भारत-पाकिस्तानबीचका सम्झनलायक एकदिवसीय १० खेल- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारत-पाकिस्तानबीचका सम्झनलायक एकदिवसीय १० खेल

एजेन्सीहरु

काठमाडौँ — लन्डन– क्रिकेटमा दक्षिण एसियाका छिमेकीद्वय भारत र पाकिस्तान भिड्नुपर्छ, त्यसको मज्जा नै बेग्लै हुन्छ । कुनै समय एकै देशका रुपमा थिए, यी दुई । पछि छुटिएका थिए । त्यसको राजनीतिकदेखि सामाजिक बाछिटा अझै पनि यी दुई देश 
भिड्दा मैदानमा देखिन्छ ।

भारत र पाकिस्तानले एकदिवसीय क्रिकेटमा निकै सम्झनलायक खेल खेलेका छन् । त्यसमध्ये उत्कृष्ट १० यहाँ प्रस्तुत गर्ने प्रयास भएको छ, ईएसपीएन क्रिकइन्फोले तयार पारेको यसैसम्बन्धी खेलेको आधारमा ।


शारजहाँ, १९८५, फोर नेसन्स कप

भारत ३८ रनले विजयी

यो त्यो समय थियो, जतिबेला टेस्ट क्रिकेटको तुलनामा एकदिवसीय विस्तारै बढी लोकप्रिय हुन थालेको थियो । भारत र पाकिस्तानबीचको यो खेल पनि उत्तिकै रोमाञ्चकारी थियो । यो खेलको विशेषता थियो, कम स्कोर । दुवै टिमको जोडेर जम्मा २ सय १२ रन । इमरान खानले १४ रनमा ६ विकेट लिएपछि भारत १ सय २५ रनमै अलआउट भयो । तय जस्तै देखिएको थियो, भारत नराम्रो ढंगले हार्नेछ । तर होइन, पराजित हुने टिम रह्यो पाकिस्तान । किनभने यो टिम ८७ रनै अलआउट भयो । पछिल्ला ४ विकेट २ रनमा गुमाएर ।


शारजहाँ, १९६, अस्ट्रल–एसिया कप फाइनल

पाकिस्तान १ विकेटले विजयी

सधैं सधैं दोहोरिएर आउने खेलको कथा हो यो । अनि कथा सुरु हुन्छ, जाभेद मियादादले छक्का प्रहार गरे । कुल ५ टिमको प्रतियोगितामा पाकिस्तान र भारत नै फाइनल पुगेका थिए । साथी ब्याट्सम्यानले लगातार विकेट गुमाइरहे पनि मियादादले शतक बनाए । अन्तिम बलअघि एक विकेट बाँकी थियो, अनि जितका लागि बाउन्ड्री नै चाहिने अवस्था । चेतन शर्माको फुलटस बलमा मियादादले मिडविकेटतिर छक्का प्रहार गरे । उनी त्यो खेलका नायक थिए । अनि भए पाकिस्तानी क्रिकेटकै एक लिजेन्ड खेलाडी ।


कोलकाता, १९८७, दुईदेशीय शृंखला

पाकिस्तान २ विकेटले विजयी

इडेन गार्डेनमा भएको यो खेल पनि कम्तीको नाटकीय थिएन । सलिम मलिकले त्यसमा सन् ८० को जमानामा गज्जब लाग्न सक्ने पाराको ८० रन बनाएका थिए । त्यतिबेला ७२ रन बनाउनका लागि २ सय प्रतिशतको स्ट्राइक रेट कल्पना पनि गर्न सकिन्नथ्यो । तर मलिकले लगभग यस्तै खेले । जितका लागि ४० ओभरमा २ सय ३९ रन पछ्याइरहेको पाकिस्तानका लागि मलिक क्रिजमा आएका बेला स्कोर ५ विकेटमा १ सय ६१ रन थियो । मलिकले चारैतिर बल प्रहार गरे । एकदिवसीय इतिहासकै एक उत्कृष्ट प्रदर्शन गरे ।


