कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनमौजी अगासी

पूर्वटेनिस स्टार आन्द्रे अगासी गतसाता ५० वर्षका भए । सन् १९७० को अप्रिल २९ मा उनको जन्म भएको थियो । रोयटर्सका श्रीवत्स श्रीधरले यी अमेरिकी खेलाडीको खेलजीवनलाई फर्केर विश्लेषण गर्ने प्रयास गरेका छन् ।
रोयटर्स

न्युयोर्क — सन् १९९० मा आन्द्रे अगासी आफ्नो पहिलो ग्रान्डस्लाम फाइनल खेल्ने क्रममा थिए । अवसर थियो, रोलान्ड ग्यारोसमा हुन लागेको फ्रेन्च ओपन फाइनल । उनी आफ्ना लागि प्रार्थना गर्न प्रशंसकलाई अनुरोध गरिरहेका थिए ।

मनमौजी अगासी

अगासीलाई विश्व टेनिसमै अहिलेसम्म देखापरेका खेलाडीमध्ये सबैभन्दा मनोरञ्जन प्रदान गर्न सक्ने मानिन्छ । सन् ८० को दशकदेखि खेल्न सुरु गरेका अगासीले त्यो फाइनल अगाडिसम्म खासै ठूलो सफलता प्राप्त गर्न सकेका थिएनन् ।

त्यसैले उनी भगवान्ले आफूअनुकूल स्थिति तयार पारोस् भन्ने चाहन्थे । खासमा उनलाई चिन्ता आफ्नो खेललाई लिएर थिएन, बरु चिन्ता थियो त आफ्नो चुल्ठो पारेर राखेको कपाल खेलका क्रममा नबिग्रोस् भन्ने थियो । गत बुधबार ५० वर्षमा टेकेका अगासीले यसबारे आफ्नो आत्मकथा ‘ओपन’ मा खुलस्त पारेका छन् । उनलाई डर थियो, फाइनल खेल्दा उनको कपाल राम्रो देखिएन र बिग्रेको स्थितिमा रह्यो भने आफ्ना प्रशंसकलाई के उत्तर दिने ?

मैदानमा भने अगासीले उपाधि जित्न सकेनन्, बरु विजेता रहे, इक्वेडरका आन्द्रेस गोमेज । यो उनले जितेको पहिलो ठूलो उपाधि थियो । त्यसैक्रममा उनले वर्षको अन्तिम वरीयतामा आफूभन्दा कम उमेरका पिट साम्प्रासलाई पनि उछिने । त्यही सन् १९९० को वर्ष साम्प्रासले भने यूएस ओपन जितेको थियो । त्यो उनको पहिलो ग्रान्डस्लाम उपाधि थियो । तर अगासी नै त्यस्ता खेलाडी हुन्, जसले आफ्नो शैलीका कारण लाखौं दर्शकलाई टेनिसतर्फ आकर्षित पारे ।

यो उनको खेलजीवनको वास्तविक सुरुआत पनि थियो । सन् १९९२ मा उनले विम्बल्डन पनि जिते । यस अगाडि भने उनी विम्बल्डन भनेपछि त्यसबाट टाढै रहन चाहने खेलाडी थिए किनभने उनलाई विम्बल्डनमा सेतो लुगा नै लगाउनुपर्ने नियम मन पर्दैनथ्यो । सन् १९९४ मा अगासीले यूएस ओपन पनि जिते । त्यतिबेला भने उनको टाउकोमा कपाल थिएन । पूरै खौरिएका थिए । किनभने यस्तो गर्न उनलाई त्यतिबेलाकी प्रेमिका तथा नायिका ब्रुक सिल्डले भनेकी थिइन् ।

यिनै अगासीले पछि सन् १९९५ मा अस्ट्रेलियन ओपन पनि हात पारे । त्यतिमात्र होइन, सन् १९९६ मा उनले एटलान्टा ओलम्पिकमा पुरुष एकलमा स्वर्ण पदकको सफलता पनि चुमे । अगासीले सन् १९९७ मा सिल्डसँग विवाह गरे । त्यही वर्ष उनको खेल पनि खस्केको थियो, नाडीको चोटका कारण । त्यो वर्ष उनले खासै खेलेनन् भन्दा हुन्छ, केही खास-खास प्रतियोगितालाई छाडेर । त्यस्तो स्थितिमा उनको विश्व वरीयता पनि कमजोर भएर १ सय ४१ औं स्थानमा झरेको थियो ।

