कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टोकियो ओलम्पिक–२०२० : एक वर्ष ढिलाइको घाटा

राजु घिसिङ

काठमाडौँ — अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले गत मार्च २४ मा टोकियो ओलम्पिक एक वर्ष सार्ने निर्णय गर्दा नै छात्रवृत्तिलाई निरन्तरता दिने जनाएको थियो । ओलम्पिक छनोटका अन्तिम प्रतियोगितापछि पनि सहभागिताको विशेष अवसर ‘वाइल्ड कार्ड’ को निर्णय नभएसम्म छात्रवृत्ति निरन्तर रहन्छ ।

टोकियो ओलम्पिक–२०२० : एक वर्ष ढिलाइको घाटा

वाइल्ड कार्ड पाउनेले ओलम्पिकसम्मै सुविधा पाउँछन् । त्यसअनुसार १२ खेलाडीका लागि मासिक ६ हजारको हिसाबले अर्को वर्षलाई सारिएको टोकियो ओलम्पिकसम्म करिब ७२ हजार डलर नेपाल भित्रिने निश्चित छ । अघिल्लो एक वर्षको उति नै बजेटको हिसाब बेग्लै छ ।

आईओसीले टोकियो ओलम्पिकका लागि १ सय ८५ देशका १६ सय खेलाडीलई मासिक ५ सय डलरको छात्रवृत्ति दिइरहेको छ, जुन रकम खेलाडीले प्रशिक्षण र प्रतियोगितामा खर्च गर्नुपर्छ । पौडीका गौरिका सिंह र एलेक्स शाह, करातेका अनु अधिकारी र नवीन रसाइली, आर्चरीका ज्ञानु अवाले र तिलक पुनमगर, सुटिङका सुस्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनका कमला श्रेष्ठ र सन्जु चौधरी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र तेक्वान्दोका वीरबहादुर महरा ओलम्पिक छात्रवृत्तिमा छन् । छात्रवृत्ति पाएकी जुडोकी फुपुल्हामु शेर्पा भने गतवर्ष नै ट्रेनिङ छाडेर जापानबाट फर्केकी थिइन् । सुटिङको सकिए पनि अरू खेलको ओलम्पिक छनोट प्रतियोगिता महामारीकै कारण सरेको छ ।

सन् २०२० जुलाई २४ देखि अगस्ट ९ लाई तोकिएको टोकियो ओलम्पिक महामारीको कारण २०२१ जुलाई २३ देखि अगस्ट ८ मा सारिएको हो । शारीरिक रूपमा फरक क्षमता भएकाको प्रतियोगिता ‘पारा ओलम्पिक’ पनि २०२१ कै अगस्ट २४ देखि सेप्टेम्बर ५ लाई तोकियो । ओलम्पिकमा ११ हजार र पारा ओलम्पिकमा ४ हजार ४ सय बढी खेलाडी सहभागी हुन्छन् । प्रशिक्षक, अफिसियल, सञ्चारकर्मी, समर्थकलगायत दसौं हजारको टोकियो यात्रा पनि निश्चित भइसकेको अवस्थामा १ सय २४ वर्षको इतिहासमै पहिलोपल्ट ओलम्पिक सरेको हो ।

टोकियोले इस्तानबुल (टर्की) र म्याड्रिड (स्पेन) लाई उछिन्दै सात वर्षअघि विश्व खेलकुदको महाकुम्भ आयोजक बन्ने होडमा बाजी मार्दा जापानले ७ अर्ब ३० करोड डलर खर्च हुने अनुमान गरेको थियो । औपचारिक रूपमा टोकियो ओलम्पिकमा १२ अर्ब ६० करोड डलर खर्च भइसकेको भनिएको छ । तर गत वर्ष नै कम्तीमा पनि त्योभन्दा दोब्बर खर्च हुने सरकारी अडिटले नै जनाएको थियो । त्यसमा ५ अर्ब ६० करोड डलर निजी स्रोत हो भने अर्को ५ अर्ब ६० करोड करदाताको ।

एसियामा पहिलोपल्ट ओलम्पिक आयोजना गर्ने देश जापान नै हो । उसले त्यो अवसर सन् १९६४ मा पाएको थियो । टोकियोले ५६ वर्षपछि पाएको अर्को अवसर भने कोभिड–१९ को कारण महँगो साबित हुने भएको छ । समृद्धि देखाउने अवसरको रूपमा लिइने ओलम्पिक एक वर्ष ढिला हुँदा आयोजना खर्च २ अर्बदेखि ६ अर्बसम्म बढ्ने विभिन्न अध्ययनले देखाएको छ । त्यो थप खर्च कसले बेहोर्छ ? महामारीले विश्वलाई आक्रान्त पारेको यो बेला बढ्ने खर्चबारे विश्व खेलकुदमा ठूलै बहस भइरहेको छ ।

स्विट्जरल्यान्डमा मुख्यालय रहेको आईओसीले टोकियो ओलम्पिकको त्यो निजी स्रोतमा १ अर्ब ३० करोड डलरमात्रै दिन्छ । पछिल्लो चारवर्षे चक्रमा ५ अर्ब ७० करोड डलर कमाएको आईओसीले ओलम्पिक आयोजकलाई त्योभन्दा ठूलो बजेट दिने अपेक्षा पनि गरिँदैन किनभने ओलम्पिकमा आयोजक सधैँ घाटामा हुन्छ भने आईओसीले नाफा कमाउँछ । आईओसीले छात्रवृत्तिको थप व्यय १ करोड ५० लाख, आफ्ना २०६ सदस्यलाई ओलम्पिक सरेपछि अतिरिक्त २ करोड ५३ लाख, स्थगनपछिको यात्रा र बसोबासका लागि थप १ करोड ३ लाख डलर छुट्याएको जनाएको छ । उसले खेल महासंघहरूलाई यो वर्ष ६० करोड डलर दिने अनुमान छ ।