हैदराबाद, १९८७, दुईदेशीय शृंखला

स्कोर टाई, भारत कम विकेट गुमाएकाले विजयी

यो त्यस्तो समयको खेल थियो, जतिबेला पाकिस्तानी टिमले ढुक्कसँग भारतमा दुई महिना बिताउने गर्थ्यो । त्यही बेलाको तेस्रो खेलको कथा हो यो । यसअघिका दुई खेल पाकिस्तानले जितिसकेको थियो । यसमा भने पाकिस्तानलाई खेल जित्न अन्तिम बलमा २ रन आवश्यक थियो । क्रिजमा थिए, अब्दुल कादिर । उनले एक रनमात्र बटुल्न सके र दोस्रो रन लिने चक्करमा रनआउट भए । यस्तोमा खेल टाई भयो । तर त्यतिबेलाको नियमअनुसार कममात्र विकेट गुमाएको हुनाले जित भारतको पक्षमा गयो ।


बेंग्लोर, १९९६, विश्वकप क्वाटरफाइनल

भारत ३९ रनले विजयी

सन् १९९२ को विश्वकप छाड्ने हो भने सबै संस्करणमा भारत र पाकिस्तान एक आपसमा भिडेका छन् । ती सबै खेल कहाँ सम्झनलायक छन् र ? तर सन् १९९६ को विश्वकपमा दुई टिमबीचको खेल जतिको ‘क्लासिक’ अन्य त बिरलै होला । यो खेल वास्तवमै निकै नाटकीय रह्यो । यो खेललाई अजय जडेजाको प्रदर्शनप्रति सम्झिने गरिन्छ, त्यो पनि वकार युनिसविरुद्ध उनले गरेको आक्रामक प्रदर्शनका लागि । अनि बैंकटेश प्रसादले आमिर सोहेललाई बोल्ड गरेको क्षण कसरी पो भुल्न सकिन्छ र ?


चेन्नई, १९९७, इन्डिपेन्डेन्स कप

पाकिस्तान ३५ रनले विजयी

यो खेलमा पनि खासै प्रतिस्पर्धा भएनभन्दा हुन्छ । एकपक्षीय जस्तै रह्यो । यो खेलका नायक थिए, सइद अनवर । उनले विश्व कीर्तिमानी १ सय ९४ रन बनाएका थिए । यो नै यस खेललाई सम्झना गर्नुपर्ने प्रमुख कारण हो । अनवर दोहोरो शतक नजिक पनि थिए, तर उनले त्यसलाई भने आत्मसात गर्न पाएनन्, दुर्भाग्यपूर्ण ढंगले आउट भएर । उनले तीन ओभरमात्र बाँकी रहेको स्थितिमा विकेट गुमाए । त्यो पनि सचिन तेन्दुलकरको बलिङमा । अनवरको यो प्रदर्शन १३ वर्षसम्म कीर्तिमानका रूपमा कायम रह्यो ।


ढाका, १९९८, इन्डिपेन्डेन्स कप

भारत ३ विकेटले विजयी

इन्डिपेन्डेन्स कपको तेस्रो फाइनलमा सबैखाले क्षण नाटकीय रह्यो । पूरा खेल नै एक प्रकारले नाटकीय रह्यो भन्दा हुन्छ । त्यतिबेला भारतले जितका लागि कीर्तिमानी लक्ष्य पछ्याएको थियो । यो जितका नायक हुन्, ऋषिकेश कानिटकर । सुरुमा लागेको थियो, सइद अनवर र इजिज अहमदले खेल पाकिस्तानको पक्षमा मोडिसकेका थिए । तर भारतका लागि सौरभ गांगुलीले सुरुमा शतक बनाए । १ सय २४ रन बनाएका उनले रोबिन सिंहसँग १ सय ७९ रनको साझेदारी गरे । कानिटकरले अन्तिम दोस्रो बलमा चौका प्रहार गरेका थिए ।


कराँची, २००४, दुईदेशीय शृंखला

भारत ५ रनले विजयी

भारतको ऐतिहासिक पाकिस्तान भ्रमणको यो पहिलो खेल थियो । यसले नै पूरा भ्रमणलाई सम्झनलायक बनाएको थियो । यो खेलमा ७ सय रन बनेको थियो । त्यसमध्ये भारतका लागि वीरेन्द्र सेहवाग र राहुल द्रविडले उत्कृष्ट इनिङ्स खेले । जवाफी इनिङ्समा पाकिस्तानका लागि इन्जमान उल–हकले शतक बनाए । भारतलाई जित दिलाउन भूमिका खेल्ने भने बलर थिए । जाहिर खान, एल बालाजी र आशिष नेहराले खेलको अन्त्यतिर उत्कृष्ट खेलेपछि पाकिस्तान जितको नजिक पुगेर पनि पराजित रहेको थियो ।