यो त्यही समय हो, जतिबेला उनले प्रतिबन्धित औषधि पनि प्रयोग गरे । आफूले यस्तो गरें भनेर उनले विश्व टेनिसको सर्वोच्च संस्थालाई भनेनन्, प्रतिबन्धबाट जोगिन । उनले पछि मात्र यस विषयमा आफ्नो आत्मकथामा बोलेका हुन् तर एटीपीले त्यतिबेला कुनै कारबाही भने गरेन । आफ्नो लय फर्काउन अगासीले केही समय दोस्रो दर्जाको च्यालेन्जर सिरिजमा पनि खेले र सन् १९९९ सम्म उनी फेरि उत्तिकै परिपक्व खेलाडी भइसकेका थिए ।

त्यही वर्ष उनले सिल्डसँग सम्बन्धविच्छेद गरे । फ्रेन्च ओपन जिते । यसक्रममा उनी त्यो अद्वितीय खेलाडीको सूचीमा परे, जसमा फ्रेड पेरी, डन बग, रड लेभर र रोय इमरसनको नाम थियो । त्यसो भनेको सबै चार ग्रान्डस्लाम उपाधि जित्ने पाँचौं खेलाडी भए अगासी । एक प्रकारले अगासीको खेलजीवनले एक सफल चक्र पूरा गरेको थियो । सन् १९९९ मा उनी साम्प्रासविरुद्धको विम्बल्डन फाइनलमा पराजित त रहे तर वर्षको अन्त्यसम्म नम्बर एक खेलाडी भइरहे ।

सको एउटा कारण उनले त्यही वर्ष जितेको यूएस ओपन थियो । यसका लागि उनले आफ्नै देशका टोड मार्टिनलाई हराएका थिए । आफ्नो जीवनकै उत्कृष्ट प्रदर्शन आत्मसात् गर्ने क्रममा उनले सन् २००० देखि २००३ बीच तीन अस्ट्रेलियन ओपनको उपाधि जिते र समग्रमा आफूले जितेको ग्रान्डस्लाम उपाधिको संख्या आठ पुर्‍याए । यसैक्रममा उनले जोन म्याकन्रो र म्याट्स विलियन्डर जस्ता खेलाडीलाई पनि उछिने । उनी बढी ग्रान्डस्लाम जित्ने खेलाडी बने ।

यही समय उनी मैदानबाहिरको प्रेम सम्बन्धका कारण पनि चर्चित रहे । त्यसको कारण थियो, जर्मनीकी पूर्वनम्बर एक खेलाडी स्टेफी ग्राफसँग नजिकको दूरी बनाएका थिए । सन् २००१ मा उनीहरूबीच विवाह पनि भयो । दुई सन्तान भए । सन् २००५ मा उनी फेरि एकपल्ट नम्बर एक खेलाडी बने । त्यसका लागि उनले लस एन्जल्समा एटीपी उपाधि जिते । यो उनले हात पारेको ६० औं व्यक्तिगत उपाधि रह्यो । स्विट्जरल्यान्डका रोजेर फेडेररले तोड्नु अगाडि अगासीकै नाममा थियो, सबैभन्दा बढी उमेरमा नम्बर एक खेलाडी बनेको कीर्तिमान ।

त्यसको एक वर्षपछि उनी चोटका कारण संन्यास लिन बाध्य रहे । त्यो वर्षको यूएस ओपन उनको अन्तिम प्रतियोगिता रह्यो । डरलाग्दो ढाडको समस्याले उनलाई अझै कोर्टमा रहिरहन अनुमति दिएन । सन् २०१७ देखि २०१८ बीच केही समयका लागि उनले सर्बियाली खेलाडी नोभाक जोकोभिचको प्रशिक्षकको भूमिका पनि निभाए । अचेल उनी बढीभन्दा बढी समय नेभाडाको आफ्नै च्यारिटी संस्थामा बिताउने गर्छन् । उनी शिक्षाका लागि जागरुकता ल्याउने काममा आफूलाई व्यस्त राख्छन् ।

प्रकाशित : वैशाख २३, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?