबै सँगै बसेर फुटबल हेरिरहेका थियौं । अबको केही वर्षसम्म यी खेलाडी उत्तिकै राम्रो खेल्न सक्षम छन् । मैले यी सबै उपलब्धि त सपनामा पनि देखेको थिइनँ । तर अहिलेको अवसर निकै ठूलो हो, यसको शब्दमा बयान गर्न सकिन्न ।’

उनले अब आउने सिजन लिभरपुलले अझ राम्रो खेल्ने दाबी गर्दै आफ्ना प्रतिद्व्रन्द्वी टिमलाई चेतावनी दिन पनि बिर्सेनन् । उनको भनाइ थियो, टिममा सुधारका लागि अझै धेरै ठाउँ छन् र टिम आफैं पनि अझ सुदृढ खेल प्रदर्शन गर्न सक्षम छ । कप्तान जोर्डन हेन्डरसन पनि उत्तिकै भावुक थिए । उनले भने, ‘खेल अगाडिसम्म पनि मैले केही बोल्न चाहिनँ । तर अब बोल्न सक्छु । म निकै खुसी छु र यो अवसरमा सबैलाई बधाई दिन चाहन्छु खेलाडी, सहर र पूरा विश्वमा छरिएका समर्थकलाई ।’

कीर्तिमान पछाडि लिभरपुल

फेरि एकपल्ट लिग जित्न लिभरपुललाई ३० वर्ष र ५८ दिन लाग्यो अनि कोरोना भाइरस संक्रमणको महामारीका कारण लागू गरिएको तीन महिनाको लकडाउन पनि । तर जतिबेला जित्यो, यो लिभरपुलको पहिलो इंग्लिस प्रिमियर लिग रह्यो । यो क्लबले जितेको समग्रमा १९ औं लिग उपाधि पनि रह्यो । गत बुधबार क्रिस्टल प्यालेसमाथि प्राप्त प्रभावशाली जितपछि लिभरपुल लिग उपाधिबाट २ अंकमात्र टाढा थियो । स्टानफोर्ड ब्रिजमा भएको खेलले यसको लिग उपाधि जित्ने औपचारिकता मात्र पूरा गरिदिएको हो ।

लिभरपुल अविश्वसनीय रूपमा लिगमा सात खेल चरणका बाँकी छँदा म्यानचेस्टर सिटीमाथि २३ अंकले अगाडि छ । संयोगले अब बिहीबार हुने खेल यिनै दुई टिमबीच छ, इतिहादमा । अपेक्षा छ, सिटीले लिभरपुललाई ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ । त्यसो त यो अनिवार्य पनि छैन । यसका लागि दुवै क्लब सहमत पनि हुनुपर्छ । चेल्सीको घरमा खेल चलिरहँदा व्यवस्थापक योर्गन क्लोप भने फर्कबाइ हल गल्फ क्लबमा बसेर त्यसलाई हेरिरहेका थिए ।

उनीसँग अरू लिभरपुल खेलाडी पनि थिए । लिभरपुल अन्तिमपटक सन् १९९० को अप्रिल २८ मा लिग च्याम्पियन बनेको थियो । त्यो त्यही समय थियो, जतिबेला म्याडोनाको ‘भोग’ गीत यूके सिंगल्स चार्टको नम्बर १ स्थानमा थियो । अहिले पनि लिभरपुल स्वयं यस्तै नम्बर एक स्थितिबाट गुज्रिइरहेको छ । पछिल्लो १३ असाधारण महिनामा लिभरपुलले प्रिमियर लिग मात्र होइन, युरोपेली च्याम्पियन्स लिग, क्लब वर्ल्डकप र यूएईएफ सुपर कप पनि जितेको छ ।

अब लिभरपुलले इंग्लिस घरेलु फुटबलका धेरै नयाँ कीर्तिमान पनि बनाउन सक्नेछ र त्यसमध्ये धेरै सिटीकै नाममा छ । पहिलो कीर्तिमान त लिभरपुलले लिगमा सबैभन्दा बढी ७ खेल बाँकी छँदा लिग जित्न सफल रह्यो । यसअघि सिटी र म्यानचेस्टर युनाइटेडले ५ खेल बाँकी छँदा लिग जितेका थिए । लिभरपुलले लिगको समाप्तिमा बढीमा १ सय ७ अंकसम्म बटुल्न सक्नेछ र यसक्रममा सिटीले २०१७–२०१८ मा हात पारेको सय अंकलाई उछिन्नेछ ।

यस्तै लिभरपुलले एकै सिजन सबैभन्दा बढी जित निकालेको कीर्तिमान पनि बनाउन सक्नेछ । यो कीर्तिमान पनि सिटीकै नाममा छ लिगमा ३२ खेलको जित । सिटीले २०१७–२०१८ मा लिग जित्दा शीर्षस्थानमा १९ अंकको अग्रता बनाएको थियो । यो पनि लिभरपुलले उछिन्न प्रयास गर्नेछ । कप्तान हेन्डरसनले लिग उपाधि उचाल्न अझै जुलाईको अन्त्य कुर्नुपर्नेछ अनि लिभरपुलले विजयी यात्रा चलाउने हो भने सुरक्षित समय र परिस्थिति कुर्नुपर्नेछ ।

