कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रयाकमा फर्कन आतुर

भदौ पहिलो साता १३ औं सागको छनोटका क्रममा धावक अजितकुमार यादवलाई हेपाटाइटिस ‘बी’ संक्रमण पत्ता लागेको थियो । त्यसलाई जितेर अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पुनरागमन तयारीमा रहेका उनको यतिबेलाको दैनिकी राजविराजस्थित घरमा खुम्चिएको छ ।
कुशल तिमल्सिना

काठमाडौँ — कोभिड–१९ ले विश्वव्यापी महामारीको रूप नलिएको भए यतिबेला कीर्तिमानी धावक अजितकुमार यादव एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिप (यू–२१) का लागि अन्तिम तयारीमा हुन्थे । थाइल्यान्डमा जेठ १ देखि ३ (मे १४–१७) सम्म तय गरिएको प्रतियोगिता कोरोना भाइरस संक्रमणपछिको असहज स्थितिका कारण स्थगित गरिएको छ । हेपाटाइटिस ‘बी’ जस्तो गम्भीर रोगलाई जितेर अन्तर्राष्ट्रिय प्रतियोगितालाई पुनरागमन तयारीमा रहेका अजितको दैनिकी सप्तरीको राजविराजस्थित आफ्नै घरमा खुम्चिएको छ ।

ट्रयाकमा फर्कन आतुर

‘एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताबाट पुनरागमन गर्न राम्रो तयारी गरेको थिएँ । अघिल्लो प्रतियोगिताभन्दा कठिन हुने निश्चित थियो तर आफ्नो तर्फबाट राम्रो गर्ने प्रयास रहन्थ्यो । कोरोनाका कारण च्याम्पियनसिप सरेपछि नरमाइलो लागेको छ,’ अजितले सुनाए । च्याम्पियनसिपमा उनले यू–२१ विधामा ५ हजार मिटर दौडमा सहभागिताको तयारी गरेका थिए । ५ किलोमिटर दौडमा १४ मिनेट ३७ सेकेन्डकाे कीर्तिमान उनकै नाममा छ । यो समय १३ औं सागका स्वर्ण विजेताको भन्दा उत्कृष्ट हो ।

२०७५ को चैतमा हङकङमा सम्पन्न एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा यू–१८ तर्फ ३ हजार मिटरमा १२ देशका १५ धावकलाई पछि पार्दै कीर्तिमान रचेयता नेपाली खेलकुदमा अजितले अभूतपूर्व चर्चा पाए । त्यसयता हेपाटाइटिस ‘बी’ को संक्रमण जिते पनि एसियाली स्तरमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीले घरेलु भूमिमै भएको १३ औं दक्षिण एसियाली खेलकुद गुमाउनुपर्‍यो । रोगलाई जितेर पुनरागमनको प्रयास पनि कोरोनाले पर सारिदिएको छ ।

‘सागमा खेल्न नपाउँदा निकै नै दुःख लागेको थियो । रोग निको भइसकेपछि यही प्रतियोगिता (एसियन जुनियर च्याम्पियनसिप) का लागि तयारी गरेको थिएँ । प्रतियोगिता खेल्नु त पर जाओस् यसरी घरमै थुनिएर बस्नुपरेको छ,’ कान्तिपुरसँगको कुराकानीमा अजितले भने, ‘यसको विकल्प पनि त छैन । स्वास्थ्यभन्दा ठूलो कुरा केही रहेनछ भनेर अहिले कोरोना भाइरसले विश्वभर सन्देश दिएको छ । आफूलाई स्वस्थ राख्न घरमै बस्नुपर्छ, सबैजस्तै म पनि घरमै छु ।’

लामो दूरीका धावकका लागि लामो समय खुम्चिएर बस्नु भनेको करिअरका लागि गम्भीर असर नै हो । अजितले बुझेका छन् कि डेढ महिना प्रशिक्षण गर्न नपाउँदा पहिले जस्तै लय भेट्टाउन अरू ३ महिना मिहिनेत गर्नुपर्छ । सप्तरीको गर्मी, लामखुट्टे र लकडाउनको कडा पालनाले गर्दा उनले घरमै पनि सोजे जसरी फिटनेस ट्रेनिङ गर्न पाएका छैनन् । सुरुको दुई साता त के गर्ने, कसो गर्ने भन्नेमै बितेको सुनाउँछन् ।