ढाका, २०१४, एसिया कप

पाकिस्तान १ विकेटले विजयी

फेरि एक अर्को दुई टिमबीचको कडा टक्कर भएको खेल । भारतले पहिले ब्याटिङ गरेर २ सय ४५ रन बनाएको थियो । यो दबाब बनाउन सक्ने स्कोर थियो । पाकिस्तानले जवाफमा व्यावसायिक पाराले खेलेको थियो र यसका लागि मोहम्मद हफिजले हिसाबकिताब गर्दै रन बटुले । तर पाकिस्तानलाई खेलमा कायम राख्ने काम भने शाहिद अफ्रिदीले गरे । पाकिस्तानलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो, अफ्रिकीले आर आश्विनको बलमा दुई छक्का प्रहार गरे ।


द ओभल, २०१७, च्याम्पियन्स ट्रफी फाइनल

पाकिस्तान १ सय ८० रनले विजयी

के यो उत्कृष्ट खेल थियो त ? थिएन । यो त एकपक्षीय खेल थियो । यसलाई सम्झनुपर्ने कारण के हो त ? उत्तर हो, सबैभन्दा पहिला यो च्याम्पियन्स ट्रफी फाइनल हो । अनि दोस्रो, सबैखाले अनुमान गलत सावित गर्दै पाकिस्तानले उपाधि चुमेको थियो । प्रतियोगिताअगाडि उपाधिका लागि सबैभन्दा बलियो दाबेदार थियो भारत । लिग चरणमा भारतले पाकिस्तानलाई नराम्रोसँग हराएको पनि थियो । फखर जमनको शतक र मोहम्मद अमिरको घातक बलिङसामु भारत टिक्नै सकेन ।

प्रकाशित : चैत्र २८, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमितसँगै आए, जँचाउन आएनन्

संक्रमितसँगैका ५२ जना कञ्चनपुरमा, १० मात्रै सम्पर्कमा
बझाङका क्वारेन्टाइनमा बसेकाहरू भागे
शंका गरिएकाको स्वाब संकलनमा कठिनाइ
प्रदेश ब्युरो

काठमाडौँ — कैलालीमा भेटिएका संक्रमित युवकसँगै भारतबाट घर फर्किएकाहरूको ‘कन्ट्याक्ट ट्रेस’ हुन सकेको छैन । लकडाउन सुरु भएपछि गौरीफन्टा नाकाबाट चैत १२ मा कञ्चनपुर भित्रिएका उनीहरूको खोजी नहुँदा संक्रमणको जोखिमसँगै त्राससमेत बढेको छ ।


जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार संक्रमितसँगै भीडमा रहेका ५२ जना कञ्चनपुरका रहेको खुलेको छ तर हालसम्म १० जना मात्रै सम्पर्कमा आएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार तीमध्ये ३ जनाको बुधबार स्वाब संकलन गरिएको छ ।

‘कोही स्थानीय तहको क्वारेन्टाइनमा छन्, कोही होम क्वारेन्टाइनमै छन्,’ उपाध्यायले भने, ‘हामीले सबै स्थानीय तहलाई विवरण संकलनसँगै सजगता अपनाउन आग्रह गरेका छौं ।’ उनका अनुसार गौरीफन्टा नाकाबाट भित्रिई लालझाडी गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरूको स्वाब संकलन गरिएको हो । यसबाहेक शुक्लाफाँटा र वेदकोट नगरपालिकामा समेत केही व्यक्ति क्वारेन्टाइनमा रहेको उनले बताए ।

शनिबार संक्रमण देखिएका कैलालीको लम्कीका २१ वर्षीय युवक भित्रिएको दिन चैत १२ मा एक हजार बढीले नाकामा प्रदर्शन गरेका थिए । संक्रमित युवकसँगै भारत उत्तराखण्डको लोहाघाटबाट आएका अन्य १० जनासहित उनीहरूलाई नियन्त्रणमा लिने १४ जना सुरक्षाकर्मी, ३ जना सवारीचालक, सहचालक र गाडीधनी तथा ट्युबबाट तार्ने दुई जना गरी २९ जनाको कन्ट्याक्ट ट्रेस गरेर सबैको स्वाब संकलन भइसकेको छ ।

‘कैलालीका संक्रमितसँग आएकाहरूको पनि खोजी भइरहेको छ,’ सशस्त्र प्रहरीको ३५ नं. गण झलारीका एसपी वीरसिंह साहुले भने, ‘कञ्चनपुरका संक्रमितको कन्ट्याक्ट ट्रेस सकेर हामी बाँकीको खोजीमा लागेका छौं ।’

