कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

ट्वान्टी-२० विश्वकपलाई गाह्रो

रोयटर्स

मेलबर्न — आक्रामक अस्ट्रेलियाली ब्याट्सम्यान क्रिस लिनले आफ्नो देशले अक्टोबर-नोभेम्बरमा ट्वान्टी-२० विश्वकप आयोजना गर्नेमा शंका व्यक्त गर्दै कोरोना भाइरस संक्रमणको महामारीका कारण यसको आयोजना गर्न गाह्रो हुने धारणा पोखेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले गत साता मात्र पूर्वनिर्धारित कार्यक्रमअनुसार ट्वान्टी-२० विश्वकपको आयोजना हुने बताएको थियो ।

त्यसअनुसार प्रतियोगिता अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म हुनेछ । कोभिड-१९ को प्रकोपबीच पनि आईसीसीको यो दाबी अगाडि आएको थियो । आफ्नो देशका लागि १८ ट्वान्टी-२० खेलिसकेका लिन १६ टिमसम्मिलित प्रतियोगिताको आयोजना निर्धारित समयमा हुनसक्ने सम्भावना नदेखेको बताएका हुन् ।

उनले फक्स स्पोर्ट्ससँगको कुराकानीमा भनेका छन्, ‘मेरो व्यक्तिगत धारणामा प्रतियोगिताको आयोजना सम्भव छैन । हामी खेलाडी सबै प्रतियोगिता समयमै होस् भन्ने नै चाहन्छौं । तर यो सजिलो छैन । प्रतियोगिता भाग लिनका लागि फरक-फरक स्थानबाट टिम आउने छन् । तिनका लागि बस्ने र खाने व्यवस्था गर्नु निकै गाह्रो हुनेछ ।’

उनको मत थियो, ‘प्रतियोगिता समयमै हुन, होटलदेखि लिएर यातायात सबैको व्यवस्था पहिलेदेखि नै तयारी अवस्थामा हुनुपर्छ ।’ ट्वान्टी-२० विश्वकप हुन सकेन भने त्यसले क्रिकेट अस्ट्रेलिया थप आर्थिक संकटमा पर्न सक्नेछ । क्रिकेट हुन नसकेको स्थितिमा संस्थाले अहिले नै लाखौं डलरको घाटा बेहोरिसकेको छ । यसै कारण खेलाडीको आम्दानी पनि घटेको छ ।

बिग बासमा ब्रिसवेन हिटका कप्तानसमेत रहेका लिनले घरेलु खेलाडीको आम्दानीमा पनि निकै कमी हुने चिन्ता पोखे । उनले भने, ‘कसैको पनि आफ्नो आम्दानी कम होस् भन्ने इच्छा हुन्न, तर क्रिकेट खेल स्वयंलाई जीवन्त राख्न खेलाडीले पनि केही न केही गुमाउनुपर्ने हुनसक्छ । स्थिति वास्तवमै निकै नाजुक छ ।’

प्रकाशित : वैशाख १७, २०७७ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?