‘सानैदेखि काठमाडौं बसेकाले यहाँको वातावरणसँग घुलमिल थिइनँ । उज्यालोमा घरबाट बाहिर प्रशिक्षण गर्न पाउने सम्भावना नै छैन । गर्मी र लामखुट्टले सुरुसुरुमा त निकै नै असहज भयो,’ उनले थपे, ‘जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै बिहानको अँध्यारोमा घर वरिपरि दौडन थालें, घरमा ‘कोर एक्सरसाइज’ गरिरहेको छु । आफूलाई सकेसम्म फिट राख्ने प्रयासमा छु ।’

लकडाउनका कारण घरमै रहे पनि उनी प्रशिक्षक धनीराम चौधरीसँग नियमित सम्पर्कमा छन् । प्रशिक्षकको निर्देशनअनुसार फिटनेस ट्रेनिङ गरिरहेको उनले बताए ।

बिहानै ४ बजे उठेर उज्यालो नहुन्जेल प्रशिक्षण गर्ने उनको दैनिकी हो । त्यसबाहेक भान्छाको काम, सरसफाइ र कहिलेकाहीँ खेतमा काम गर्दै दिन गुजारेका छन् । बेलुकाका प्रशिक्षणलाई अनुकूल समय पाएका छैनन् । लामो समयमा घर बस्दा कीर्तिमानी गाथा सुनेका उनका आफन्तहरू खुसी छन् । परिवार र छिमेकीले पनि आफ्नो सफलतामा गर्व गर्दा उनलाई खुसी लागेको छ ।

भदौ पहिलो साता १३ औं सागको छनोट प्रतियोगिताका क्रममा उनलाई हेपाटाइटिस ‘बी’ संक्रमण पत्ता लागेको थियो । साग गुमाउनुको पीडासँगै गम्भीर रोगको संक्रमणले शारीरिक तथा मानसिक तनावबाट गुज्रिएका उनी मंसिरमा पूर्ण स्वस्थ भए । मंसिर ७ गते नेपालगन्ज हाफ म्याराथनको १० किलोमिटर दौडमा पहिलो हुँदै उनले राष्ट्रियस्तरमा पुनरागमन गरेका थिए । त्यसयता काठमाडौं म्याराथन (५ किमि), बन्दीपुर रोडरेस (१० किमि), हेटौंडा रन (१० किमि) र मदन भण्डारी स्मृति रोडरेस (५ किमि) मा सहभागिता जनाए । पाँचैं प्रतियोगितामा उनी दोस्रो हुनुपरेन ।

एसियन च्याम्पियनसिपमा १५ वर्षको उमेरमै स्वर्ण जितेर कीर्तिमान कायम गरेका अजितले आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । वर्षको एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता र अहिले भइरहेको तयारीले आफ्नो स्तर माथि जान नसक्नेमा अजित निश्चित छन् । तर उनले गर्न सक्ने केही छैन । एथलेटिक्स संघले प्रतिभावान खेलाडीका लागि विशेष योजना ल्याइदेओस् भन्नेमा आशावादी भने छन् ।

‘हामीले ओलम्पिक जस्ता ठूला प्रतियोगितामा पदक जित्ने लक्ष्य लिने हो भने तयारी पनि त्यहीअनुसार हुनुपर्छ । वैदेशिक प्रशिक्षक र प्रशिक्षणको सुविधा हुनुपर्छ । वर्षमा कम्तीमा तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने व्यवस्था गर्नुपर्छ,’ उनले थपे, ‘सबै प्रतियोगितामा पदक जित्नैपर्छ भन्ने छैन । आफ्नो स्तर जाँच्न पनि धेरै अन्तर्राष्ट्रिय एक्सपोजर चाहिन्छ ।’

प्रकाशित : वैशाख २९, २०७७ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?