कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनमा प्रशिक्षकका कुरा

कोरोनाका कारण विश्व खेलकुद निकै पछि धकेलिने अनुमान गरिएको छ । सामाजिक दूरी कायमगर्न असम्भव हुने खेलकुद क्षेत्रका लागि यसले लामो समयसम्म असर गर्नेमा दुईमत छैन ।
कुशल तिमल्सिना

काठमाडौँ — कोभिड–१९ को संक्रमणबाट बच्न देश लकडाउनमा रहेको डेढ महिना भइसकेको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण सबै गतिविधि ठप्प बनेको छ । स्वास्थ्यसँग प्रत्यक्ष जोडिने खेलकुद क्षेत्र पनि निश्चित रूपमा असर परेको छ । नेपालमात्र नभई विश्वभरका प्रायः खेल गतिविधि ठप्प छन् । खेलाडीहरूले नियमित प्रशिक्षण गर्न सकिरहेका छैनन् । खेलाडी तयार पार्ने प्रशिक्षकलाई पनि लकडाउनले पीडा दिएको छ ।

लकडाउनमा प्रशिक्षकका कुरा

विधि फरक भएको छ तर खेलाडीको प्रशिक्षण रोकिएको छैन । उनीहरू घरमै फिटनेस ट्रेनिङ गरिरहेका छन् । प्रशिक्षकहरूले डिजिटलको माध्यमबाट प्रशिक्षण तालिका उपलब्ध गराएका छन् । घरमै थुनिनुपर्दा कठिन अवश्य भएको छ तर आत्मविश्वास गुम्न नदिन प्रशिक्षकले सक्दो मिहिनेत गरिरहेका छन् । ‘कोरोनाबाट बच्न यो भन्दा अर्को उपाय पनि त छैन,’ कराते राष्ट्रिय प्रशिक्षक कुशल श्रेष्ठ भन्छन्, ‘ज्यान रहे जान रहने त हो ।’

नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको मानिन्छ । समुदायमा संक्रमित देखिन थालेका छन् । संक्रमित दर बढ्दो छ । यस्तोमा खेलाडीलाई सुरक्षित राख्ने उपयुक्त उपाय लकडाउन नै हो । तर सामान्य नागरिकजस्तो घरमा अल्छी गरेर बस्नु भनेको उनीहरूकै लागि प्रत्युत्पादक हुनेछ । अर्को वर्ष हुने टोकियो ओलम्पिकको छनोटका लागि नेपालबाट छानिएका जुडो खेलाडी इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्टलाई प्रशिक्षण दिइरहेकी देबु थापाले भनिन्, ‘यो कठिन स्थितिमा सबैभन्दा ठूलो कुरा भनेको खेलाडीको आत्मविश्वास हो । नियमित प्रशिक्षण गर्न पाएका छैनन्, त्यसले उनीहरूलाई नकारात्मक असर पर्नसक्छ । तर यसो भन्दैमा उनीहरूले हिम्मत हार्नु हुँदैन । घरमै बसेर सम्भव भए जति फिटनेस ट्रेनिङ गरिराख्नुपर्छ । मैले मेरो सम्पर्कमा रहेका खेलाडीलाई यस्तै प्रशिक्षण योजनासहित व्यस्त राखेकी छु । मैले उनीहरूलाई पनि भनेको छु कि कठिन समय सधैं रहँदैन, त्यसैले सकारात्मक सोचसाथ सहज परिस्थितिको प्रतीक्षा गर्नुपर्छ ।’

सागकी पूर्व स्वर्ण विजेता देबुले विभागीय टोली नेपाल पुलिस क्लबमा पनि प्रशिक्षण गराउँछिन् । उनले सिन्धुपाल्चोकमा रहेका इन्द्रबहादुर र भक्तपुरकी सोनियालाई काठमाडौं बोलाएर वैशाख १८ देखि प्रहरी प्रशिक्षण प्रतिष्ठानको क्वारेन्टाइनमा राखेर प्रशिक्षण दिइरहेकी छन् । ‘हामीले ओलम्पिक तयारीमा रहेका खेलाडीलाई प्राथमिकता दिएका हौं । उनीहरूको स्वास्थ्य सुरक्षा अपनाइएको छ । त्यसबाहेक अन्य खेलाडीलाई घरमै प्रशिक्षणका लागि योजनाहरू दिइरहेकी छु र प्रतिक्रिया पनि लिइरहेकी छु,’ उनले पुलिसका अरु खेलाडीलाई कार्यक्षेत्रको जिम्मेवारीमा पनि खटाइएको र स्वास्थ्य सुरक्षा अपनाउन सचेत गराइरहेको बताइन् ।

