कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फरक परिस्थिति, फरक चुनौती

‘समर्थकसहित खेल्नुको मज्जा नै अर्को । किनभने यसमा समर्थकसँग नजिकको सम्बन्ध कायम रहेको हुन्छ । तर हामी अबको नयाँ परिस्थितिलाई आफूअनुकूल बनाउनेछौं ।’
एएफपी

म्याड्रिड — अर्जेन्टिनी स्टार लियोनल मेसी तीन महिनाको अन्तरमा पहिलोपल्ट क्याम्प नोउ पुगेयता घाँसमा पाइला टेकेर भने, ‘मैले यसको सामीप्य कति धेरै गुमाएको रहेछु ।’

फरक परिस्थिति, फरक चुनौती

जतिबेला बार्सिलोना स्पेनी ला लिगाका लागि साँच्चै मैदानमा फर्कनेछ, त्यतिबेला यो समीकरण यस्तो हुने छैन । एक त लिग उपाधिको होडले कति बेला कस्तो मोड लिने हो, त्यो निश्चित छैन ।

त्यसमाथि बार्सिलोनाले युरोपकै सबैभन्दा ठूलो त्यस्तो रंगशालामा खेल्नेछ, जहाँ पटक्कै दर्शक हुने छैनन् । रियल म्याड्रिडले त झन् आफ्नो घरेलु मैदान नै फेरेको छ । स्पेनी फुटबलका दुई ठूलो प्रतिद्वन्द्वीबीच जम्माजम्मी २ अंकमात्र फरक छ । लिग आफैं भने बिहीबार सुरु हुनेछ । पहिलो दिन सेभिया र रियल बेटिसबीच खेल हुनेछ अनि यससँगै क्रमभंग हुनेछ ९३ दिनको फुटबलबिनाको स्पेन ।

ला लिगालाई फुटबल सुरु गर्न मात्र हतारो छैन, सकाउन पनि उत्तिकै चिन्ता छ । त्यसैले लिगका सबै बाँकी सबै खेल सकाउने उसको योजना छ । मार्चमा खेल रोकिएको थियो र त्यतिबेला रियलले शीर्षस्थान बार्सिलोनालाई सुम्पेको थियो । यसअघि रियलले सान्टियागो बेर्नाबाउमा बार्सिलोनालाई हराएको थियो । शीर्षस्थानको त्यो फेरबदल एक साता पनि पुरानो नहुँदै फुटबल नै रोकियो ।

सिजनमा ११ चरणका खेल हुन बाँकी छन् । यसबीचमा कुन टिम बलियो भएर अगाडि आउने हो, त्यसको न टुंगो छ, न अनुमान लगाउन सकिन्छ । अब सबैभन्दा निर्णायक तत्त्व हुनेछ, कुन टिमले कसरी नयाँ परिस्थितिमा आफूलाई अभ्यस्त राख्न सक्यो । रियलको घरेलु मैदानको क्षमता पनि ८१ हजारको छ, तर उसले अब बेर्नाबेउमा खेल्ने छैनन्, बरु खेल्नेछ त ६ हजार दर्शक क्षमताको अल्फ्रेडो डी स्टेफानो रंगशालामा ।

अरू बेला भए, यस रंगशालामा रियलको दोस्रो रोजाइको टिमले खेल्थ्यो, होइन भने यू– १८ टिमले । बार्सिलोनालाई पनि बानी थियो, आफ्ना अपार दर्शक अगाडि खेल्ने । अब यो सुविधा त हुने छैन नै । भर्खरै मात्र रियलका टोनी क्रुसले भनेका छन्, ‘हामी पहिलोपल्ट आफ्ना समर्थकबिना खेल्दैछौं । यो परिस्थितिमा जसले आफूलाई पहिले ढाल्न सक्छ, त्यही माथि हुनेछ ।’

