कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेल छैन, कमाइ छैन

नेपाली फुटबलमा प्रभावशाली प्रदर्शन गरिरहेका अफ्रिकी खेलाडीहरु यो महामारीका बेला अपार्टमेन्ट, होटलमै थन्किएका छन् । फुटबल ठप्प हुँदा सबथोक गुमाएको महसुस गरेका छन् ।
राजु घिसिङ

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६ गत फागुन ३ मा सकिएको थियो, जहाँ मछिन्द्र क्लब नयाँ च्याम्पियन बनेर निस्कियो । नाम चलेका स्वदेशी खेलाडीले भरिएको मछिन्द्रको च्याम्पियन यात्रामा अफ्रिकी मूलका तीन खेलाडीको प्रदर्शन निकै महत्त्वपूर्ण थियो ।

खेल छैन, कमाइ छैन

उपत्यकाको लिग सकिएपछि फुटबलको सिजन मोफसलमा सुरु भयो । तर नयाँ सिजन एक महिना पनि चलेन । किनभने कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्धको लडाइँमा सरकारले लकडाउन घोषणा गर्‍यो, जसले मानवीय जीवनशैलीमै संकट ल्यायो ।

लकडाउनको कारण विश्वभर नै खेल गतिविधि ठप्प रह्यो । जर्मनीलगायत केही देशमा दर्शकबिना नै भए पनि खेल पुन: सुचारु भएको छ । हाम्रो देशमा भने प्रतियोगिता र प्रशिक्षण फेरि कहिले सुरु हुने भन्ने कुनै ठेगान छैन । फुटबल खेलेरै राम्रो कमाइ गर्ने आशामा आइपुगेका अफ्रिकी खेलाडीहरू चैतयता प्रतियोगिता नै ठप्प भएपछि समस्यामा परेका छन् । धेरैले काठमाडौंलाई सुरक्षित मानेका छन् । केही खेलाडी भने स्वदेश फर्कन चाहन्छन् । तर उनीहरूको फर्किने योजनामा यात्रा र क्वारेन्टाइनको चर्को शुल्क बाधक बनेको छ ।

‘यहाँ त्यस्तो समस्या छैन,’ मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक तोपे फुजाले भने, ‘वास्तवमा हाम्रा लागि समस्या भनेको फुटबल नहुनु नै हो । यात्रा गर्न बन्देज छ । नमज्जाको बिदामा बसेजस्तो भइरहेको छ ।’ यी नाइजेरियाली प्रशिक्षकले सम्हालेको मनाङ पछिल्लो ‘ए’ डिभिजन लिगमा च्याम्पियन मछिन्द्रसँग ३ र आर्मीसँग १ अंक अन्तरमा तेस्रो भएको थियो । चैत ११ देखि लकडाउन लागू भएयता होटलबाहिर नगएका फुजाले भने, ‘फिटनेसका लागि व्यायाम पनि भित्रै (होटल) गरिरहेको छु ।’ सरकारले हप्ता, पन्ध्र दिन गर्दै लकडाउन बढाइरहेको छ । तर उनी आशावादी छन् ।

‘लकडाउनपछि पनि समस्या होला,’ वैशाख–जेठमा हुने भनिएको राष्ट्रिय लिग स्थगित भएको सन्दर्भमा फुजाले भने, ‘नोभेम्बरमा सुरु हुन्छ होला फुटबल । त्यसैले लकडाउन खुलेपछि घर (नाइजेरिया) फर्कन चाहन्छु । यो बेला स्वदेश फर्किए भने दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्छ र त्यसका लागि ७५०–८०० अमेरिकी डलर जहाजमा उड्नुअघि नै तिर्नुपर्ने सरकारले भनेको छ । यो रकम मेरो लागि धेरै नै महँगो हो । नाइजेरियामा कोभिड–१९ संक्रमित हजारौं पुगिसके पनि मेरो परिवार सुरक्षित छ । मलाई यही (काठमाडौं) सुरक्षित लागेको छ । तर के गर्ने के नगर्ने भन्ने भइरहेको छ ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार नाइजेरियामा बिहीबारसम्म १४ हजार ५ सय बढी कोभिड–१९ संक्रमित पाइएको छ । त्यसमध्ये ४ हजार ४ सय ९४ निको भए भने ३ सय ८७ ले ज्यान गुमाए ।

‘ए’ डिभिजन लिग २०७५ को ट्रफी मनाङले उचाल्दाका मुख्य स्ट्राइकर हुन् फरवार्ड ओलाडिपो ओलावाले आफिज । यी नाइजेरियाली खेलाडीले त्यो सिजन आर्मीका भरत खवास र थ्रीस्टारका रजिन धिमालसँगै सर्वाधिक ७ गोल गरेका थिए । पछिल्लो सिजन साउदी अरेबियाको तेस्रो डिभिजन क्लब अल–हेजाबमा थिए । उनलाई मोफसलका प्रतियोगिता र राष्ट्रिय लिगको लागि भनेर मनाङले फागुन दोस्रो सातामात्रै काठमाडौं फर्काएको थियो ।