‘लामो पर्खाइ निर्णायक तत्त्व’

पेप ग्वार्डिओलाले लिभरपुलको ३० वर्ष लामो पर्खाइ नै यसपल्ट लिग उपाधि जित्नका लागि निर्णायक तत्त्व भएको मानेका छन् । योर्गन क्लोपको लिभरपुलले उपाधि जित्ने निश्चित भएपछि अब सिटीको लिग विजेता पनि कायम रहेन । सिटी चेल्सीको हातबाट स्टानफोर्ड ब्रिजमा २–१ ले पराजित रह्यो र यो लिगमा उसको आठौं हार रह्यो । ग्वार्डिओलाले लिभरपुललाई बधाई दिए र माने, आफ्नो टिमको प्रदर्शन पूरा सिजन एकनासको रहेन ।

उनले भनेका छन्, ‘लिभरपुलले यो सिजन धेरै राम्रो खेल्यो । तिनको जस्तो प्रदर्शन हामीले गर्न सकेनौं । लिभरपुल युरोपेली च्याम्पियन्स लिग जितेपछि निकै आत्मविश्वासी बनेको थियो । लिभरपुलले लिग नजितेको पनि ३० वर्ष भइसकेको थियो, त्यसैले यो नै उसका लागि उपाधि जित्न प्रोत्साहन गर्ने निर्णायक तत्त्व बन्यो । लिभरपुलले प्रत्येक खेललाई त्यसरी नै खेलेको थियो । जस्तो मानौं, त्यो उनीहरूको अन्तिम खेल थियो । हामीले लिगको सुरुमै राम्रो गर्न सकेनौं र त्यसको मूल्य चुकायौं ।×’

ग्वार्डिओलाले थपे, ‘यो पनि नभुलौं कि यसबीच दुई उपाधि जितेका छौं । हाम्रा लागि यो ठूलै उपलब्धि पनि हो । सिटीका लागि पछिल्लो ७–८ वर्ष गज्जब रहेको छ । त्यसैले हामीले भन्नैपर्छ, सबै समयमा एउटै क्लबले सबै जितिरहने हुन्न । यसपल्ट जे जति भयो, त्यसबाट हाम्रो काम शिक्षा लिने नै हो । आजको खेलले मात्र उपाधिको निर्णय भएको होइन । खासमा लिभरपुलले धेरै अगाडि नै लिग जितिसकेको थियो । यसको पूरा श्रेय उसले पाउनु नै पर्छ ।’

ठूला खेलाडी क्लोप आफैं

सन् २०१५ अक्टोबर ८ मा पहिलोपल्ट योर्गन क्लोप एनफिल्ड छिरेका थिए । विश्वका सबै मिडियाअगाडि यी चामत्कारिक व्यवस्थापकले भनेका थिए, ‘हामी शंकालु छौं भने विश्वासिलोमा परिणत हुनुपर्छ ।’ त्यसको पाँच वर्षपछि नै अब क्लोप र उनका खेलाडीमा शंका गर्ने कोही रहेनन् । जतिबेला उनले लिभरपुल सम्हालेका थिए, क्लब अंकतालिकाको दसौं स्थानमा थियो । उनी के आए, लिभरपुल छैटौंपल्ट युरोपेली च्याम्पियन्स विजेता भएको छ ।

अब त इंग्लिस प्रिमियर लिग च्याम्पियन पनि । भन्न कर लाग्छ, लिभरपुलको यो पुनर्उत्पादनमा कोही एक जनाको सबैभन्दा बढी हात छ भने त्यो क्लोपकै हो । उनको व्यक्तित्व आफैंमा ठूलो छ, उनी गज्जबको रणनीतिकार हुन् । उनको हाँसो पनि जोडदार हुने गर्छ । टेक्निकल एरियामा उनी जसरी गोलको खुसियाली मनाउने गर्छन्, त्यो अरूलाई नपच्न पनि सक्छ । भर्खर–भर्खर इंग्ल्यान्ड आउँदा लिभरपुलका आलोचकले उनलाई लिएर भनेका थिए, यी त प्रशिक्षक कम, चिच्याउने बढी खालका छन् ।

तर क्लोपमा रहेको प्रशिक्षकका जबरजस्त क्षमतालाई लिएर प्रश्न गर्ने ठाउँ रहँदै रहेन । उनी आधुनिक फुटबलमा राम्रो दख्खल राख्छन् नै, खेललाई अध्ययन गर्ने क्षमता पनि घनीभूत छ । उनको फुटबल खेलाउने शैलीलाई उनी आफैं ‘हेभिमेटल’ भन्न रुचाउँछन् । उनी इंग्लिस फुटबलको घम्साघम्सी जस्तो छ, त्यसको खास पारखी पनि हुन् । मस्तले पानी परेको दिन, मैदान हिलाम्य । खेलाडीको अनुहार चिन्न पनि गाह्रो । पूरा शरीरमा हिलो । खेल सकेपछि खेलाडीलाई हिँड्न पनि गाह्रो हुन्छ । क्लोप यस्तै फुटबलका हिमायती हुन् ।


प्रकाशित : असार १३, २०७७ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?