खेलकुदमा लामो समय लकडाउन गरिँदा खेलाडीको प्रदर्शनमा असर पर्ने हुँदा सुरक्षित रूपमा नियमित प्रशिक्षणको आवाज खेलाडीहरूबाटै उठ्न थालेको छ । तर प्रशिक्षकहरू भने नेपालमा नियमित प्रशिक्षणमा फर्कने समय आइनसकेकोमा एकमत छन् । कराते प्रशिक्षक कुशल श्रेष्ठले भने, ‘हाम्रो देशमा कोरोनाले भयावह स्थिति सिर्जना भएको छैन र हुँदैन भन्ने ग्यारेन्टी पनि भइसकेको छैन । दिनदिनै संक्रमित दर बढिरहेको र संक्रमितमा लक्षण नदेखिएकाले डर अन्त्य भइसकेको छैन । नेपालको हकमा उच्चस्तरीय स्वास्थ्य सुरक्षा अपनाएर प्रशिक्षण गराउन सम्भव पनि छैन ।’

जुडो प्रशिक्षक देबुको भनाइ पनि उस्तै छ । ‘खेलाडीलाई नियमित परीक्षण गरी क्वारेन्टाइनमा राखेर प्रशिक्षण सञ्चालनको खर्च राज्यले उठाउन सक्दैन । प्रशिक्षणमा उच्चस्तरीय सुरक्षा अपनाउनुपर्छ । हामीसँग संक्रमितको उपचार र परीक्षणका लागि त उपयुक्त परीक्षण विधि स्थापित भइसकेको छैन भने खेलकुदमा लकडाउन खुकुलो बनाउँदा यसले अर्को भय निम्तिन सक्छ,’ कान्तिपुरसँगको कुराकानीमा देबुले भनिन् ।

खेलाडीलाई प्रशिक्षकको सल्लाह एउटै छ कि कोभिड–१९ को संक्रमणबाट बच्न सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका निर्देशन पालना गरौं अनि परिवारसँग सकारात्मक समय व्यतित गरौं । दैनिक ४ घण्टा (बिहान २ र बेलुका २) नियमित फिटनेस ट्रेनिङ गरौं र सकारात्मक सोच राखौं । अहिलेको स्थितिले खेलाडीमात्र होइन आमनागरिकले पनि गर्नुपर्ने यही हो । रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि दैनिक कसरत अनिवार्य छ । ‘फिटनेस हामी सबैका लागि अपरिहार्य हो । मैले घरमा आफूसहित मेरा बच्चालाई पनि फिटनेस ट्रेनिङ गराइरहेकी छु,’ प्रशिक्षक देबुले भनिन् ।

दक्षिण एसियाली खेलकुदका पूर्व स्वर्णधारी कुशलको परिवार पनि खेलकुदमय छ । उनकी श्रीमती तारा गुरुङ पनि प्रशिक्षक हुन् । १५ वर्षीया छोरी खेलाडी छिन् । ‘लकडाउनको समय पूर्णतः परिवारसँग बितेको छ । दिनमा ३ घण्टा फिटनेस ट्रेनिङ गर्छु, राष्ट्रिय टोलीका खेलाडीसँग नियमित सम्पर्कमा रहन्छु, उनीहरूलाई प्रशिक्षणको योजनाहरू दिइरहेको छु । अहिले प्राविधिकभन्दा शारीरिक रूपमा फिट हुन भनिरहेको छु,’ उनले भने, ‘कोरोनाले हामीलाई धेरै क्षेत्रमा नकारात्मक असर पारेको छ तर सकारात्मक पक्ष खोज्ने हो भने पनि धेरै भेटिन्छ । सहरमा प्रदूषणको स्तर कम भएको छ, परिवारसँग फलदायी समय व्यतित छ । पुराना साथीहरूसँग सम्पर्क गर्ने समय दिएको छ ।’

जुडाे प्रशिक्षक देबु थापा । फाइल तस्बिर

कोरोनाका कारण विश्व खेलकुद निकै पछि धकेलिने अनुमान गरिएको छ । सामाजिक दूरी कायम गर्न असम्भव हुने खेलकुद क्षेत्रका लागि यसले लामो समयसम्म असर गर्नेमा दुईमत छैन । कतिपयले विश्वमै खेलकुदको मोडालिटी नै परिवर्तन हुनसक्ने भविश्यवाणी गरेका छन् । टोकियो ओलम्पिक एक वर्ष सारिए पनि नयाँ मितिमा आयोजना हुनेमा शंका गर्नेहरू पनि छन् । कोभिड १९ महामारी पछिको अवस्थामा खेलकुदको स्थान कस्तो होला त ? प्रशिक्षक कुशल भन्छन्, ‘स्पोर्ट्समा म्यान टु म्यानको सम्पर्कर् अपरिहार्य हुन्छ । यस्तोमा अबको खेलकुद डिजिटलतर्फ अग्रसर हुन्छ कि ।’ तर डिजिटल माध्यमले खेलकुदको रोमाञ्च कस्तो बनाउँछ भन्नेमा चाहिँ उनी पनि अनभिज्ञ छन् ।

प्रकाशित : वैशाख २४, २०७७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?