तर, आईओसी अध्यक्ष थोमस वाचले टोकियो ओलम्पिक आयोजकलाई थप बजेट दिने कहींकतै घोषणा गरेका छैनन्, न त आश्वासन नै दिएका छन् । त्यसै त ओलम्पिक आयोजना गर्नु महँगो भइसकेको छ । ओलम्पिक आयोजनालाई करदाताको परिश्रमको दुरुपयोग पनि भन्न थालिएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबे र टोकियो ओलम्पिक आयोजक समितिका सीईओ तोसिरो मुतोले पनि एक वर्ष ढिलाइले बढेको खर्च कसले बेहोर्ने भन्नेमा मुख खोलेका छैनन् । पारदर्शी हुने र करदातालाई प्रस्ट पार्ने बचनमात्रै दिएका छन् । आईओसी र जापान ओलम्पिक कमिटीको सम्झौताअनुसार आयोजक सहरले नै खर्च बेहोर्नुपर्छ । त्यसैले समृद्धि देखाउने बहानामा करदाता नै फेरि मारमा पर्ने देखिएको छ ।

टोकियोको नयाँ रंगशाला ७५ हजार दर्शक क्षमताको छ । धेरै खेलस्थल १०–१५ हजार दर्शक अटाउनेछन् । ओलम्पिक सरेपछि यिनै प्रतियोगिता स्थल र ओलम्पिक भिलेजको मर्मतसम्भार, नयाँ खेलस्थलको सम्झौता, होटल, यातायात, सुरक्षा, कर्मचारीलगायत व्यवस्थापनमा खर्च बढ्ने भएको हो । आयोजकले केही स्थललाई यो अगस्टमा ओलम्पिक सकिएलगत्तै हाउजिङ कम्पनीलाई बिक्री गर्ने सम्झौता गरिसकेको छ । अब त्यो बिजनेसको घाटा कसले बेहोर्छ ?

एनबीसी टेलिभिजनको प्यारेन्ट कम्पनी कोमकास्ट (सीएमसीएसए) ले ठूलो लगानी गरिसकेको छ । सन् १९८८ यता हरेक ओलम्पिक प्रसारण गरिरहेको एनबीसीले टोकियो ओलम्पिकको १ अर्ब २० करोड ५० लाख डलरको विज्ञापन ५ महिनाअघि नै बिक्री गरिसकेको थियो भने पारा ओलम्पिकको शतप्रतिशत बिक्री भइसकेको थियो । अब ती सम्झौताहरूले निरन्तरता पाउलान् ?

टोकियो ओलम्पिकको टिकट बिक्रीबाट ८० करोड डलर अपेक्षा गरिएको छ । यसमा ४५ लाख टिकट बिक्री भइसकेको छ । आयोजकले ६० वटा जापानी कम्पनीसँग प्रायोजनबाट ३ अर्ब ३० करोड र आईओसीले ओलम्पिकसम्बद्ध १४ प्रायोजकसँग १० करोड डलरको सम्झौता गरेको छ । अब यी प्रायोजनले निरन्तता पाउलान् त ?

अमेरिका र चीनपछि विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको देश हो जापान (५ ट्रिलियन डलर) । त्यसैले जापानलाई एक वर्ष ढिलाइले पनि ओलम्पिक आयोजनामा समस्या नहुन सक्छ । यसै वर्षलाई तयार रहेका धेरै खेलाडीलाई भने अर्को वर्ष चुनौतीपूर्ण हुनेछ । चारपल्टका स्वर्णपदक विजेता अमेरिकी जिम्न्यास्ट सिमोन बाइल्सलगायत धेरै खेलाडीले टोकियो ओलम्पिकपछि संन्यास लिने घोषणा गरिसकेका थिए । ओलम्पिकसँगै उनीहरूको संन्यासमा पनि एक वर्ष ढिलाइ हुने भएको छ । त्यो एक वर्षमा उनीहरू उच्चतम लयमा कायमै रहन्छन् त ? उनीहरूलाई जति चुनौती बढ्नेछ, उत्तिकै अवसर नयाँ खेलाडीलाई हुनेछ ।

अर्को वर्ष हुने भए पनि ‘टोकियो २०२०’ नामलाई कायमै राखिएको ओलम्पिकमा ५७ प्रतिशत खेलाडी छनोट भइसकेका छन् । यो ओलम्पिकमा फुटबलमा २४ वर्षमुनिको टिमले खेल्नेजस्तै अनौठा कीर्तिमान बन्नेछन् ।

कोभिड–१९ को कारण प्रधानमन्त्री आबेले १६ अप्रिलमा संकटकाल लागू गर्दै आफ्ना प्रत्येक नागरिकलाई ९३० डलर दिने घोषण गरेका थिए । जापानमा कोभिड–१९ संक्रमित झन्डै १६ हजार पुगेको छ । मृत्युदर निकै कम भए पनि जापानी वैज्ञानिकहरूले नै अर्को वर्ष पनि ओलम्पिक आयोजनालाई यो महामारीले असर गर्न सक्ने बताएका छन् । विन्टर ओलम्पिक २०२२ बेइजिङमा हुँदैछ । त्यसैले ग्रीष्मकालीन ओलम्पिक फेरि अनिश्चित भयो भने विश्वयुद्धयता पहिलोपल्ट स्थगित गर्नुको विकल्प हुने छैन । यसमा पनि सबैभन्दा ठूलो चोट खेलाडीलाई नै पर्नेछ किनभने स्वास्थ्यको ख्याल गर्नैपर्छ ।

प्रकाशित : जेष्ठ १, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?