३ सय ५ जनाको स्वाब संकलन


डोटीमा क्वारेन्टाइनमा बसेका मध्ये ३ सय ५ जनाको बुधबार स्वाब संकलन गरिएको छ । केन्द्रीय संकट व्यवस्थापन केन्द्र, काठमाडौंको समन्वयमा डोटीका डाक्टर र प्राविधिकको सहयोगमा स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । ‘उहाँहरूको रिपोर्ट २/३ दिनभित्रै आइसक्ने आशा गरेका छौं,’ उनले भने ।

दिपायल सिलगढी नगरपालिकाको राजपुर, बोगटानको चवराचौतारा, शिखरको धुरकोट, बडीकेदारको बीपीनगर र आदर्शको मौवामा ९ वटै पालिकाले बनाएका २४ क्वारेन्टाइनमा बसेकाहरूको स्वाब संकलन गरिएको हो । संकलित स्वाब बुधबार नै काठमाडौं पुर्‍याउने प्रजिअ पौडेलले जानकारी दिए । स्वाबको रिपोर्ट आएपछि मात्र क्वारेन्टाइनमा रहेकाहरूलाई २१ औं दिनपछि घर पठाउने योजना छ । सुरुमा १४ दिन मात्र क्वारेन्टाइनमा राख्ने बताइए पनि पछि सात दिन थप राख्ने निर्णय गरिएको थियो ।

सयभन्दा बढी भागे


बझाङमा पालिकाका क्वारेन्टाइनबाट सय जनाभन्दा बढी भागेका छन् । भारत तथा तेस्रो मुलुकबाट फर्केका ३ सय ८० जनालाई जिल्लाका १२ पालिकाका क्वारेन्टाइनमा राखिएको थियो । विभिन्न ३४ क्वारेन्टाइनमा राखिएका उक्त संख्याका व्यक्ति पूरा अवधि नबसेरै भागेका हुन् । क्वारेन्टाइनबाट भाग्नेको यकिन तथ्यांक भने कुनै निकायले राखेका छैनन् ।

थलारा गाउँपालिकाको लक्ष्मी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनबाट ५२ जना र दुर्गाथली गाउँपालिकाको क्वारेन्टाइनबाट ३५ जना भागेको स्वास्थ्य कार्यालय बझाङका कोरोना महामारी नियन्त्रण फोकल पर्सन नारायण जोशीले बताए । ‘सय जनाभन्दा बढी भागेको जानकारी आएको छ,’ उनले भने ।

धेरैजसोले क्वारेन्टाइनमा उपलब्ध सुविधा चित्त नबुझेको भन्दै भागेको र कसैले घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने भनेर गएको जोशीको भनाइ छ । स्थानीय तहका जनप्रतिनिधिहरूले भने क्वारेन्टाइनबाट भागेकाहरूको पनि बचाउ गर्दै उनीहरू घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको दाबी गर्दै आएका छन् । हाल क्वारेन्टाइनबाट भागेका र त्यहाँ बसिरहेकाहरूको संख्या सरकारले लकडाउनको घोषणा गरिसकेपछि बझाङ प्रवेश गरेकाहरूको हो ।

लकडाउनअघि भारत र अन्य मुलुकबाट २० हजार हाराहारीमा आएको अनुमान गरिए पनि संख्या यकिन छैन । उनीहरूको निगरानी पनि कसैले गरेको छैन । उनीहरूको निस्फिक्री गतिविधिका कारण जोखिम झन् बढ्ने स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए ।

बिसु पर्वको तयारीमा देउडा र जमघट


सदरमुकाम चैनपुरमा व्यापक प्रहरी परिचालन गरेर लकडाउनको पालना गराइएको छ । तर गाउँ भने अहिले बिसु पर्वको रौनकले गुल्जार छन् । चैत १५ देखि नै प्रत्येक साँझ महिलाहरू जम्मा भएर झिमकेउडा (नयाँ वर्षको स्वागतस्वरूप सामूहिक रूपमा गाइने देउडा खेल) खेलिरहेका छन् ।

बाहिरबाट गाउँ फर्केकाहरू समूहमा बसेर भोजभतेर गर्न थालेका छन् । सबैजसो गाउँमा युवाहरू मिलेर भलिबल, फुटबल र क्रिकेटलगायत खेल र वयस्कहरू तास खेलिरहेका भेटिन्छन् ।

अधिकांश जनप्रतिनिधिहरूले स्थानीयले सतर्कता अपनाउन बेवास्ता गरेका कारण लकडाउनको पालना गराउन नसकेको बताउने गरेका छन् । ‘यस्तो बेलामा भिडभाड हुने काम नगरौं भन्दा कसैले मान्दैनन्,’ जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष गगनबहादुर सिंहले भने, ‘एक–दुई जनाले मात्रै अटेर गरेको भए कारबाही गर्न हुन्थ्यो । सबै उस्तै छन् । कसरी रोक्नु ?’

