कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेकह्यामको स्वप्निल यात्रा

सन् १९७५, मे २ । यही दिन हो, डेभिड बेकह्याम जन्मेको । यही अवसरमा उनको खेलजीवनलाई पछाडि फर्केर हेर्ने प्रयास गरिएको छ । कस्तो रह्यो त बेकह्यामको खेलजीवन ? समाचार संस्था रोयटर्सका लागि मार्टिन हर्मनले उनीबारे यस्तो लेखेका छन् :
रोयटर्स

लन्डन — जतिबेला डेभिड बेकह्याम भर्खरको ११ वर्षे किशोर थिए । सन् १९९६ मा उनी आमासँग उत्तरी लन्डनको एउटा स्थानीय पत्रिकाको कार्यालयमा पुगे । उनलाई प्रशिक्षार्थी पत्रकारले भेटेका थिए । उनलाई त्यतिबेला अनुमान मात्र पनि थिएन, कुनै दिन यी ठिटो विश्व फुटबलका सबैभन्दा ठूला स्टारमध्ये एक हुनेछन् अनि आधुनिक फुटबल संस्कृतिका प्रतीक पनि । सुनौलो कपालका यी स्कुले खेलाडीले निकै मसिनो स्वरमा मात्र बोलेका थिए ।

बेकह्यामको स्वप्निल यात्रा

त्यसका लागि उनलाई आमाले सघाउनु परिरहेको थियो । खासमा उनी बबी चार्ल्टन सकर स्कुल स्किल्स प्रतियोगिताका विजेता रहेका थिए । यसैक्रममा अभ्यासका लागि बार्सिलोना जाने मौका पाएका थिए । बार्सिलोनाका प्रशिक्षक थिए, टेरी भेनाबल्स । पत्रिकामा यसबारे समाचार पनि छापियो । त्यतिबेला वास्तवमै कसैले सपनामा पनि सोचेका थिएनन्, यी प्लम्बरका छोरा भविष्यमा विश्व फुटबलमा नाम कहलिएका खेलाडी हुनेछन् भनेर ।

त्यसको ६ वर्षपछि बेकह्यामले एउटा सपना भने पूरा गरे । म्यानचेस्टर युनाइटेडको पहिलो रोजाइको टिममा उनले डेब्यु गरे । पछि उनले इंग्लिस टिमको कप्तानी मात्र गरेनन्, उनी त रियल म्याड्रिडको ग्यालाटिको टिमका सदस्य पनि थिए । म्यानचेस्टरको प्रसिद्ध ‘क्लास अफ ९२’ का एक खेलाडी

बेकह्यामले किशोर छँदा रायन गिग्स, पाउल स्कोल्स, निकी बट, ग्यारी नेभिल र फिल नेभिलसँगै खेलेका थिए ।

बेकह्यामले दुईपल्ट एफए कप जिते ।

यसमध्ये सन् १९९९ को युरोपेली च्याम्पियन्स लिग जित्दाको क्षण सर्वाधिक स्वादिलो हुँदो हो । रियलका लागि उनी स्पेनी ला लिगा पनि जित्न सफल भए । पछि उत्तर अमेरिकामा पुगेर एलए ग्यालेक्सीका लागि दुईपल्ट एमएलएस कप पनि जिते । तर यसले नै उनको सबै कथा भन्दैन, यो त केही अंशमात्र हो । मिडफिल्डमा खेल्ने बेक्हयामलाई इंग्लिस फुटबलमै सर्वाधिक मीठो प्रहारका धनी मानिन्छ । उनको कथा खेलकुद समाचारकै पानामै मात्र सीमित भएनन् ।

सन् १९९९ मा उनले सनसनीपूर्ण बेलायती पप ब्यान्ड स्पाइस गर्ल्सकी एक सदस्य भिक्टोरियालाई बिहे गरे । उनीहरू भए बेलायतकै सर्वाधिक चर्चित जोडी पनि । सन् १९९० र २००० मा उनी म्यानचेस्टरले इंग्लिस फुटबलमा एकछत्र राज गर्दाका सदस्य मात्र थिएनन्, उनी आफैं ब्रान्ड भए । उनको मैदानबाहिरका हरेक क्रियाकलाप समाचार बने । सबै ठूला बहुराष्ट्र्रिय कम्पनी उनीसँग प्रायोजनको अनुबन्ध गर्न चाहन्थे । उनले महँगा घडी र चस्मा सबैका विज्ञापनमा पनि खेले ।

उनका साथी हुने गर्थे, टम क्रुज र जर्ज कोलनी । हुँदाहुँदै राजकुमार ह्यारी पनि उनको दोस्तीका लागि अगाडि सर्थे । उनको चरित्रलाई लिएर बनेको ‘बेन्ड इट लाइक बेकह्याम’ सिनेमाले बक्स अफिसमा अपार सफलता प्राप्त गर्न सक्यो । सन् २०१२ मा लन्डनले ओलम्पिक आयोजनाको सफल दाबेदारी प्रस्तुत गर्दा पनि त्यसको एउटा निर्णायक पात्र बेकह्याम नै थिए । उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मत जित्न खुबै भूमिका खेले ।


यी बेकह्याम अब चार सन्तानका पिता पनि भइसके । तर उनी अझै समाचारबाट टाढा रहने गर्दैनन् । साल्फोर्ड सिटी र एमएलएस फ्रेन्चाइज टिम इन्टर मियामीका मालिकमध्ये एक हुन् । उनी ४५ करोड डलरका मालिक हुन् । बार्सिलोनाको नोउ क्याम्पमा बेकह्यामलाई पहिलोपल्ट