‘ट्रान्सफरको प्रक्रिया पूरा नभएकाले मोफसलका नकआउट प्रतियोगिता र राष्ट्रिय लिग पर्खिरहेका थिए । ठीक त्यही बेला लकडाउन भयो,’ नयाँबजारको एउटा अपार्टमेन्टमा बसिरहेका आफिजले भने, ‘फुटबल गतिविधि छैन । कमाइ छैन । यताउता हिँड्ने वातावरण पनि छैन । हाम्रा लागि यो धेरै गाह्रो समय भएर आइदियो ।’ खाने–बस्नेलगायतमा एकदमै राम्रो सहयोग गरेको भन्दै उनले क्लब व्यवस्थापनको प्रशंसा पनि गरे ।

दसैं–तिहारपछि सुरु हुने नेपालको फुटबल सिजन वैशाख–जेठसम्म चल्ने गर्छ । असारदेखि असोजसम्म वर्षायामले मैदानी खेललाई असर गर्छ । त्यसैले हुनसक्छ, आफिज पनि स्वदेश फर्कन चाहन्छन्, ‘म घर (अबुजा) फर्किन चाहन्छु तर अहिले वास्तवमै कठिन छ ।’

उनी नेपालसँग सीधा हवाई सम्पर्क नभएको भन्दा पनि क्वारेन्टाइनको शुल्क र टिकट खर्चदेखि झस्किन्छन् । उनी कहिले अपार्टमेन्ट त कहिले बाहिरै निस्केर ‘वर्कआउट’ गर्छन् । भन्छन्, ‘सामाजिक दूरी कायम राखेरै गर्छु ।’

नेपालमै सुरक्षित !

पछिल्लो दुई सिजन संकटा क्लबबाट खेलेका क्यामरुनी डिफेन्डर टम्पी अर्नेस्ट यो महामारीको समयमा आफूलाई नेपालमै सुरक्षित मानिरहेका छन् । ‘राम्रो, घरमै बसेजस्तो भइरहेको छ,’ स्वयम्भूको एक अपार्टमेन्टमा संकटाकै अर्का खेलाडी मेसोके ओलोमोउसँगै बसिरहेका उनले भने, ‘नेपालमै सुरक्षित महसुस गरिरहेको छु । यहाँ आफैंलाई नियन्त्रणमा राखेको छु । त्यहाँ (क्यामरुन) धेरै समस्या छ । त्यसैले लकडाउन सकिएपछि स्वदेश फर्किनेबारे क्लबसँग छलफल गर्नेछु । त्यो फुटबल चाँडै वा लिग सुरु हुन्छ भन्नेमा भर पर्छ ।’

डब्लूएचओका अनुसार क्यामरुनमा बिहीबारसम्म ८ हजार ६ सय कोभिड–१९ संक्रमित भेटिएका छन् । त्यसमा २ सय ८ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी यान्डे घर बताउने टम्पी लकडाउन सुरु भएदेखि खाना आफैं पकाउँछन् । प्राय: ढिँडो बनाउँछन् । अपार्टमेन्टभित्रै हरेक दिन वर्कआउट गर्छन् । लकडाउनको असरबारे उनले भने, ‘हाम्रो लागि धेरै कठिन समय हो यो । मलाई मात्रै भने होइन, विश्वका सबै खेलाडीलाई गाह्रो भएको छ । सबैले खेल, सामाजिक जीवन र कमाइ गुमाएका छन् ।’ उनी लकडाउनमा क्लबले गरेको सहयोगप्रति खुसी छन् ।

क्लबसँगको सम्झौता सकिए पनि प्रशिक्षक र खेलाडीलाई मानवीय हिसाबले खाने–बस्ने व्यवस्था गरिरहेका छौं,’ मनाङ मस्र्याङदी क्लबका अध्यक्ष छिमी उर्केन गुरुङले भने, ‘सेनिटाइजर, मास्कलगायत आवश्यक सामग्री पनि दिइरहेका छौं । सकेसम्म सहयोग गर्नेछौं ।’

क्लबले विभिन्न संस्था र व्यक्तिको सहयोगमा स्वयभ्यूस्थित बुद्धपार्कमा ४५ दिनसम्म १८ हजार बढीलाई खाना र राहत वितरण गरेको पनि उनले बताए । मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठले भने, ‘हामीसँग तीनजना विदेशी खेलाडी छन् । अनुबन्ध सकिए पनि अपार्टमेन्टमा खाने र बस्ने व्यवस्था मिलाएका छौं ।’

कति छन् अफ्रिकी खेलाडी ?