नाेउ क्याम्प रंगशाला बार्सिलाेना

रमाइलो के भने बार्सिलोनाका लागि यो पटक्कै पहिलो अनुभव पनि होइन । सन् २०१७ मा मेसीसँगै लुइस स्वारेज, सर्जियो बास्क्वेट, जेरार्ड पिके, सर्जियो रोबर्टो, जोडी अल्बा सबैले लास पाल्मासविरुद्ध घरमा बिनादर्शक खेलेका थिए । त्यतिबेला बार्सिलोनासामु रंगशाला खाली राख्नुको निहुँ पनि थियो, राजनीतिक तनावबीच लगातार विरोध कार्यक्रम ।

त्यो खेल बार्सिलोनाले ३–० ले जितेको थियो । यसपल्ट बार्सिलोनाले एक होइन, पाँच खेल घरमा दर्शकबिना खेल्नेछ, त्यसमध्ये एक खेल एट्लेटिको म्याड्रिडविरुद्ध छ । एट्लेटिकाका लागि त यो राहत नै हो । लेगानेस र इस्पान्योलले पनि नोउ क्याम्पमा खेल्नु छ र यी टिम रहेका छन्, अंकतालिकाको १९ र २० औं स्थानमा । बार्सिलानाकै आर्टुरो भिडाल भन्छन्, ‘स्थितिसँग भिज्नुबाहेक अरू विकल्प नै के छ र ?’

उनी भन्छन्, ‘समर्थकसहित खेल्नुको मज्जा नै अर्को । किनभने यसमा समर्थकसँग नजिकको सम्बन्ध कायम रहेको हुन्छ । तर हामी अबको नयाँ परिस्थितिलाई आफूअनुकूल बनाउनेछौं ।’ शनिबार मात्रै क्याम्प नोउमा पहिलोपल्ट पूरा अभ्याससत्र चलेको थियो । यता जिदानमाथि पनि आफ्ना खेलाडीलाई नयाँ मैदानमा अभ्यस्त राख्ने चुनौती हुनेछ ।

अल्फ्रेडो डी स्टेफानो रंगशालाको मैदान ठ्याक्कै त्यत्तिकै छ जति बेर्नाबेउको पनि छ । अहिले रियलका कर्मचारी त्यो मैदानलाई सम्हाल्न व्यस्त छन् । कम्तीमा जिदानका लागि यो सर्वथा नयाँ रंगशाला भने होइन । किनभने कुनै बेला उनी रियलको दोस्रो रोजाइको टिम कास्टिलामा प्रशिक्षक थिए । त्यो टिमले यही मैदानमा खेल्यो । अझ सन् २००६ मा रियलका लागि उनले अन्तिम पटक यही मैदानमा खेलेका थिए ।

अल्फ्रेडो डी स्टेफानो रंगशालाको मैदानमा हुर्केका भन्दा हुन्छ, डानियल कार्भाजल, सर्जियो रामोस, कासेमिरो, फेडे भाल्भरेडे, भिनिसिय जुनियर, लुकास भाज्क्वेज र रोड्रिगो । रियलले यस मैदानमा आइबर, भ्यालेन्सिया, मार्लोका, गेटाफे, एलाभेस र भिल्लारियलविरुद्ध खेल्नेछ । ती टिमका लागि यो मैदान एक प्रकारले तटस्थ भूमि जस्तै हुनेछ, किनभने यसले बेर्नाबेउको जस्तो गर्विलो इतिहासको बोझ बोकेको छैन ।

त्यसैले त रामोसले ठीकै भनेका छन्, ‘मलाई त बेर्नाबेउमै खेल्नु ठीक लाग्छ ।’ दर्शकबिना खेल्दा जुन आफ्नो मैदानको फाइदा हुन्छ, त्यो सबैभन्दा बढी गुमाउने टिम बार्सिलोना नै हुनेछ । यस सिजन उसले रियलको तुलनामा घरमा ९ अंक बढी बटुलेको छ । जे हो, अबको स्थिति सबैका लागि नयाँ हो । त्यो पनि विचित्रको । त्यसैले सबैसामु यस्तै हुनेछ भनेर केही पनि अनुमान गर्ने आधार नै छैन ।

प्रकाशित : जेष्ठ २७, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?