भेट्दाको क्षण सम्झँदै भेनाबल्स भन्छन्, ‘जतिबेला हामीले एक आपसबाट बिदाइ लियौं, मलाई लागिसकेको थियो, मैले यो नाम बिर्सने छैन ।’ आफ्ना हजुरबुवाले चाहेजस्तै भए बेकह्यामले टोटेनहमका लागि अनुबन्ध गरिसकेको हुन्थ्यो, किनभने त्यो समय क्लबका व्यवस्थापक थिए, तिनै भेनाबल्स । अनुबन्धको सबै कागजात पनि पूरा भइसकेको थियो, तर बेकह्यामको नजर भने खाली म्यानचेस्टरमा मात्रै थियो । सन् १९९२ मा उनको टिमले एफए युथ कप जितेको थियो । त्यसको एक महिनापछि त उनले लिग कपमा म्यानचेस्टरका लागि डेब्यु नै गरे ।

केही समयका लागि लोनमा प्रेस्टनबाट खेलेका बेकह्यामले सन् १९९४ मा ओल्ड ट्राफोर्डमा भएको खेलमा प्रिमियर लिगमै खेल्ने अवसर पाए । सन् १९९५–९६ मा सर एलेक्स फर्गुसनले बेकह्यामलाई ‘विंग्स’ बाट खेल्ने जिम्मेवारी दिए । त्यसयताको पहिलो खेलमै म्यानचेस्टर एस्टन भिल्लासँगको खेलमा पराजित रह्यो । खेल पण्डित एलान हेन्सनले भनेका थिए, ‘बच्चालाई खेलाएर कहिल्यै पनि जित्न सकिन्न ।’ तर मिडफिल्डको दायाँतर्फ खेल्दै बेकह्यामले आफूलाई स्थापित गराए र म्यानचेस्टरले त्यो सिजन प्रिमियर लिग र एफए कप गरी ‘कप डबल्स’ को उपलब्धि भेट्यो ।

त्यसलगत्तै सिजनको पहिलो दिन नै बेकह्यामले ६० मिटरबाट टाढाबाट प्रहार बल विम्बल्डनका गोलरक्षक निल सुलिभानलाई बिट गर्दै गोल भयो । त्यसपछि उनी सबैमाझ चर्चाको पात्रा बने । त्यसको पनि केही सातापछि उनलाई इंग्ल्यान्ड टोलीका व्यवस्थापक ग्लेन होडलले पनि मौका दिए । बेकह्यामले पछि उनले १ सय १५ क्याप जिते अनि सन् २००० देखि २००६ सम्म इंग्लिस कप्तान पनि रहे । बेकह्यामको यो सफलता र प्रसिद्धिका कारण उनको फर्गुसनसँग सम्बन्ध भने राम्रो रहेन ।

यसैबीच यी स्कटिस व्यवस्थापकले प्रहार गरेको बुट बेकह्यामको अनुहारमा लागेको थियो । बेकह्यामको आँखामा चोट पनि बसेको थियो । सन् १९९८ को विश्वकपमा उनले अर्जेन्टिनी खेलाडी डिएगो सिमोनीमाथि गरेको प्रहारका कारण रातो कार्ड खाए र टिम प्रतियोगिताको अन्तिम १६ बाट बाहिरियो । सबैले यसको दोष उनीमाथि नै खन्याइयो । लन्डनको एउटा पबअगाडि उनको पुतलासमेत जलाइएको थियो । तर यसबीच पनि उनको लोकप्रियता घटेन । सन् २००१ को विश्वकप छनोटमा इंग्ल्यान्डले जर्मनीमाथि ५–१ को प्रसिद्ध जित निकालेको थियो ।

यो खेलका एक नायक यिनै बेकह्याम थिए । उनी खलनायकबाट नायक भइसकेका थिए । वेम्बलीमा उनको ट्रेडमार्क फ्रि–किक ग्रिसविरुद्ध गोलमा परिणत भएपछि इंग्ल्यान्ड सन् २००२ को विश्वकपमा छनोट पनि भएको थियो । उनको टिमलाई अझै पनि ‘स्वर्णिम पुस्ता’ भनिन्छ, भलै यो टिमले कुनै उपाधि भने जित्न सकेन । आउटफिल्ड खेलाडीका रूपमा इंग्ल्यान्डका लागि सबैभन्दा बढी खेलेको कीर्तिमानका लागि उनले बबी मुरलाई उछिने । चोटका कारण बेकह्यामले सन् २०१० को विश्वकप खेल्न पाएनन् ।

यससँगै उनको अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लागेको थियो । म्यानचेस्टर छाडेयता उनले क्लब फुटबलमा त्यस्तो प्रदर्शन गर्न सकेनन्, जसका लागि उनी प्रसिद्ध थिए । सन् २००३ मा उनी रियल गए । बेर्नाबेउमा उनलाई पहिलोपल्ट मिडियासामु ल्याउँदा त्यहाँ रहेका पत्रकार संख्या थियो, ५ सय । सन् २००६–०७ को सिजनमा रियलले ला लिगा जितेको थियो । यो उनको स्पेनी क्लबका लागि अन्तिम सिजन पनि रह्यो । त्यसपछि उनी अमेरिकाको एलए ग्यालेक्सीतर्फ लागे । त्यहाँ उनको करिअरलाई हलिउडले पर्खिरहेको थियो ।

प्रकाशित : वैशाख २१, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?