स्वाब संकलन गर्ने भीटीएम अभाव


सरकारले विदेशबाट आएकाको अनिवार्य कोरोना परीक्षण गर्ने भनेको छ । कतार एयरवेजबाट आएका बागलुङका दुई जना कोरोना भाइरस संक्रमित भेटिएपछि गण्डकी प्रदेशमा संक्रमणको जोखिम उत्तिकै छ । यतिबेला स्वाब परीक्षणको संख्या पनि बढिरहेको छ ।

स्वाब परीक्षण गर्नुपूर्व संकलित नमुना सुरक्षित राख्ने भाँडा भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडिया) भने पर्याप्त नभएको पाइएको छ । गण्डकीमा हाल भीटीएम जम्मा चार सय वटा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । अहिलेकै तुलनामा परीक्षण गर्दै जाने हो भने उक्त भीटीएम दुई–चार दिनमै सकिन्छ ।

प्रयोगशालाकी निर्देशक सपना सुवेदीले छिट्टै र्‍यापिड टेस्ट नगर्ने हो भने भीटीएमले नपुग्ने बताइन् । ‘तत्काल खरिद गर्न सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘तर सरकारको पछिल्लो रणनीतिअनुसार विभिन्न जिल्लामा र्‍यापिड टेस्ट गर्ने हो भने कम हुँदैन होला ।’ सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको थियो । तर अहिलेसम्म परीक्षण किट भने आइसकेको छैन ।

नमुना परीक्षण गर्ने व्यक्तिको घाँटीबाट निकालिने स्वाबलाई सुरक्षित राख्नुपर्छ । यस्तो भाँडा नभए ल्याब मात्र भएर हुँदैन । प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार प्रदेशमा विदेशबाट फर्किएकाको मात्रै स्वाब परीक्षण गर्ने हो भने १० हजार जति भीटीएम चाहिन्छ । ‘यतिबेला विभिन्न जिल्लाबाट स्वाब संकलनको माग बढ्दो छ,’ उनले भने, ‘अहिले प्राथमिकताका आधारमा स्वाब संकलन भइरहेको छ ।’

प्रयोगशाला निर्देशक सुवेदीले विदेशबाट आएको १४ दिन नपुगेका, लकडाउनको बेलामा भारतबाट आएका, कतार एयरवेजका यात्रु, उनीहरूको सम्पर्कमा पुगेका व्यक्ति र कोरोनाका लक्षण देखिएकालाई प्राथमिकतामा राखी स्वाब संकलन र परीक्षण गरिरहेको बताइन् । स्वाब संकलनमा १० जनाको टिम खटिएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार र्‍यापिड टेस्ट भएमा भीटीएम धेरै चाहिँदैन । उनले भने, ‘अहिलेको अवस्थामा भने भीटीएम कमै छ ।’

संक्रमित उपचाररत अस्पतालमै छैन पीपीई


बागलुङको धौलागिरि अञ्चल अस्पतालमा कोरोना संक्रमित दुई जनाको उपचार भइरहेको छ । एउटा बिरामीलाई दैनिक पाँच पटकसम्म चिकित्सक, नर्स र मनोविज्ञले भेट्ने, जाँच्ने र औषधोपचार गरिरहेका छन् । तर स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) छैन।

लकडाउनको पहिलो साता आएका ५० थान पीपीईबाहेक अहिलेसम्म कतैबाट थपिएका छैनन् । संघीय सरकारले पनि पठाउन ढिलाइ गरेपछि जोखिम मोलेर काम गर्नुपरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले बताए ।

व्यक्तिगत रूपमा केही दाताले पठाएका पीपीईमा पूरै सेट छैन । अन्य सामान्य बिरामी जाँच्न ती सामग्री प्रयोग गरिएका छन् । ‘संक्रमितकै लागि काम गर्दा वास्तविक पोसाक चाहिन्छ, तर हामीसँग छैन,’ पोखरेलले भने, ‘देशभरमा बढी समस्या झेलेका तीन जिल्ला हुन् भन्ने हल्ला जसरी फैलिएको छ, त्यसरी साधनस्रोत उपलब्ध गराइएको छैन ।’