काठमाडौं उपत्यकाको ‘ए’ डिभिजन लिगमा एउटा क्लबले दक्षिण एसियाका एकसहित चारजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् । विभागीय टिम आर्मी, पुलिस र एपीएफले भने विदेशी खेलाडी राख्ने गरेका छैनन् ।

पछिल्लो सिजन २०७६ मा ए डिभिजनका १४ मध्ये ११ वटा सामाजिक क्लबले दक्षिण एसियाबाहिरका ३३ खेलाडीलाई अनुबन्ध गरेको थियो । च्यासल युवा क्लबले जापानका ३ र फ्रेन्ड्सले ब्राजिलका ३ खेलाडी ल्याएका थिए । बाँकी २७ खेलाडी अफ्रिकी हुन् । त्यसमा क्यामरुनका १२, नाइजेरियाका ९ जना छन् भने आइभोरी कोस्ट, तान्जानिया, गिनी, माली, मोजाम्बिक र इजिप्टका १–१ जना । यो सूचीमा सार्क कोटामा खेलाइएका भारतका ७ खेलाडीलाई समावेश गरिएको छैन । बी र सी डिभिजन लिगमा क्लबले विदेशी खेलाडी राख्न पाउँदैनन् ।

नेपाली क्लबहरूका लागि सात वर्षयता अफ्रिकी खेलाडी ल्याउन सहजीकरण गरिरहेका सुगन तण्डुकारले भने, ‘लकडाउनका बेला ४० जना अफ्रिकी खेलाडी काठमाडौंमा रहेको पाइएको छ । त्यसमा ‘ए’ डिभिजन लिग खेलेका २३ जना छन् । अरू १७ खेलाडी लिगको अन्त्यतिर र त्यसपछि आएका हुन् ।’ उनका अनुसार अफ्रिकी खेलाडीहरू नयाँ बजार, स्वयम्भू, ठमेल, भैंसेपाटी, कुमारीपाटीका अपार्टमेन्ट र होटलमा बसिरहेका छन् । मनाङले प्रयोग गर्दै आएको नयाँबजारस्थित अपार्टमेन्टमा मात्रै १० जना छन् । नयाँबजारस्थित मैदानमा दुई दिनयता १७–१८ खेलाडीले फिटनेसका लागि अभ्यास गरिरहेका छन् ।

‘ए’ डिभिजन लिग फागुन ३ मा सकियो । त्यसैले अधिकांश खेलाडीको अनुबन्ध लिगसँगै सकिएको थियो । च्याम्पियन मछिन्द्र, मनाङलगायत केही क्लबले भने चार महिना (चैतसम्म) खेलाडी अनुबन्ध गरेका थिए । त्यो अवधि पनि सकियो । ए डिभिजनका शीर्ष ६ क्लब मछिन्द्र, आर्मी, मनाङ, थ्रीस्टार, पुलिस र जावलाखेल राष्ट्रिय लिगमा छनोट भए । तर, राष्ट्रिय लिग वैशाख–जेठमा गर्ने भने पनि त्यसको मिति पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको थिएन । टिम छनोटको रूपमा रहेको प्रदेश लिग र एन्फा प्रेसिडेन्ट कप नै पूरा भएका थिएनन् ।

राष्ट्रिय लिगमा छनोट भएका ६ क्लब र नकआउट फुटबलमा व्यस्त हुने योजना बनाएकाले मात्रै विदेशी खेलाडी राख्न सम्भव थियो । त्यसैले अधिकांश अफ्रिकी खेलाडीको क्लबसँग सम्झौता सकिएको छ र यस्तोमा उनीहरूले पारिश्रमिक पाउने छैनन् । दुई वर्षअघि ‘द फुटबल प्लेयर एजेन्ट नेपाल’ नामक कम्पनी दर्ता गरेका तण्डुकारले भने, ‘नेपाल आएका राम्रै खेलाडीले औसतमा वार्षिक ६–७ हजार डलर कमाउँछन् । खाने–बस्ने, आउने–जाने टिकट, श्रम स्वीकृति र भिसा शुल्क क्लबले नै बेहोर्छन् । अर्कोतर्फ, मोफसलका प्रतियोगिता खेलेर पनि कमाउँछन्, जसलाई ‘खेप खेल्ने’ भनिन्छ । यसमा खेल र नतिजाको आधारमा पारिश्रमिक दिइन्छ । महामारीले चैतयता प्रतियोगिता नै बन्द हुँदा विदेशी खेलाडीलाई समस्या पर्न थालेको छ ।’

च्यासल, फ्रेन्ड्स र एनआरटीले लकडाउनअघि नै विदशी खेलाडीलाई फर्काइसकेका थिए । ‘अफ्रिकी खेलाडीलाई सम्बन्धित क्लबहरूको सहयोग निरन्तर छ । केही क्लबले पकेटमनी पनि दिएका छन्,’ तण्डुकारले भने । एन्फा र केही व्यक्तिले पनि उनीहरूलाई राहत दिएका थिए । एन्फाले स्वदेश फर्काउने बन्दोबस्त गर्ने भने पनि आठ खेलाडीमात्रै अफ्रिका जान इच्छुक भएको उनले बताए । तर, एन्फाले अहिलेसम्म अफ्रिका फर्किने व्यवस्था गरेको छैन ।

प्रकाशित : जेष्ठ ३१, २०७७ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?