शनिबार मन्त्रिपरिषद्को निर्णय गरे पनि अहिलेसम्म र्‍यापिड टेस्टको कामसमेत सुरु भएको छैन । संक्रमितको उपचारमा खटिने चिकित्सकले प्रयोग गर्दा हरेक दिन कम्तीमा ५ देखि ६ वटा पीपीई खपत भएको छ । ‘बाहिरबाट प्राप्त पीपीईको गुणस्तर मापन भएको छैन, त्यसैले जोखिम मोलेर काम गर्न सकिँदैन,’ पोखरेलले भने, ‘रेनकोट लगाएको भरमा रेडजोनमा काम गरेको राज्यले देखेन ।’

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले सामग्री ल्याएर काम चलाए पनि गुणस्तरबारे प्रस्ट नभएको बताए । उनले डाक्टरहरूलाई नै गुणस्तरबारे अध्ययन गर्न आग्रह गरेका छन् । अधिकांश स्वास्थ्यकर्मीले सर्जिकल मास्क प्रयोग गर्दै आएका छन् । ‘हामीलाई एन–९५ मास्क चाहिने हो, तर प्राप्त भएको छैन,’ पोखरेलले भने, ‘डेमोका लागि आएकाहरू सुरुका दिन प्रयोग भएका थिए, अहिले सकियो ।’

जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौले पनि सामग्री अभावमा स्वास्थ्यचौकीमा पठाउन नसकेको बताए । जिल्लामा कम्तीमा ९०० जनामा कोरोना परीक्षण गर्नुपर्ने भएकाले त्यत्तिकै संख्यामा पीपीई आवश्यक पर्ने उनको भनाइ छ । संक्रमण पुष्टि भएकाको उपचारमा खटिँदा दैनिक कम्तीमा तीन जोर पीपीई आवश्यक पर्छ ।

जाजरकोटमा पनि छैन भीटीएम


जाजरकोटबाट पनि भीटीएमको अभाव देखिएको छ । अहिलेसम्म जिल्लाबाट कसैको पनि स्वाब परीक्षणका लागि पठाइएको छैन । जिल्ला अस्पतालका डा. औसरसिंह राठौरले शंकास्पद बिरामी भेटिए स्वास्थ्य सेवा निर्देशनालयमा खबर गर्नेबाहेक अरू अवस्था नरहेको गुनासो गरे । ‘भीटीएममा संकलन गरिएको नमुनालाई ट्रिपल प्याक गरी कोल्ड चेन मेन्टेनसहित प्रयोगशालामा पठाउनुपर्छ,’ उनले भने, ‘तर हामीसँग त्यस्तो व्यवस्था छैन ।’ संक्रमण फैलिएमा नियन्त्रण गर्न सक्ने गरी पूर्वतयारी नभएको उनले बताए ।

जनशक्ति, पूर्वाधार र जनचेतनाको अभावका कारण संक्रमण फैलिए नियन्त्रण गर्न गाह्रो हुने स्वास्थ्यकर्मी बताउँछन् । ५० शय्याको जिल्ला अस्पतालमा कोरोना संक्रमण रोकथाम गर्ने कुनै पनि व्यवस्थापन नभएको अस्पताल विकास समितिकी अध्यक्ष धर्मशिला बस्नेतले बताइन् । ‘स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र ज्वरो नाप्ने आईआर थर्मोमिटर पाउन सकेका छैनन्,’ उनले भनिन्, ‘पीपीई नहुँदा जोखिम भन्दै स्वास्थ्यकर्मीले सामान्य बिरामी पनि जाँच्न छोडे ।’

उनका अनुसार गर्खाकोट र दल्ली प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नआएको डाक्टर दुई वर्ष बित्यो । जिल्लाभर ३३ स्वास्थ्य संस्था छन् । अधिकांश स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्यकर्मी, उपकरण र औषधिको अभाव छ ।

भवानी भट्ट (कञ्चनपुर), मोहन शाही (डोटी) वसन्तप्रताप सिंह (बझाङ), लालप्रसाद शर्मा (पोखरा), भीमबहादुर सिंह (जाजरकोट) र प्रकाश बराल (बागलुङ)

प्रकाशित : चैत्र २८, २०७६ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×